02/06/2026, 04:38:34
बिहिबार, माघ २२, २०८२

मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु


किमाथाङ्का (सङ्खुवासभा), माघ २२ गते ।  सङ्खुवासभाको मकालु गाउँपालिका–५ मुढेमा ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु भएको छ । गएराति मकालु–५ मुढेमा ना५त ७०८१ नं को ट्याक्टरले किचेर उत्तर–दक्षिण कोशी राजमार्गमा कार्यरत मजदुर नेमलाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिएका छन् ।

तामाङ गुडिरहेको ट्याक्टरबाट खसेका थिए । उनको पछाडिको टायरले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए । मृतक तामाङ उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत निर्माणाधीन खाँदबारी–किमाथाङ्का सडकखण्ड कार्यरत मजदुर हुन् ।

 

घटनालगत्तै सिन्धुली घर भई हाल सङ्खुवासभा बस्दै आएका चालक फरार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

प्रहरीले उक्त ट्याक्टर मकालु–५ स्थित नुम बजारमा पार्किङ गरी राखेको अवस्थामा नियन्त्रणमा लिइएर नुम प्रहरी चौकीले जनाएको छ । घटनास्थल नुम प्रहरी चौकीबाट १५ किलोमिटरको दूरीमा पर्दछ ।

मृतकको शव जिल्ला अस्पताल खाँदबारी ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक मैनालीले जानकारी दिए । । फरार रहेका चालकको खोजी भइरहेको छ भने घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..