12/23/2025, 16:06:56
मङ्गलबार, पुष ०८, २०८२

द्वन्द्व पीडित भन्छन् : राज्यले हामीलाई पहिचानविहिन बनायो


बागलुङ (गलकोट), पुस ८ गते । यहाँका द्वन्द्व पीडितले राज्यले आफूहरूलाई पहिचानविहिन बनाएको गुनासो गरेका छन् । बागलुङ नगरपालिकाको आयोजित कार्यक्रममा सहभागी पीडितहरूले सशस्त्र द्वन्द्व सकिएको बीस वर्ष पुगिसक्दा पनि राज्यले आफूहरूलाई न्याय दिन नसकेको गुनासो गर्नुभयो ।

नेपालमा चलेको १० वर्षको जनयुद्ध सकिएको पनि २० वर्ष पुग्यो, अहिलेसम्म पनि राज्यले द्वन्द्वको बेलाका समस्या समाधान गरेको छैन,’ उहाँहरू भन्नुभयो ,‘बेपत्ताहरूको अवस्था के छ अहिलेसम्म कुनै जानकारी छैन । सहिद परिवारलाई कुनै सम्मान छैन । अहिले त द्वन्द्व पीडित भनेको के हो र भनेर सोध्न थाले । हामीलाई पहिचान बिहिन बनाइएको छ ।’ संविधान जारी भएपछिको तीन तहमध्ये कुनै सरकारले आफूहरूलाई सम्बोधन नगरेको उहाँहरूको गुनासो थियो ।

जनयुद्ध सकिएपछि दुई पटक संविधानसभा निर्वाचन भयो, संविधान जारी भएर तीन तहको सरकार बनेको पनि १० वर्ष पुगेको छ,’  पीडित भन्छन्,  ‘तर तीन वटै सरकारले द्वन्द्व पीडितलाई चिन्दैनन् । द्वन्द्वपीडितको पक्षमा कुनै पनि कार्यक्रम योजना ल्याउँदैनन् ।’  यातना पीडित सुशिला थापाले आफूहरूलाई कसैले सहयोग नगरेको गुनासो गर्नु भयो ।

हामीले केही गर्छौं भन्दा कसैले सहयोग गरेन । हामीलाई सहयोग गर्ने कोही छैन । हामी को हुम केही थाहा छैन । मैले द्वन्द्वमा बाबा आमा सबै गुमाएको हो । हामीलाई मान्छेले चिन्दैनन्,’ उहाँले भन्नुभयो ,‘यो परियोजनाबाट मलाई धेरै सहयोग भएको छ । मेरो सानो पसल थियो, मलाई कुखुरा पाल्न सहयाग गर्नुभयो । म एकदम खुसी छु ।’ बेपत्ता परिवारका बिमल केसीले स्थानीय सरकारले आफूहरूको कुनै वास्ता नगरेको गुनासो बताउनु भयो ।

स्थानीय सरकार हाम्रो अभिभावक हो, तर हामी पीडितका लागि केही त कार्यक्रम हुनुपर्‍याे भन्दा वास्तै गर्दैनन्,’  उहाँले भन्नुभयो , ‘मैले उपप्रमुखलाई भने, मेयरलाई त पत्रै लगेर दिएँ तर माथिबाट कार्यक्रम नआएसम्म केही गर्न सकिन्न भन्ने जवाफ आयो ।’ द्वन्द्वपीडित र बेपत्ता परिवार के हो भन्ने थाहा नभएको स्थानीय सरकारले बेपत्ता पारिएका कहाँ छन्, सहिद परिवारको अवस्था कस्तो छ भनेर कुनै वास्ता नगरेको उहाँको गुनासो थियो ।

मेरो साढे १३ वर्षको छोरालाई नियन्त्रण लिएर बेपत्ता पारिएको हो । अहिलेको स्थानीय सरकारले खोजी गर्नका लागि सहयोग गरिदिनुपर्‍याे। आयोग बन्छ । त्यसको काम छैन । मैले बेपत्ता परिवारको अध्यक्षलाई फोन गरेर कुरा गरें । हाम्रो सत्य उजागर हुनुपर्छ भने,‘ उहाँ भन्नु हुन्छ   ‘दोषीलाई कारबाही गर्ने खालको र हाम्रो बेपत्ता व्यक्तिको बारेमा जानकारी दिने कुनै योजना देखिन्न । हामी द्वन्द्वकालका घटनामा पीडितलाई परिचय पनि स्थानीय सरकारले चाहेको छैन । खुकुरीको चोट अचानोलाई थाहा हुन्छ । हाम्रो पिर हामीलाई मात्र थाहा छ ।

