01/14/2026, 17:19:45
बुधबार, पुष ३०, २०८२

नागरिक लगानी कोषको साधारणसभा सम्पन्न


काठमाडौँ, पुस ३० गते। नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कोषको साधारणसभाले गत आर्थिक वर्ष २०८१/८२ को आम्दानीबाट पाँच प्रतिशत बोनस शेयर र आठ प्रतिशत नगद लाभांश (नगदसमेत) वितरणको प्रस्ताव पारित गरेको हो ।

कोषको गत आवको कर पछिको खुद नाफा एक अर्ब २५ करोड ६० लाख रहेको छ । जसमध्ये २५ करोड १२ लाख साधारण जगेडा कोषमा राखी बाँकी रकमबाट लाभांश वितरण गरिएको हो ।

कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट गत आव २०८१/८२ मा दुई खर्ब ६६ अर्ब ६५ करोड खुद कोष सङ्कलन भएकामा चालु आवको असोज मसान्तसम्ममा बचत परिचालन मौज्दात रकम दुई खर्ब ९६ अर्ब ८९ करोड पुगेको जनाएको छ ।

साधारणसभाले कोषको वार्षिक प्रतिवेदन, गत आव २०८१र८२ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणसमेत पारित गरेको छ । साधारणसभाले सर्वसाधारण शेयरधनीका तर्फबाट नारायणप्रसाद घिमिरेलाई सर्वसम्मत चयन गरेको छ ।

साधारणसभामा कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले गत आवको लाभांशबाट शेयरधनी सन्तुष्ट देखिनु, कोषका कर्मचारीको सेवासुविधा र वृत्तिविकासलगायत विषयमा चासो देखाउनु सकारात्मक रहेको बताए । उनले संस्थालाई व्यवस्थित बनाएर लैजान दूरदर्शी ढङ्गले काम गर्ने प्रतिबद्धता जनाए ।

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले शेयरधनीले साधारणसभामा दिएका सुझाव सम्बोधन गरिने प्रतिबद्धता जनाए । साथै संस्थालाई सुशासित संस्थाका रूपमा अघि बढाउँदै लगिएको उनले दाबी गरे ।

कार्यकारी निर्देशक कार्कीले कोषले नेपाल वायुसेवा निगममा गरेको कर्जा लगानीको असुलीमा जटिलता देखिएको बताए । निगमले विमान खरिदका लागि कर्जा लग्दा नेपाल सरकार ‘ग्यारेन्टी’ बसेको उल्लेख गर्दै उनले ढिलोचाँडो असुली हुने अपेक्षा व्यक्त गरे ।

त्यस्तै, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषले शिक्षा, विपद् व्यवस्थापन तथा पुनर्निर्माणका क्षेत्रमा खर्च गरेको उनको भनाइ छ । कोषका तथ्याङ्क क्रमशः ‘डिजिटलाइज्ड’ गर्दै लगिएको र डाटा भण्डारणलाई सुरक्षित बनाउँदै लगिएको पनि कार्कीले जानकारी दिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..