01/01/2026, 14:13:58
बिहिबार, पुष १७, २०८२

वर्ष २०२५ : ‘ट्यारिफ वार’ ले अर्थतन्त्र हल्लिएको वर्ष


काठमाडौँ, पुस १७ : सन् २०२५ को विश्वव्यापी अर्थतन्त्रमा चिन्ता गर्नुपर्ने गरी न कुनै वित्तीय संकट आइपर्‍यो, न हौसला दिने गरी कुनै उल्लेख्य उन्नति देखापर्‍यो । साह्रै आशावादी नबनाए पनि यस वर्ष अर्थतन्त्रका धेरै पक्षमा सुस्त तर स्थिरताको माहोल देखिएको अर्थविद्हरूले औंल्याएका छन् । कोभिड महामारीको प्रभावबाट बौरिने प्रयत्नमा मन्दी, भूराजनीतिक हस्तक्षेप र नीतिगत तनावबीच विश्वबजारले यसपालि वर्ष २०२६ का लागि आफूलाई स्थिर राख्ने प्रयत्न गरेको रूपमा हेरिएको छ ।

सन् २०२५ को जुलाईमा अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको विश्व आर्थिक प्रक्षेपणले वर्ष २०२५ र २०२६ मा विश्वको वृद्धिदर क्रमशः ३.० र ३.१ प्रतिशत हुने अनुमान गरेको थियो ।

यो कोभिड महामारीभन्दा अघिको ऐतिहासिक ३.६ प्रतिशत विन्दुभन्दा कम भए पनि त्यसयता विश्वले निरन्तर भोगेका आर्थिक, राजनीतिक र अन्य धक्काको परिप्रेक्ष्यमा तुलनात्मक स्थिरताको संकेत थियो । कोषको विश्लेषणमा एक प्रकारको विविधतापूर्ण र असमान किसिमको आर्थिक गतिको आकलन गरिएको थियो । त्यसमा ठूला अर्थतन्त्रले तुलनात्मक रूपमा सुस्त आर्थिक गतिविधि र उदयमान बजारले भने समस्यासहितको द्रुत आर्थिक गतिको संकेत थियो ।

त्यसयताको बजार नियाल्ने हो भने पछिल्ला आर्थिक र राजनीतिक स्थितिमा कसले आफूलाई ढाल्न सक्यो वा सकेन भन्ने कुराले प्रगति वा विफलता निर्धारण गरेको देखिन्छ । यो वर्ष ती देश र कम्पनीका लागि राम्रो सावित भए, जसले पैसा महँगो बन्दै गएको, भूराजनीति थप भद्रगोल बनेको र प्रविधिको प्रगतिको गति नियमनभन्दा धेरै अघि रहेको अवस्थामा आफूलाई तयार गर्न सके । प्रायःले त्यही सन्तुलनको प्रयासमा आफ्नो वर्ष खर्चिएको द इकोनोमिस्टको ‘ड्रम टावर’ पडकास्टमा डेभिड रेनीले विश्लेषण गरेका छन् ।

अमेरिकाका ठूला र प्रमुख कम्पनी धेरैले अनुमान गरेभन्दा बलिया र स्थिर देखिएको फाइनान्सियल टाइम्सको समाचारमा उल्लेख छ । नयाँ राष्ट्रपति आउँदै गरेको अवस्थामा आगामी दृश्य कस्तो हुने भन्ने उल्झनबीच वर्ष सुरु भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विभिन्न साना–ठूला निर्णयसँगै वालस्ट्रिट सम्हालिएर अघि बढ्यो ।

वर्षको अन्त्यसम्म आइपुग्दा मुख्य अमेरिकी सूचकहरू, विशेषगरी प्रविधि क्षेत्र उल्लेख्य वृद्धिको अवस्थामा पुगेको छ भने यसै वर्ष अमेरिकी कम्पनीले ५० खर्बको बजार मूल्य छोए । २० जनवरी २०२५ मा राष्ट्रपतिको शपथ लिएलगत्तै ट्रम्पले २ अप्रिलमा धेरै देशमाथि ट्यारिफ बढाउने घोषणा गरे ।