चुनावको बेलामा आउने र अरूबेला कसैले वास्ता नगर्ने उनको भनाइ छ । न्यायका लागि द्वन्द्वपीडित समाजका केन्द्रीय सदस्य बद्री केसीले द्वन्द्वपीडितको न्यायका लागि भनेर आयोग बनाएर कार्यकर्ता पाल्ने काम मात्रै भएको बताउनु भयो । ‘सरकारले आयोग त बनायो तर आयोगमा पनि दलका कार्यकर्ता भर्ती भएर आए, यी आयुक्तले काम गर्न सक्दैनन् भनेर हामीले पहिले नै भनेका थियौं,’ उहाँले भन्नु भयो ,‘उनीहरू पार्टीको गोठाला खेतालाको काम गर्ने हुन् । पीडितको काम गर्दैनन् । उनीहरु भत्ता र चिल्ला गाडी चढेर राज्यकै सम्पत्ति सक्ने काम भएको छ ।

कार्यक्रममा बागलुङ नगर उपप्रमुख राजु खड्काले द्वन्द्वपीडितलाई समेट्नेगरी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो । कतिपय कार्यक्रममा पीडितलाई समेटेर लैजाने समेत उहाँले बताउनु भएको थियो । ‘हामीले सहिद परिवारलाई सम्मान गर्नका लागि ठुलो समस्या झेल्नु परेको थियो, परिवर्तनलाई स्वीकार गर्न सकिएको अवस्था छैन,’  उपप्रमुख खड्काले भन्नुभयो ,‘वडा नम्बर ७ मा शान्ति भवन भनेर निर्माण गर्दैछौं । द्वन्द्वपीडित कोष बनाउने बारेमा छलफल चलेको छ ।

त्यस्तै बलेवामा सहिद स्मृति पार्क निर्माणको काम अगाडि बढेको र कृषि पर्यटन नर्सरी भनेर नगरपालिकाले राखेको कार्यक्रममा द्वन्द्वपीडितसँग सहकार्य गर्ने बताउनु भयो । बागलुङ नगरपालिका—४ का वडाध्यक्ष कुमार विक्रम क्षेत्रीले आफू पनि द्वन्द्वपीडित भएको र पीडितको समस्या आफूलाई थाहा भएको बताउनु भयो । ‘पीडितको पीडाको कुरा सुनाउँदा हाँसोको पात्र बनाइन्छ,’  उहाँ भन्नुहुन्छ, ‘अहिले त यो कुरा सुनाउन पनि मन लाग्दैन ।

एड्भोकेसी फोरमद्वारा आयोजित बागलुङ नगरपालिकामा समावेशी तथा शान्तिपूर्ण समुदायका लागि सशक्तीकरण परियोजना कार्यक्रमको सामाजिक परीक्षण कार्यक्रममा एड्भोकेसी फोरम गण्डकी प्रदेश प्रमुख अन्जनी परियारले परियोजनाले गरेका कामबारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले द्वन्द्वपीडितले न्याय नपाउँदा दण्डहिनता मौलाउने र त्यसलाई राष्ट्रलाई पनि विघटनतर्फ लैजाने चिन्ता व्यक्त गर्नु भएको थियोे ।

एड्भोकेसी फोरम नेपालका सञ्चालक अधिवक्ता राम शर्माले आफुहरूले संस्था मार्फत द्वन्द्वपीडितको पक्षमा वकालत गर्ने काम गरेको बताउनु भयो । उहाँले अब द्वन्द्वपीडितहरूले आफै जागरुक भएर न्यायका लागि आवाज उठाउन आग्रह गर्दै एड्भोकेसी फोरमले कानुनी सहजीकरण गर्ने बताउनु भयो ।

– नवराज नेपाली