01/01/2026, 13:53:16
बिहिबार, पुष १७, २०८२

पर्यटन प्रवर्धनमा सहयोग गर्छौं : कोशी प्रदेश मन्त्री मण्डल


पाख्रीबास, (धनकुटा) पुस १७ गते । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले यहाँको पर्यटन प्रवर्धनमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ । बिहीबार १३ औं भेडेटार फुड फेस्टिबलको उद्घाटन समारोहमा बोल्दै मन्त्री मण्डलले यस्तो बताउनुभएको हो ।

उहाँले प्रदेश सरकारले पर्यटन प्रवर्धनलाई लक्षित गरेर कोशी प्रदेश पर्यटन वर्ष मनाइरहेको बताउँदै भेडेटारमा सुरु भएको फुड फेष्टिबलले पर्यटन वर्षलाई सहयोग पुग्ने अपेक्षा रहेको बताउनुभयो ।

यस्तै, उहाँले पर्यटन भित्र्याउन विशेष भूमिका खेल्ने र भेडेटारको प्रवेशद्वारमा धनकुटाका पर्यटनकीय स्थलहरुको होडिङ बोर्ड राख्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भेडेटारमा पर्यटन प्रवर्धन गर्न केही रकम छुट्याएर काम अगाडि बढाउने बताउनुभयो । यस्तै, रात्रीकालीन होटल सञ्चालनका लागि सम्बन्धित निकाय र सम्बन्धित सरोकारवालासँग छलफल र पहल गरि कसरी पर्यटक भित्र्याउन सकिन्छ त्यतातिर लाग्ने मन्त्री मण्डलको भनाइ थियो ।

होटल एसोसिएसन अफ भेडेटारले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पुस १६ देखि १८ गतेसम्म तीन दिनको भेडेटार फुड फेष्टिबलको अयोजना गरेको हो । भेडेटारमा अङ्ग्रेजी नयाँ वर्ष अवसर पारेर पर्यटन प्रवर्धन गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको महोत्सव आयोजक समितिका अध्यक्ष तुमराज लिम्बूले बताउनुभयो । उहाँका अनुसार भेडेटार आउने विदेशी पर्यटकमा सबैभन्दा धेरै भारतीय हुन्छन् । नयाँ वर्षमा भारतीयको बिदा हुने भएकाले तिनलाई भेडेटारमा आकर्षित गर्न फेष्टिबल आयोजना गरिएको उहाँको भनाइ छ ।

फेष्टिभलमा विभिन्न खानाका परिकारका स्टल, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादन, स्थानीय तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, मौलिक परम्परागत सांस्कृतिक झाँकी प्रदर्शनीका स्टल राखिएका छन् । यस्तै ओझेलमा परेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक परम्परागत तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार हुने आयोजकको अपेक्षा छ । फेष्टिभलमा करिब दुई करोड ५० लाख बराबरको आर्थिक कारोबार तथा ५० देखि ६० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

फेष्टिवलमा माउन्टेन बाइक, तमोर नदीमा र्‍याफ्टिङको मज्जा लिन पाइने भएको छ । तीन दिन हुने फेष्टिवलमा आगन्तुकका लागि भेडेटार आसपासका १० वटा पर्यटकीय स्थलमा घुम्ने व्यवस्था मिलाएको आयोजकले जनाएको छ ।

– सन्तोष सुवेदी