विश्वव्यापी व्यापारिक प्रणालीमा यसको असर निकै गहिरो देखियो । अमेरिकाको लक्ष्य चीनको बढ्दो व्यापारिक प्रभावलाई कम गर्नु थियो । तर यसले आफ्ना मित्र देशमाथि पनि भन्सार शुल्क थोपर्ने काम गर्‍यो । जसकारण, अन्य देशहरू उल्टै चीनसँग मिल्नुपर्ने अवस्थामा पुगे । त्यसपछि हच्किएका ट्रम्पले कतिपय देशका हकमा क्रमशः शुल्क घटाउँदै लगे ।

ब्लुमबर्गको ‘बिग टेक २०२५ क्यापेक्स मे हिट डलर २००...’ शीर्षकको समाचारमा भनिएझैं माग अत्यधिक बढेर बजार उकासिएको भन्दा पनि ठूला कम्पनीहरूले एआईको उछालबीच कम श्रमिक, बढी अटोमेसन र कसिलो आपूर्ति संयन्त्रमा आफूलाई अभ्यस्त बनाउन सकेकाले कमाइ बढेको बुझ्न सकिन्छ ।

उपभोक्ताको आशावादी सोचभन्दा पनि व्यावसायिक मूल्य नियन्त्रण र लागतको मितव्ययिताका कारण सकारात्मक सूचकहरू देखिएको विश्लेषण भइरहेका छन् । अमेरिकाकै आम बजार भने झन्डै २.७ प्रतिशतभन्दा बढीले महँगिएको अमेरिकी श्रम तथ्यांक विभागको अनुमान छ । तथापि नोभेम्बरसम्मको तथ्यांकअनुसार वार्षिक मुद्रास्फीति २.७ प्रतिशत रहे पनि सेप्टेम्बरमा यो दर ३.० प्रतिशत थियो ।

पूर्वअनुमानहरू झैं यस वर्ष सबैभन्दा ठूलो उथलपुथल प्रविधि क्षेत्रमै देखियो । सन् २०२३ यता ठूलो संख्यामा कर्मचारी कटौती गर्ने क्रम जारी राखेका सिलिकन भ्यालीका खर्बपतिहरू यो वर्ष थप धनी भए । आर्टिफिसियल इन्टेलिजेन्समा रहेको विश्वव्यापी चासो र बढ्दो प्रयोगका कारण एनभिडिया, मेटा, माइक्रोसफ्ट, अमेजन, गुगलजस्ता कम्पनीहरूको नाफा र बजार मूल्य दुवै बढ्यो । एआईको उछाललाई सुरुबाटै आफ्नो पकडमा राखेको उन्नत चिप उत्पादक, अमेरिकी कम्पनी एन्भिडियाले एआई बबलको आशंकाबीच अभूतपूर्व उचाइ हासिल गर्‍यो ।

वालस्ट्रिट जर्नलले आफ्नो वार्षिक समीक्षामा भनेको छ, ‘यो वर्षको एआई कम्पनी र उत्पादनहरूको उछाल डटकम युगको भन्दा पनि क्लाउड कम्प्युटिङमा प्रगति सुरु हुँदाको बखतजस्तो छ, साह्रै थोरै विजेताहरू तर साह्रै ठूलो दाउ ।’   एआईले प्रविधि क्षेत्रमा क्रान्ति ल्याउने ठानेर ठूला ‘टेक’ कम्पनीहरूबीच लगानीको होड अझै कायम देखिन्छ । तर, नोभेम्बरताका एआई कम्पनीको बजार मूल्य निरन्तर ओरालो लागेपछि ‘एआई बबल बर्स्ट’ को चर्चा एकाएक चुलिएको थियो  । यसले आर्थिक अस्थिरता त निम्त्याउने होइन भन्ने चिन्तामाझ एआई कम्पनीहरू पुँजी बजारमा पुनः बौरिए ।

