काठमाडौँ, माघ २२ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन् ।
बिहीवार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेस अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले केही उम्मेदवारविरुद्ध आचारसंहिता उल्लङ्घनको उजुरी आयोगमा परेको जानकारी दिए । ती उजुरीमाथि आवश्यक अनुसन्धान भइरहेको र उम्मेदवारहरूबाट स्पष्टीकरण बुझ्ने कार्य जारी रहेको उनले बताए । प्राप्त उजुरीको अध्ययनपछि आयोगले आवश्यक निर्णय लिने उनको भनाइ थियो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनको तयारी तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै तोकिएको मिति र समयमा नै निर्वाचन सम्पन्न हुने बताए ।
आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य जारी छ । हालसम्म ७२ लाख ६० हजार मतपत्र छपाइ भई ५ हजार ८ सय २५ बाकस प्याकिङ भइसकेको आयोगले जनाएको छ । कुल २ करोड ३ लाख २३ हजार मतपत्र आवश्यक पर्ने अनुमान छ । त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ आवश्यक २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भई ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










