नेपालगन्ज, पुस १७ गते । निर्माण कम्पनीको लापरबाही र बेवास्ताका कारण बाँके जिल्लाको जानकी गाउँपालिका–५ मा निर्माणाधीन सुत्केरी भवन अलपत्र अवस्थामा छ । करिब एक करोड २५ लाख रुपियाँ लागतमा सुरु गरिएको सो भवन ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको हो ।
एक वर्ष ६ महिनामा भवन निर्माण पूरा गर्ने भनि निर्माण कम्पनी पार्वती बडीमालिका जेभिले दुई वर्षअघि सम्झौता गरेकोमा सो समयअवधि सकिएको ६ महिना बितिसक्दा पनि भवनको जग मात्र हालेर अलपत्र पारिएको छ ।
जानकी गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा विशेष योजना अन्तर्गत निर्माण कम्पनीसँग सम्झौता भई सुरु भएको सो सुत्केरी भवन २०८२ साल असार २० गते भित्र सम्पन्न गर्नुपर्ने थियो । जग हालेर लामो समयदेखि ठेकेदार सम्पर्कविहीन भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष छब्बन खाँले मातृस्वास्थ्य जस्तो संवेदनशील विषयमा ढिलाइ स्वीकार्य नहुने भन्दै सुत्केरी भवन छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई कडा निर्देशन दिइएको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले सम्झौताको समयअवधी पूरा भए पनि काम नगरेर गरिएको यो ढिलाइलाई गम्भीर रूपमा लिइएको बताउनुभयो । उहाँले ठेकेदारलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न पत्रिकामार्फत सूचना जारी गरिएको र सम्झौता अनुसार काम नगरे कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।
वडा नम्बर ५ का वडाअध्यक्ष टिकानाथ यादवले समयमै काम भएको भए महिलाहरुले आफ्नै वडामा सुरक्षित सुत्केरी सेवा पाउने बताउनुभयो । पटक–पटक ताकेता गर्दा पनि ठेकेदार जिम्मेवार नबन्दा स्थानीयवासी निराश बनेका छन् । भवन सञ्चालनमा नआउँदा स्थानीय महिलाहरू सुत्केरी व्यथा लागेपछि सदरमुकाम नेपालगन्ज जान बाध्य छन् । गरिब तथा यातायात सुविधा नपुगेका महिलाका लागि यो यात्रा जोखिमपूर्ण बनेको छ ।
स्थानीय महिला सिता यादवले सुत्केरी हुने बेला यातायात नपाएर समस्या भोग्नुपरेको गुनासो गर्नुभयो । उहाँले वडामै सुत्केरी भवन बनेको भए यस्तो दुःख सहनु नपर्ने बताउनुभयो ।
धेरैदिनसम्म ठेकेदार सम्पर्कविहीन भएपछि सो योजना अघि बढ्न नसकेको जनाइएको छ । निर्माण कम्पनीलाई ताकेता गरेर तत्काल काम सुरु गराउन स्थानीयले माग गरेका छन् ।
– सिराज खान
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















