लमजुङ, पुस १९ गते । नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले आगामी निर्वाचनमा नेपाली कांग्रेस, नकेपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच मोर्चाबन्दी हुनसक्ने बताउनु भएको छ ।
नेकपा (एमाले) लमजुङले शनिबार बेँसीसहरमा आयोजना गरेको ११ औं महाधिवेशनबाट निर्वाचितहरूको सम्मान कार्यक्रममा सम्बोधन गर्दै नेता गुरुङले यस्तो बताउनु भएको हो । रास्वपा, काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह र उज्यालो नेपाल पार्टीबिच एकता भएपछि पुराना दुई दलबिच चुनावी गठबन्धनबारे छलफल चल्न थालेको उहाँले बताउनु भयो ।
उहाँले भन्नु भयो, “प्रारम्भिक रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भइरहेको छ । छलफलमा नेकपा पनि मिसिएको छ । प्रचण्डहरूलाई पनि मिसाएर लैजाने हुनसक्छ ।”
उहाँले कांग्रेस र एमालेबिच यसअघि दुबैले जितेका आ–आफ्ना क्षेत्र लिने र बाँकी रहेका क्षेत्र भागवण्डा गर्नेगरि मोर्चाबन्दी हुनसक्ने बताउनु भयो । उहाँले भन्नु भयो, “नेकपालाई पनि मोर्चामा समेट्नु पर्ने भएमा कांग्रेस एमालेले ७०–७० र बाँकी २५ सिट नेकपालाई दिन सकिन्छ ।”
उपाध्यक्ष गुरुङले नयाँ दलहरूले देखाएको गैरजिम्मेबार रवैया, जेन-जीको असन्तुष्टिलाई उक्साएर आन्दोलन हाइज्याक गर्ने प्रवृत्ति र त्यसैको आडमा राष्ट्रिय सम्पदा जलाउने तथा सार्वजनिक संरचनामाथि आक्रमण गर्ने घटनाले देशलाई अस्थिरतामा धकेलेको बताउनु भयो । लोकतन्त्र र परिवर्तनका एजेन्डा बोकेका एमाले, कांग्रेस र नेकपाबिच चुनावी मोर्चाबन्दी गर्नुपर्ने अबस्था आउने वातावरण बन्दैगएको उहाँको भनाइ छ ।
अराजक गतिविधिले लोकतन्त्र कमजोर बनाउने भन्दै गुरुङले अहिलेको परिस्थितिमा अनुभव, जिम्मेवारी र राष्ट्रिय प्रतिबद्धता बोकेका पुराना दलहरूबिच निर्वाचनमा मोर्चाबन्दी आवश्यक रहेको पनि उहाँको भनाइ छ । उहाँले भन्नु भयो, “यसरी निर्वाचनमा गएर बन्ने नयाँ सरकारले जनताको आशा र विश्वासलाई जित्नु पर्छ । विकास, सम्वृद्धि र सुशासन कायम गर्नु पर्छ ।”
कार्यक्रममा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा निर्वाचित हुनुभएका उपाध्यक्ष गुरुङसहित केन्द्रीय सदस्य जमीन्द्रमान घले, टुकाभद्रा हमाल, कृष्णप्रसाद अधिकारी, भगवती थापा (कल्पना) र अनुशासन आयोगका सचिव राजेन्द्र घिमिरेलाई सम्मान गरिएको छ ।
सो अवसरमा गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, पूर्व केन्द्रीय सदस्य मायानाथ अधिकारी, जिल्ला अध्यक्ष राजकुमार विष्ट, अनेमसङ्घ लमजुङको अध्यक्ष पवित्रा थापा, बेँसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, मर्स्याङ्दी गाउँ कमिटीका अध्यक्ष प्रेम बस्नेतले केन्द्रदेखि टोलसम्म पार्टी एकजुट र एक ढिक्का भएर अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।
– नवीनराज कुइँकेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










