01/15/2026, 13:43:02
बिहिबार, माघ ०१, २०८२

“निर्वाचन आयोगले चिन्ने, जान्ने भनेको विशेष महाधिवेशन गरेको नेपाली कांग्रेस पार्टीलाई हो”


काठमाडौँ, माघ १ : नेपाली कांग्रेसको विशेष महाधिवेशन  पक्षबाट सभापतीमा निर्वाचित गगन थापाले विशेष महाधिशेनको बन्दसत्र सुरु भएको पहिलो दिनै शेरबहादुर देउवा  सभापति र आफ महामन्त्री रहेको केन्द्रीय कार्यसमिति भंग भएको निवेदन औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता गराएको बताएका छन् ।

उनले भने, ‘निर्वाचन आयोगले चिन्ने, जान्ने भनेको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन नेपाली कांग्रेस पार्टीलाई हो ।

उनले देउवा पक्षबाट भएको अनुशासनको कारवाहीबारे पनि आप्नो धारणा राखेका छन् । उनले विशेष महाधिवेशनमै केन्द्रीय कार्यसमिति भंग भइसकेको बताउँदै भने, ‘नभएको केन्द्रीय कार्यसमितिले हामीमाथि कारबाही गर्ने र त्यसलाई हामीले भोग्नुपर्ने हुन सक्दैन ।

थापाले प्रचलित कानुन, निर्वाचन, दलसम्बन्धी कानुन, पार्टीको विधान सबै कुरालाई एक ठाउँमा राखेर हेर्दा आयोगले एकदमै छोटो समयभित्र निर्णय गर्न सक्ने पनि बताए । उनले विशेष महाधिवेशनमा नआएकाहरुले पनि आयोगको निर्णयलाई स्विकार्ने र पार्टी एकढिक्का भएर अगाडि विश्वास समेत सुनाए ।

तत्कालीन महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको शेरबहादुर देउवाको हस्ताक्षरसहितको ‘डकुमेन्टहरू’ निर्वाचन आयोगमा भएकाले त्यसलाई ‘रिप्लेस’ गर्नका लागि तपाईंहरूसँग के कस्ता बलिया ‘डकुमेन्ट्स’ छन् भन्ने प्रश्नमा उनले विशेष महाधिवेशन विधिसम्मत भएको र यसलाई निर्वाचन आयोगले विधिसम्मत अद्यावधिक गरिदिने बताए ।

उनले भने, ‘अतिरिक्त ‘फेभर’ नगरीकन कानुनसम्मत कुरालाई उसले स्वीकार गर्ने हो । पार्टीको नयाँ कमिटीलाई अद्यावधिक गरिसकेपछि नेपाली कांग्रेस एक ठाउँमा आउने र ठीक ढंगले चल्ने भई नै हाल्छ । एउटा अधिवेशन भइरहेको छ, अर्कोतिर पार्टीले निर्णय गर्‍यो भन्ने आधारमा दुईवटा कमिटी भएको भनिएको छ । दुईवटा त हुनै सक्दैन। कि हामी ठीक हुनुपर्‍यो, कि सानेपामा बसेर निर्णय गर्नेहरू ठीक हुनुपर्‍यो ? हाम्रो दाबीभन्दा पनि विधानसम्मत भन्ने हो । हाम्रो प्रस्ट बुझाइ के छ भने महाधिवेशन नै आधिकारिक हो। जसले गर्दा आफ्नो पक्षमा निर्णय आउँछ भन्ने तपाईंहरूलाई विश्वास छ ।