गण्डकी, पुस १५ गते । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ । रङ्गीचङ्गी तुल, ध्वजापतका र प्रवेशद्वारले पोखराको लेकसाइड क्षेत्र सिँगारिएको छ । नयाँ वर्षको छेकोमा आयोजित सडक महोत्सवले लेकडसाइडमा बेग्लै चहलपहल छ । पसल र रेष्टुराँबाट निस्कने सङ्गीतको मधुर धुनसँगै आगन्तुकहरु आहोरदोहोर गरिरहेका देखिन्छन् । सडक छेउछाउ राखिएका व्यावसायिक कक्षमा किनमेल गर्नेको भीड छ ।
मौलिक झाँकी, नृत्यदेखि साङ्गीतिक ‘कन्सर्ट’मा पर्यटक झुमिरहेका छन् । लेकसाइडको साढे तीन किमी सडकमा महोत्सव चलिरहेको छ । आइतबारदेखि सुरु भएको महोत्सव बिहीबारसम्म चल्ने आयोजक रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान)पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो । अङ्ग्रेजी नयाँ वर्षका अवसरमा यस महोत्सव २७औँ संस्करणसम्म आइपुगेको उहाँको भनाइ छ । यस वर्षको महोत्सवमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको अध्यक्ष पौडेलले बताउनुभयो ।
‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल मन्त्रका साथ महोत्सव आयोजना गरिएको हो । “आयोजक रेवान भए पनि यो सबै पर्यटन व्यवसायी र पोखरेलीहरुको उत्सव हो”, उहाँले भन्नुभयो, “महोत्सवमा संस्कृति र सङ्गीतको समायोजन गरिएको छ, मनोरञ्जनसँगै व्यवसाय प्रवद्र्धनका सडक महोत्सव सफल हुने हाम्रो विश्वास छ ।”
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




















