01/14/2026, 22:29:25
बुधबार, पुष ३०, २०८२

देउवा पक्षको कारबाहीलगत्तै भृकुटीमण्डपमा गगनले दिएका मुख्य ३ सन्देश


काठमाडौँ, पुस ३० : कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ‘कारबाही’ गरेको खबर विशेष महाधिवेशन  स्थल भृकुटीमण्डपमा आइपुग्दा नाराबाजी सुरु भइसकेको थियो ।

गगन–विश्वले पार्टीको नेतृत्व लिन आग्रह र संस्थापन पक्षको निर्णयविरुद्ध चर्को नाराबाजी भइरहेको थियो । संस्थापन पक्षको कारबाही लगत्तै महामन्त्री थापा भृकुटीमण्डपस्थित विशेष महाधिवेशन भइरहेको हलमा प्रवेश गरे । थापा प्रवेश गर्ने बित्तिकै भृकुटीमण्डप गेटदेखि नै उनको पक्षमा नाराबाजी सुरु भइसेको थियो ।

हलको मञ्चमा उभिने बित्तिकै प्रतिनिधिहरूले उनको पक्षमा चर्को नाराबाजी सुरु गरे । गगनले बोल्न सुरु गरेपछि ‘जय नेपाल’ को हुँकारले उनको स्वर ओझेलमा पर्‍यो । उनले बहुमत कांग्रेस विशेष महाधिवेशनको हलमा भएको बताएपछि प्रतिनिधिहरू झन् जोसमा आए । उनीहरूले ‘हो मा हो’ मिलाएर निरन्तर ‘जय नेपाल’ भन्दै नाराबाजी जारी राखे ।

महामन्त्री थापाले हलबाट मुख्य गरी तीन सन्देश दिए । पहिलो, बहुमत कांग्रेस आफ्नो पक्षमा भएकाले निर्वाचन आयोग लगायतले यही कांग्रेसलाई मान्यता दिनुपर्छ । दोस्रो, कांग्रेसलाई नयाँ नेतृत्वमा अघि बढाएर आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने । कांग्रेसले नयाँ रूपमा सबैमा लैजाने । उनको तेस्रो सन्देश थियो, कांग्रेस विभाजन भए पनि बिना पूर्वाग्रह सबै कार्यकर्तालाई समेटेर लैजाने

देउवा पक्षको कारबाही पछाडि केही चिन्तित तर आक्रोशित मुद्रामा प्रस्तुत भएका गगनले उपस्थित प्रतिनिधिहरूलाई संकटको घडीमा धैर्यवान् भएर निर्वाचनमा होमिन आग्रह गरे । उनले राजनीतिक रूपमा मात्र होइन, व्यवहारिक रूपमा पनि परिपक्व ढंगले नयाँ नेतृत्व चयन गरी शेरबहादुर देउवाको आशिर्वाद लिन जाने भन्दै संस्थापन पक्षलाई समेत समेट्ने प्रतिवद्धता जनाए ।

संस्थापनको कारबाहीलाई गगनले ठाडै खारेज गर्दै भने, ‘हामीलाई कारबाही गरिएको सुनेका छौं । यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । म ९ कक्षामा पढ्दादेखि नै कांग्रेस हुँ । २०४६ को आन्दोलनमा सहभागी भएँ, २०६२ र ०६३ को आन्दोलनको त नेतृत्व नै गरेको थिएँ । कसैले हटायौं भन्दैमा हट्ने होइन । के तपाईँले मलाई आफ्नै घरबाट निकाल्नुभएको हो रु यो कसैको निजी फर्म होइन ।

गगनले सम्बोधन गरेलगत्तै फर्मुल्लाह मन्सुरले गगनको नेतृत्वमा कांग्रेस उचाइमा पुग्ने बताए ।

त्यसलगत्तै अर्का महामन्त्री विश्वप्रकाश शर्मा  बन्दसत्रको मञ्चमा उभिए । सुरुमा शान्त मुद्रामा प्रस्तुत भए पनि हलमा नाराबाजी चर्किरहेको थियो, गगन विश्वको पक्षमा । उनले महाधिवेशन प्रतिनिधिहरूलाई विश्वस्त बनाउँदै विधि पद्धति अनुसार नयाँ कांग्रेस बनाउन खोज्दा कारबाहीप्रति प्रश्न गरे । उनले दुई महामन्त्रीमाथि कारबाही गर्नु, बलियो कांग्रेस बनाउने प्रस्ताव अघि सार्नु, आगामी निर्वाचनमा एक्लै उम्मेदवार तयार गर्न खोज्नु गलत हो ? भनी प्रश्न गर्दा प्रतिनिधिहरूले चर्को स्वरमा भने, ‘होइन ।’

उनले विधिमा आधारित बलियो कांग्रेस बनाउने प्रस्ताव गर्दा कारबाही परेको खबर सुनेको बताए ।

आगामी निर्वाचनमा कांग्रेस एक ढिक्का भएर जानुपर्छ । सभापति छोड्दा सिंगो कांग्रेस एक भएर जान्छ भन्नु गलत हो ? नेपाली कांग्रेस अरू दलसँग नमिली १६५ मा उम्मेदवार उठाउने कुरा गलत हो ?’ उनले देउवा पक्षलाई प्रश्न गरे, ‘कांग्रेस आगामी निर्वाचनमा एक ढिक्का १६५ ठाउँमा उभिएर रुख चिह्नमा भोट हाल्नुपर्छ भन्यौँ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाऔँ भन्नु गलत हो ? कांग्रेस बनाऔं, विधि बनाएर जाऔँ भन्दा कारबाही पर्नुपर्ने हो ?

– गंगा बीसी