ठूला कम्पनीले सयौं अर्बको नयाँ लगानी, पूर्वाधार, डेटा सेन्टर र साझेदारीहरू घोषणा गरिरहँदा विभिन्न क्षेत्र र विशेषगरी साना देशका बजारहरूले भने समस्या भोग्नुपर्‍यो । युरोप, एसिया र विश्वका अन्य विभिन्न भागका साना तथा मझौला व्यवसाय र स्टार्टअपहरूले कमजोर उपभोक्ता माग, बढ्दो ऋणको लागत र खुम्चँदो नाफाका कारण निरन्तर चुनौतीको सामना गरे । रोयटर्सले आफ्नो विश्लेषणमा कसरी बढ्दो ऋण लागत र ब्याजदरले विशेषगरी उधारो कारोबारमा निर्भर रहने उत्पादक र उद्यमीहरूले व्यवसाय बिस्तारका योजना अघि बढाएनन् भन्ने उल्लेख गरेको छ ।

प्रविधि, उल्लेख्य पुँजी र डेटामा पहुँच राख्नेहरूले अर्बौं नाफा सामान्य मानिरहँदा धेरै देशका कम्पनीहरू नयाँ कर्मचारी भर्ती रोक्ने, थप लगानीमा ढिलाइ गर्ने र अल्पकालीन काममा बढी निर्भर हुनेजस्ता उपायतर्फ लागेको देखियो ।

हुने र नहुनेबीच देखिने सामाजिक खाडल यस वर्ष पनि विश्वव्यापी अर्थतन्त्रमा प्रस्ट देखिएको र यसलाई जोसेफ स्टिङलिट्ज र ड्यानी रोड्रिकजस्ता अर्थशास्त्रीले सामान्य आर्थिक चक्र (इकोनमिक साइकल) मात्र नभएर संरचनागत झुकाव (स्ट्रक्चरल सिफ्ट) भन्दै व्याख्या गरेका छन् ।

एक दशकअघि व्यवसायसम्बन्धी निर्णय लिँदा भूराजनीतिबारे जति सोच्नुपर्थ्यो, त्योभन्दा कैयौं गुणा बढी सोच्नुपर्ने अवस्था पनि २०२५ मा देखापरेको विश्लेषकहरूको धारणा छ । अमेरिका र चीनबीचको व्यापार युद्ध सल्टिनुको साटो अझै विस्तार भयो । त्यसको चपेटामा भारतजस्ता देश पनि पर्न सुरु गरे । अमेरिकी कम्पनीहरूले चीन र रुस जस्ता देशहरूमा आफ्ना उन्नत प्रविधिको बजार र निर्यात घटाएपछि चीनले त्यसको विकल्प खोज्न र अमेरिकी दबाबको प्रतिक्रिया दिने प्रयत्न जारी राख्यो ।

अमेरिका–रुस–युक्रेन तनावबीच छिमेकी भारतको पनि अमेरिकासँगको व्यापार सम्बन्ध खस्किन पुग्यो । इजरायल–हमास–हुती लगायत मध्यपूर्वका विभिन्न देशको तनावको बाछिटाले यो वर्षको अर्थतन्त्रलाई थप प्रभावित बनायो । यसबाट ‘लगानीका सिद्धान्त’मा थपिएका नयाँ नियम र खुला बजारमा बढ्दो अमेरिकी हस्तक्षेपले चिन्तित बनाएको भेउ पाउन सकिने ‘द सन’ म्यागेजिनमा प्रकाशित मार्टिना बेटको समाचारमा उल्लेख छ ।

एआईका कारण रोजगारी बजारको माग र आपूर्तिमा परेको गम्भीर प्रभाव पनि यो वर्षको मुख्य विषयमध्ये एक रहेको एबीसी न्युजको विश्लेषणमा उल्लेख छ । एआई र अटोमेसनमा भएको प्रगतिले लाखौं मानिसको कार्यशैलीसँगै कामदारको मूल्यांकनको शैली पनि फेरियो । सोच्दै नसोचिएका सिनेमा, संगीत, लेखनलगायत सिर्जनात्मक बजारमा एआईको प्रयोग यो वर्ष घरेलु विषय बन्यो । विज्ञापन, पत्रकारिता र मिडिया, सफ्टवेयर, ग्राहक सेवा, डिजाइन, डेटा प्रोसेसिङको लागत घट्यो । कुनै समय सुकिला र सुरक्षित मानिने यी काम एआईको जोखिममा परेको भन्दै न्युयोर्क टाइम्सले लेखेको छ, ‘प्रवेश वा प्रारम्भिक तहका काम घट्दा उत्पादकत्व बढेको र मोलतोल क्षमता फेरिएको अवस्था छ ।

