01/14/2026, 17:54:05
बुधबार, पुष ३०, २०८२

पोखरामा जलपक्षीको सङ्ख्या बढ्यो, प्रजाति घटे


लेखनाथ, पुस ३० गते । कास्कीको पोखरा उपत्यकाका ताल तथा सिमसार क्षेत्रमा पाइने जलपक्षीको सङ्ख्या बढेको र प्रजातिहरू भने घटेको देखिएको छ । गएको पुस २५ गते सकिएको एसियन वाटरवर्ड सेन्ससको नतिजाले यस्तो देखाएको हो ।

सन् २०२५ को तथ्याङ्कसँग तुलना गर्दा यस वर्ष जलचराको सङ्ख्या १०.२ प्रतिशतले बढेको भए पनि चराको प्रजाति विविध १३.२ प्रतिशतले घटेको देखिएको हो । पोखरामा सन् २०२५ मा ५३ प्रजातिका चरा अभिलेख भएका थिए भने सन् २०२६ मा यो सङ्ख्या घटेर ४६ प्रजातिमा सीमित भएको जलपक्षी गणना पोखराका क्षेत्रीय संयोजक मनशान्त घिमिरेले जानकारी दिनुभयो ।

गणनामा चराको सङ्ख्या भने तीन हजार चार सय ३६ बाट बढेर तीन हजार सात सय ८६ पुगेको छ । जुन उत्साहजनक सङ्केत हो । क्षेत्रगत रूपमा हेर्दा रूपाताल सबैभन्दा सकारात्मक देखिएको छ,” उहाँले भन्नु भयो । रूपातालमा प्रजाति सङ्ख्या र चराको सङ्ख्या दुवैमा वृद्धि भएको छ ।

मैदी तालमा पनि प्रजाति र चरा दुवै बढेका छन् । यी क्षेत्रमा चराको आवास अवस्था अपेक्षाकृत अनुकूल रहेको उहाँको भनाइ छ । पोखराका दिपाङ, गुन्दे र खास्टे ताल क्षेत्रमा चराको प्रजाति तथा सङ्ख्या दुवै घटेको देखिएको हो ।

दिपाङ तालमा चराको सङ्ख्या करिब ५९ प्रतिशतले घटेको छ । पोखरा महानगरको सबैभन्दा ठुला ताल फेवाताल अझै पनि सबैभन्दा धेरै चराको बासस्थान बनेको देखिएको । यद्यपि, यहाँ प्रजाति विविधता घट्दै गएको पाइएको छ ।

प्रजाति विविधता घट्दै जानु र कुल चराको सङ्ख्या बढ्नुले केही सीमित प्रजाति ठुलो सङ्ख्यामा केन्द्रित भइरहेको अवस्था देखाउँछ । दिपाङ, गुन्दे र खास्टे ताल क्षेत्रमा आवास सुधार, नियमित अनुगमन र संरक्षणमुखी कार्यक्रम आवश्यक रहेको जलपक्षी गणना पोखराका अर्का क्षेत्रीय संयोजक झलक चौधरीले बताउनु भयो ।

ताल तथा सिमसार क्षेत्र जैविक विविधता र प्रकृति–आधारित पर्यटनका लागि महत्त्वपूर्ण भएकाले स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायबिच सहकार्य जरुरी भएको चौधरीले औंल्याउनु भयो।

– फडिन्द्र अधिकारी