काठमाडौँ, माघ २२ गते । आउँदो फागुन २१ का लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचनमा मत बटुल्न यतिबेला उम्मेदवारहरू आआफ्ना क्षेत्रमा सक्रिय छन् । मतदाता रिझाउन विभिन्न तर्क, कारण र उपायसहित घरदैलो अभियानमा उम्मेदवारहरू व्यस्त देखिन्छन् । निर्वाचनको यो माहोलले गाउँसहर तात्दै छ । त्यसरी नै निर्वाचनसँग सम्बन्धित टीकाटिप्पणी (कन्टेन्ट) ले भरिभराउ छन्, सामाजिक सञ्जाल ।
सूचना र ज्ञानका लागि सामाजिक सञ्जालमा बढ्दो सक्रियतालाई ख्याल राखेका उम्मेदवारहरू आफ्नो डिजिटल उपस्थितिलाई पनि सकेसम्म बलियो र प्रभावकारी बनाउने प्रयत्नमा जुटेका छन् । त्यसैले हुन सक्छ, नेपालीको सबैभन्दा धेरै उपस्थिति रहेको सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनकेन्द्रित सामग्री बढाउने र धेरैमाझ पुग्ने प्रयासमा उम्मेदवारहरू देखिन्छन् । भर्चुअल रूपमा उम्मेदवारले बढाइरहेको यही उपस्थितिले फेसबुकलाई भने लाभ मिलिरहेको छ ।
धेरैभन्दा धेरै मतदातासँग पुग्न फेसबुकमा आफ्नो पेज अथवा अकाउन्ट विज्ञापन गर्ने प्रवृत्ति अहिले झन् बढेको छ । ‘स्पोन्सर्ड’ भनिने त्यस्ता अकाउन्टबाट आफूलाई परिचित गराउने र एजेन्डा विस्तार गर्ने प्रकृतिका कन्टेन्ट फेसबुकमा प्रकाशित भइरहेका देखिन्छन् । निर्वाचन आचारसंहिताका कारण कतिपय उम्मेदवारले अरूका अकाउन्टबाट पनि निर्वाचनसँग सम्बन्धित सामग्री फेसबुकमा फैलाइरहेका छन् ।
सामाजिक सञ्जालविज्ञ रवि सिङ्घल निर्वाचनका समयमा फेसबुकमार्फत प्रचारप्रसार गर्ने क्रम तीव्र रूपले बढिरहेको बताउनुहुन्छ । उहाँका अनुसार नेपाल मात्र नभई विदेशबाट पनि यस किसिमका फेसबुक सामग्रीमा खर्च गर्ने क्रम व्यापक छ । “निर्वाचनका बेला यस्तो कुरा स्वाभाविक हो,” उहाँ भन्नुहुन्छ, “एड लाइबे्ररीमा देखाइएकोभन्दा धेरै खर्च बाहिरबाट नै भइरहेको छ ।”

फेसबुकको माउ कम्पनी मेटाले आफ्ना विभिन्न माध्यमबाट भइरहेको विज्ञापनलाई एड लाइबे्ररीमा उपलब्ध गराउँछ । एड लाइबे्ररीमा पछिल्लो तीन महिनाको तथ्याङ्क हेर्दा खर्चका हिसाबले राजनीतिक दल, उम्मेदवार र निर्वाचनसँग सम्बन्धित संस्थाको सूची अग्रस्थानमा देखिन्छ ।
पछिल्लो तीन महिनामा फेसबुकमा गतिशील लोकतान्त्रिक पार्टीले सबैभन्दा धेरै खर्च गरेको देखिन्छ । उक्त पार्टीले यो अवधिमा विभिन्न ४५ वटा विज्ञापनका लागि एक हजार ३४१ डलर खर्च गरेको छ । त्यसपछि उज्यालो नेपाल पार्टी दोस्रो र उज्यालो नेपाल अफिसियलले क्रमशः एक हजार २४४ र ८२९ डलर खर्च गरेका छन् । पछिल्लो एक हप्तामा मात्रै उज्यालो नेपाल अफिसियलले ३६५ डलर खर्च गरेको देखिन्छ ।
तीन महिनाको अवधिमा खर्चका हिसाबले राष्ट्रिय परिवर्तन पार्टी ओखलढुङ्गा, श्री गुरुङ, वीरेन्द्रबहादुर बस्नेत सचिवालय, फेथ एन्ड होप, जेनजी युनाइटेड मुभमेन्ट, सिटिजन्स फर भोटिङ नेपाल, सुनीलकुमार शर्मा, नैनसिंह महर, आरएसपी कपभेरेजलगायत पेजका लागि खर्च भएको मेटा लाइबे्ररीको रिपोर्टमा उल्लेख छ ।
फेसबुकमा सबै उमेर समूहका प्रयोगकर्ता हुने भएकाले उम्मेदवार र दलहरूको विज्ञापनको रोजाइमा पर्ने सामाजिक सञ्जालविज्ञ बताउँछन् । सामाजिक सञ्जालसँग सम्बन्धित तथ्याङ्क उत्पादन गर्ने डेटा रिपोर्टलका अनुसार सन् २०२५ को अन्त्यसम्म नेपालमा एक करोड ४८ लाख जनाले फेसबुक प्रयोग गर्ने पाइएको छ; जुन अन्य सामाजिक सञ्जालभन्दा धेरै हो ।
विज्ञहरू भने मेटा लाइबे्ररीमा देखिएकोभन्दा धेरै गुणा बढी खर्च फेसबुकमा भइरहेको बताउँछन् । चर्चित नेताहरूले धेरै पेजमार्फत आफ्नो प्रचार सामग्री विज्ञापन गरिरहेको उहाँहरूको भनाइ छ । सोझै निर्वाचनसँग सम्बन्धित कन्टेन्ट नदिए पनि प्रयोगकर्ता आकर्षित गर्ने प्रकृतिका पेजमा नेताले खर्च गरिरहेको उहाँहरू बताउनुहुन्छ ।
निर्वाचन आचारसंहिताले फेसबुक लगायत सामाजिक सञ्जालमा हुने खर्चलाई पनि निर्वाचनको सीमाभित्र बाँधेका कारण धेरै खर्च नदेखाउने रणनीति उम्मेदवारले प्रयोग गरिरहेको सामाजिक सञ्जालविज्ञहरूको अनुमान छ ।
निर्वाचन आयोगले पनि राजनीतिक दल एवं उम्मेदवारले फेसबुकमा गरिरहेको खर्च र आचार संहिताविपरीतका कन्टेन्टमाथि निगरानी बढाइरहेको जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार आयोगले सबै सुरक्षा संयन्त्र सम्मिलित साइबर संयन्त्रमार्फत फेसबुकमा भइरहेको खर्च र कन्टेन्टमाथि निगरानी गरिरहेको छ ।
– विश्वास रेग्मी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










