02/22/2026, 23:37:58
आइतबार, फागुन १०, २०८२

मापसे गरी फेवातालमा डुङ्गा चलाउने पाँच पक्राउ


लेखनाथ, फागुन १० गते । कास्कीको फेवातालमा मादक पदार्थ सेवन (मापसे) र लागुऔषध सेवन (लापसे) गरी डुङ्गा चलाउने पाँच चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्की  र जिल्ला प्रहरी कार्यालय कास्कीले गरेको विशेष चेकजाँचको क्रममा पाँच जनालाई नियन्त्रणमा लिइएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका-६, लेकसाइडस्थित फेवातालमा डुङ्गा चलाइरहेका ४५ चालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । तीमध्ये चार जना चालकले लागु औषध र एक जना चालकले मादक पदार्थ सेवन गरेको पाइएको बस्नेतले जानकारी दिनुभयो ।

blog

पर्यटकहरूको सुरक्षालाई ध्यानमा राख्दै तालमै पुगेर चालकहरूको लापसे र मापसे जाँच गरेका थियौं” प्रहरी नायब उपरीक्षक बस्नेतले भन्नुभयो, “मापसे र लापसे गरेको भेटिएका चालकलाई नियन्त्रणमा लिई कारबाही अघि बढाएका छौँ ।” यसो गर्नु कानुनी र मानवीय दुवै तवरले अपराध भएकाले प्रहरीले कारबाही अघि बढाएको उहाँको भनाइ छ ।

प्रहरीले फेवातालमा व्यवसाय गर्ने सबै डुङ्गा चालकलाई जिम्मेवार बन्न र सुरक्षा मापदण्ड पालना गर्न अनुरोध गरेको छ । फेवातालका आठ वटा घाटमा डुङ्गा व्यवसायी समितिमा आबद्ध सात सय १२ डुङ्गा छन् ।

– फडिन्द्र अधिकारी