02/15/2026, 11:38:54
आइतबार, फागुन ०३, २०८२

नेपालमा सूचना र प्रविधि : पछिल्लो दशक स्वर्णिम युग


काठमाडौँ, फागुन ३ गते । पछिल्लो एक दशकको अवधिमा सूचना र प्रविधिमा नेपालीको पहुँच उल्लेख्य मात्रामा वृद्वि भएको छ । सूचना र प्रविधिको उच्चतम प्रयोग, व्यक्तिगत सरसफाइ, सामुदायिक र व्यक्तिगत स्वास्थ्यमा नागरिक सचेत हुँदै उच्च मानवीय जीवनयापन गर्नेतर्फ अग्रसर भएको पनि पाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको बहुसूचक सर्वेक्षणबाट प्राप्त नतिजामा त्यस्तो तथ्याङ्क देखिएको हो । यसले मानवीय र क्षमता विकासमा नेपाली नागरिक व्रmमिक रूपमा उच्च तहमा पुग्दै गएको स्पष्ट हुँदै गएको छ ।

पछिल्लो समय नेपालमा ९० प्रतिशत पुरुषसँग आफ्नै मोबाइल फोन रहेको पाइएको छ भने १५ देखि ४९ वर्ष उमेर समूहका पुरुषमध्ये ९०.४ प्रतिशत पुरुषसँग आफ्नै मोबाइल फोन प्रयोग गर्ने गरिएको तथ्याङ्कले देखाएको छ । गत तीन महिनामा ७८.७ प्रतिशत पुरुषले मोबाइल फोनको प्रयोग गरेको देखिन्छ । त्यस्तै ८२ प्रतिशत महिलासँग आफैँले मोबाइल फोन प्रयोग गर्ने, १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ८१.६ प्रतिशत महिलासँग आफ्नै मोबाइल फोन रहेको छ भने ७२.७ प्रतिशत महिलाले गत तीन महिनामा मोबाइल फोनको प्रयोग गरेको देखिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेले सूचना र प्रविधिको पहुँचमा नेपालीको उल्लेख्य मात्रामा वृद्वि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सूचना र प्रविधिको पहुँच वृद्विसँगै नेपालीमा सचेतना दर पनि वृद्वि भएको छ । अब प्रविधिको प्रयोग गर्दा भने सकारात्मक पक्षलाई बढी ध्यान दिनुपर्ने देखिन्छ ।

विद्युत् सेवामा पुहँच

नेपाली नागरिकको ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवाको स्रोतमा पहुँच पुगेको छ । प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी गण्डकी प्रदेशमा ९९.५ प्रतिशत र सबैभन्दा कम कर्णालीमा ८०.८ प्रतिशत घरपरिवारमा विद्युत् सेवाको पहुँच पुगेको पाइएको छ । ९५.५ प्रतिशत घरपरिवारमा टेलिफोन र मोबाइल फोनको सुविधाको पहुँच पुगेको छ । त्यस्तै प्रत्येक पाँचमध्ये चार जना ८२ प्रतिशत परिवारले इन्टरनेट सुविधासहितको उपकरणको प्रयोग गरेको तथ्याङ्कले देखाएको छ ।

त्रिभुवन विश्वविश्वविद्यालय समाजशास्त्रका उपप्राध्यापक सुमन्त घिमिरेले सूचना र प्रविधिको विकासमा पछिल्लो १० वर्ष नेपाली नागरिकका लागि स्वर्णिम युगकै रूपमा विकास भएको भन्न सकिने बताउनुभयो । सूचना र प्रविधिको विकासमा यस अवधिमा अपेक्षाकृतभन्दा पनि बढी विकास भएको स्मरण गर्दै उहाँले भन्नुभयो, “अबको समयको माग अनुसार रोजगारी सिर्जना र औद्योगिक विकासतर्फ राज्यको ध्यानकेन्द्रित हुनु पर्छ ।”  प्रविधिमा भएको विकास जस्तै रोजगारी सिर्जनामा पनि विकास गर्ने हो भने नेपालीलाई रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता सधैँका लागि अन्त्य हुनुपर्ने उहाँको भनाइ छ ।

सुधारिएको पानीको प्रयोग

नेपालमा कुल जनसङ्ख्याको ९८.२ प्रतिशतले खानेपानीका लागि सुधारिएको पानीको स्रोत प्रयोग गरेको देखिन्छ । कुल परिवारका सदस्यमध्ये ९२.२ प्रतिशतले सुधारिएको चर्पीको प्रयोग गरेकेमध्ये ७९.९ प्रतिशत परिवारका सदस्यले सुधारिएका चर्पी आफैँले मात्र एकल रूपमा प्रयोग गर्ने गरेको देखिएको छ । ८६.४ प्रतिशत घरपरिवारमा हात धुनका लागि निर्दिष्ट स्थानमा पानी तथा साबुन वा अन्य सरसफाइका वस्तु राखिएको भेटिएको छ ।

त्यस्तै १५ देखि ४९ वर्ष उमेर समूहका महिला १७.७ प्रतिशत तथा १९.९ प्रतिशत पुरुषले स्वास्थ्य बिमा गरेको पाइएको छ । पाँचदेखि १७ वर्ष उमेर समूहका बालबालिका १५ प्रतिशत र पाँच वर्षमुनिका बालबालिकाले ११.७ प्रतिशतको स्वास्थ्य बिमा गरेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ ।

– नगेन्द्र सापकोटा