रेसुंगा(गुल्मी), पुस २० गते । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले संसद पुनःस्थापनानै अहिलेको समस्या समाधान गर्ने छिटो र उत्तम विकल्प भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले जेन-जीका जायज माग सम्बोधन गर्न संसद आवश्यक पर्ने भएकाले सर्वोच्चले लामो समय मुद्दा अल्झाएर राख्न नहुने बताउनुभयो ।
त्यस्तै, ज्ञवालीले आफुहरु निर्वाचनबाट कहिल्यै भाग्न नखोजेकाले दल र मतदातालाई निर्वाचनमा भयरहित सहभागी बनाउने वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पाँच सय कैदी र सात सयभन्दा बढी आधुनिक हतियार बाहिर रहेकाले निर्वाचनका उम्मेद्वार केन्द्रित घटना हुने तर्फ सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।
भर्खरै सम्पन्न पार्टीको महाधिवेशनलाई ज्ञवालीले पाँच उपलब्धिका रुपमा व्याख्या गर्नुभयो । उहाँले गत भदौ २३ र २४ पछि सबैभन्दा बढी प्रहारमा एमाले माथि भएको अवस्थामा तीन महिनामै महाधिवेशन गर्नुनै प्रतिकूलताको सामना गर्ने हिम्मत एमालेसँग भएको पुष्टी गरिएको बताउनुभयो ।
एमाले महाधिवेशनको व्यापक जनसहभागिता, नेतृत्व असान्दर्भिक भन्ने हल्ला र बहसकाबित लोकतान्त्रिक विधिबाट नेतृत्व निर्माण, पुस्तान्तरण र हस्तान्तरण कागजमा मात्र नभएर केन्द्रीय कमिटीमा २५ भन्दा बढी युवा समावेश गर्ने तथा विभिन्न धारबाट आएका सबैलाई हार्दिकतापूर्वक स्वीकार गर्नुनै महाधिवेशनको सवैभन्दा ठुलो उपलब्धी भएको ज्ञवालीले बताउनुभयो ।
ज्ञवालीले यो महाधिवेशन एमालेको आन्तरिक जीवनका लागि मात्रै नभएर देशकै लोकतन्त्रका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले लोकतान्त्रिक पक्षधर एक ठाउँमा उभिने बेला आएकाले कांग्रेसले आन्तरिक समस्या निरुपण गरेर माथि उठ्न सुझाव दिनुभयो ।
पछिल्लो समय नयाँ भन्ने शक्ति एक ठाउँ भएर अनेक जालझेल भइरहेकाले मुख्य दल कमजोर नभएर उपलब्धीको रक्षा गर्नुपर्नेमा ज्ञवालीले जोड दिनुभयो । उहाँले निर्वाचन क्षेत्रभित्रका विकास योजनाको बारेमा नजिकबाट हेरिरहेकाले जनताका आवश्यकताको आधारमा कार्यान्वयनमा रहेका आयोजनालाई पूर्वाग्रह नराखेर अगाडि बढाउनुपर्ने बताउनुभयो ।
– टोपलाल अर्याल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















