12/31/2025, 10:16:44
बुधबार, पुष १६, २०८२

च्याउ नचिनेर खानु हानिकारक


मुक्तिनाथ (मुस्ताङ), पुस १६ गते । मुस्ताङ जिल्लाको थासाङ, घरपझोङ गाउँपालिकाको वनजङ्गल र खर्कमा पाइने रातो च्याउ  स्वादिलो र पोसिलो हुने भएकाले सबैको रोजाइमा पर्ने गरेको छ ।

रातो जङ्गली च्याउ  उम्रिने समयमा स्थानीयहरू जोखिम मोलेर सङ्कलन गरी बिक्री गर्छन् । उच्च लेकमा च्याउ टिप्न जाँदा वन्यजन्तुको आक्रमणसँगै सुकेका अग्ला रूखमा उम्रेको च्याउ टिप्न ज्यान जोखिममा राखेर सङ्कलन गरिन्छ । चिसो हावापानीमा हुने च्याउ टिपेर बजारमा ल्याउने क्रममा विषालु च्याउ खाएर समेत बिरामी पर्ने गर्छन् ।

च्याउ सङ्कलन र बिक्रीका लागि अनुमति नचाहिने भएकाले मुस्ताङमा पाइने कतिपय विषालु च्याउ पनि टिप्ने गरिन्छ । ज्ञान अभावका कारण स्थानीयले कौली, भकुन्डो, ताङ्दी च्याउ  विषालु भएकाले खर्क क्षेत्रमा टिपेर ल्याउन थालेपछि त्यस्ता विषालु च्याउको प्रयोग नगर्न अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले विद्यालय र समुदायस्तरमा सचेतनामूलक अभियान सञ्चालन गर्ने गरेको छ ।

क्लाभिकोरोना पिक्सिडाटा प्रजातिको सेतो, रातो, कालो, पहेँलो रङमा जङ्गलबाट टिपेर ल्याएको च्याउले पहिला टाउको दुख्ने, रिँगटा लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिन्छन् भने अति विषालु भएमा आँखाबाट आँसु आउने, मुखबाट -याल निस्कने, जिब्रो सुनिने, बान्ता आउने, पखाला चल्ने, घाँटीमा खसखस हुने तथा बेहोस हुने जस्ता लक्षण पनि देखिने गरेका छन् । यस्तो अवस्थामा तत्काल उपचारका लागि स्वास्थ्य संस्थामा नगए ज्यान जाने सम्भावना भएकाले त्यस्ता च्याउका प्रयोग नगर्न एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो ।

प्रमुख गुप्ता भन्नुहुन्छ, “राम्रो देखेर जङ्गलबाट ल्याएको च्याउ नै विषालु हुन सक्छ । यो बेलामा च्याउ खोज्न जाने धेरै भएकाले सचेतनामूलक अभियानलाई प्राथमिकता दिएका छौँ ।” मुस्ताङको बुकीको चरन क्षेत्रमा प्रशस्तै पाइने च्याउमा विषालुको पहिचान गर्ने गरी स्थानीय विद्यालयमा समुदायस्तरमा समेत सचेतनामूलक अभियानमार्फत समुदायलाई सचेत बनाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रदेश अस्पताल जोमसोमका निमित्त प्रमुख डा. समीक्षा कँडेलले जङ्गली च्याउ प्रयोग नगर्न सुझाव दिनुभयो । डा. कँडेलले भन्नुभयो, “जङ्गलमा पाइने च्याउ सरसर्ती हेरेर मात्र विषालु र खानयोग्य भनेर पहिचान गर्न गाह्रो हुन्छ । खाएपछि विषालु भयो भने ज्यान पनि जान सक्छ ।”  च्याउ भण्डारण गर्न जानिएन भने खानयोग्य च्याउ पनि विषाक्त हुन सक्छ । मुस्ताङमा तिलाना, गुच्ची, तवाई, घिउ च्याउलाई खानयोग्यमा सूचीकरण गरिएको छ ।

– हरिकृष्ण शर्मा