01/01/2026, 16:48:40
बिहिबार, पुष १७, २०८२

धवलागिरी अस्पताल भवन: तीन पटक म्याद थप गर्दा आधा काम


म्याग्दी, पुस १७ गते । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा यहाँस्थित धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ ।

तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच श्यया क्षमताको अस्पताल भवन निर्माणको बाँकी छ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्न चुनौति छ । गत साउन महिनादेखि रोकिएको भवन निर्माण मध्यहिँउदसम्म पनि सूचारु नभएको म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको धवलागिरी बजार इकाईका सभापति तेजेन्द्र थापाले बताउनुभयो ।

भवन निर्माण पुरा नहुँदा म्याग्दीका अन्य स्थानीय तहको तुलनामा भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरीको ताकममा अस्पताल सञ्चालन गर्ने योजना कार्यान्वयनमा ढिलाइ भएको छ उहाँले गुनासो गर्नुभयो ।

भवन निर्माणका लागि विसं २०७८ वैशाखमा निर्माण कम्पनीले रु। चार करोड ७९ लाख ४० हजार ३३४ मा धवलागिरी गाउँपालिकासँग ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो ।

पाँच श्यया क्षमताको अस्पतालका लागि दुई तले १६ कोठे दुई तले भवन निर्माण गर्न लागिएको हो । आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डारण, उपचारका लागि छुट्टा–छुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो ।

धवलागिरी गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावलका अनुसार हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको उक्त योजनाको तेस्रो पटक थप भएको म्याद आगामी असार महिनासम्म छ । मुख्य भवनको ढलान सकिएपनि फिनिसिङको काम सुरु भएको छैन् ।

धवलागिरी गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले ताकम आधारभूत अस्पताल भवनका ठेकेदारलाई काममा फर्काउन ताकेता गरिएको बताउनुभयो । “आर्थिक वर्षको अन्तिम तिर आउने ठेकेदार अन्य समयमा सम्पर्कबिहीन हुन्छन्,” उहाँले भन्नुभयो “बैंक धरौटी जफत र कालोसूचिमा राख्ने प्रक्रिया अघि बढाउने विषयमा कार्यपालिकामा छलफल चलाएका छौ ।”

निर्माण कम्पनीका प्रतिनिधी दीपक अदैले बर्खायाममा ढुवानी र प्रतिकुल मौसमका कारण रोकिएको अस्पताल भवन निर्माण कार्यलाई केही दिनमै सूचारु गराउन मजदुर, निर्माण सामग्री ल्याएर आउने प्रतिवद्धता जनाउनुभयो ।

भवन निर्माणको सुरुवातमा स्थानीय समस्याले गर्दा ढिलाई भएपनि संघीय सरकारले पठाउने बजेट अनुसारको काम गर्दै आएको उहाँको भनाई छ । सरकारले भुक्तानीको लागि बजेट उपलब्ध गराउन सके चालु आवमै भवन सम्पन्न गर्ने अदैले बताउनुभयो ।

विस। २०७७ पुष २२ गते तत्कालीन प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापाले भवन शिलन्यास गर्नुभएको थियो । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार ताकममा भवन निर्माण हुन लागेको हो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..