प्रविधिमैत्री काम सहज हुँदा परम्परागत र वस्तु उत्पादक उद्योगहरूले भोग्ने चुनौती भने यो वर्ष थपियो । सामान्यतया स्थिर रहने युरोपको उत्पादन क्षेत्र यो वर्ष थप समस्याको सामना गर्न बाध्य देखियो भने चीनलगायत देशमा रहेका घरजग्गा क्षेत्रको चुनौती कायम रहे । कोभिडयता ‘रिमोट’ बनेको कार्यशैली बिस्तारै पूर्ण रूपमा कार्यालयतिर फर्किने दिशामा अघि बढ्यो । ब्लुमबर्गले लेखेको छ, ‘सस्तो ऋण, ठूला भौतिक संरचना र उपभोक्ताको स्थिर व्यवहारअनुरूप स्थापित व्यवसायहरूका लागि वर्ष २०२५ सजिलो थिएन ।

समग्रमा यो साल ठूला प्रविधि र बहुदेशीय कम्पनीहरू, ऊर्जासम्बन्धी व्यवसायी, सुरक्षा र हातहतियारसम्बन्धी व्यवसाय तथा विश्वव्यापी राजनीतिक पहुँच भएका क्षेत्रका लागि फाप्यो । साना निर्यातकर्ता, अधिक श्रममा आधारित उत्पादन, ठूला ऋण भएका क्षेत्र र सीमित आर्थिक विस्तार पहुँच भएका देशको चुनौती बढ्यो । देशहरू, कम्पनीहरू र श्रमिकहरूबीचको असमानता अझै प्रस्ट देखियो । यसले गर्दा समष्टिगत विषयहरूमा तुलनात्मक स्थिरता देखिँदा सूक्ष्म आर्थिक क्षेत्रको तनाव अझै गहिरियो ।

नेपालका लागि वर्ष २०२५ मिश्रित प्रकृतिको रह्यो । अर्थतन्त्रका प्रमुख सूचकांक सकारात्मक देखिँदा राजनीतिक अस्थिरता, आन्दोलनलगायत कतिपय घटनाले बजारको मनोबल खस्किएको विश्लेषण हुने गरेको छ । एसियाली विकास बैंकले २०२५ का लागि नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने प्रक्षेपण गरेकोमा विश्व बैंकले ४.६ प्रतिशत र अन्तर्राष्ट्रिय मुद्रा कोषले ४.३ प्रतिशत रहने अनुमान गरेको छ । अहिलेका लागि १७.४ महिनाको आयात धान्ने गरी विदेशी मुद्रा सञ्चिति साढे ३० खर्ब नाघेको छ भने सर्वसाधारणले खरिद गर्ने वस्तु तथा सेवाको औसत बजार भाउ (उपभोक्ता मूल्य वृद्धिदर) गत कात्तिकमा १.११ प्रतिशत रहेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ ।

वर्ष २०२५ मा बाह्य रूपमा सकारात्मक देखिएको नेपालको अर्थतन्त्रका लागि कर्जा प्रवाह नबढ्नु, प्रत्यक्ष वैदेशिक लगानी अपेक्षाअनुरूप नआउनु, सार्वजनिक ऋण १ खर्बभन्दा बढीले थपिनु, पुँजीगत खर्चमा सुधार नहुनुजस्ता चुनौतीले प्रभावित रह्यो । वर्ष २०२६ तिर लाग्दा आसन्न निर्वाचन र त्यसले दिन सक्ने राजनीतिक स्थिरतालाई नेपालको आर्थिक क्षेत्रले रुचिपूर्वक हेर्नेछ । साथै विश्व अर्थतन्त्रमा बढेको एआई दौड, भूराजनीतिक जोखिम, विश्वव्यापीकरणको खुम्चँदो पहुँच लगायतबाट नेपाली अर्थतन्त्र पनि अछुत रहन सक्नेछैन ।