12/29/2025, 16:43:39
सोमबार, पुष १४, २०८२

कोरला नाका खुलेपछि व्यवसायमा जमेका युवा


मुक्तिनाथ (मुस्ताङ), पुस १४ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –२, छोसेरका २८ वर्षीय पेमा छिरिङ गुरूङले सिकर्मी छोडेर कोरला नाकामा व्यवसाय सुरू गर्नुभयो । छोसेर र लोमान्थाङ क्षेत्रमा सार्वजनिक भवन, व्यक्तिगत घर बनाउन जाने गुरूङ दुई वर्ष अघिदेखि नेपाल–चीन जोड्ने उत्तरी कोरला नाकास्थित दसगजा क्षेत्रमा व्यापार गरिरहनुभएको छ ।

युवा व्यवसायी गुरूङले कोरला नाका घुम्न जानेलाई आफ्नो पसलमा लगेर सामान बिक्री गर्नेदेखि सीमापारी पुगेर सामान खरिद गरी मनग्य आम्दानी गर्नुहुन्छ । गुरूङजस्तै नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालय भदौ महिनाको ३० गतेदेखि व्यावसायिक सञ्चालनमा आएपछि छोसेरकी कुन्साङ गुरूङ, लाक्पा छेचुङ गुरूङ, फुर्बु साङ्मु गुरूङले घरायसी काम छोडेर व्यवसाय सुरू गर्नुभएको छ ।

एकल, परिवार र साथीहरू मिलेर कोरला नाकामा व्यवसाय गर्नेहरूमा करिब ६० प्रतिशत युवा छन् । न्यूनतम ३ लाखदेखि १५ लाखबाट व्यवसाय सुरू गरेका युवाहरूले अहिले पर्यटक तथा विभिन्न स्थानमा सामान बिक्री गरी रहरलाग्दो आम्दानी गर्ने गरेका छन् ।

वैदेशिक रोजगारी, सिकर्मी, डकर्मी, सवारीचालक युवाहरूले रोजगारी पाएका छन् । युवा व्यवसायी गुरूङ भन्नुहुन्छ, ‘‘सिकर्मीबाट कमाएको पैसाले कोरलामा व्यवसाय सुरू गरेको थिएँ, अहिले व्यवसायले मलाई बाटो देखाएको छ ।’’ युवा व्यवसायी गुरूङले घरायसी काम गर्ने, खेतीपाती, मजदुरीमा संलग्न युवाले कोरला नाका खुलेपछि व्यवसायमा लागेको बताउनुभयो । वर्षको ९ महिना कोरला नाकामा व्यवसाय गर्ने युवाहरू अहिले चिनियाँ र स्थानीय उत्पादन लिएर जाडो छल्न पोखरा, काठमाडौं लगायतका क्षेत्रमा गएको युवा व्यवसायी गुरूङको भनाइ छ ।

मङ्सिर, पुस र माघमा चिसोबाट जोगिन जिल्लाबाहिर जाने स्थानीय युवाहरूले घुम्ती व्यवसायबाट समेत राम्रो आम्दानी गर्ने गरेका छन् । कोरला नाकाबाट चिनियाँ बजारमा पुगेर विद्युतीय सवारीसाधन, सामान ढुवानी गर्नेे मालबाहक ट्रक र कन्टेनर लिएर सीमापारि आउने करिब ८० जना मुस्ताङी युवाले रोजगारी पाएको लोमान्थाङ गाउँपालिका –२, का वडा अध्यक्ष एवम् आर्थिक समितिका संयोजक कर्म नाम्ङग्याल गुरूङले बताउनुभयो ।

वडा अध्यक्ष गुरूङले भन्नुभयो, ‘‘कोरला नाकाले युवाहरूलाई व्यवसायी बनाएको छ, अहिले माथिल्लो क्षेत्रमा काम गर्नेलाई रोजगार नै रोजगार छ ।’’ कोरला नाकाबाट चिनियाँ क्षेत्रमा सामान खरिद तथा ढुवानीका लागि मुस्ताङको नागरिकता भएकालाई मात्र प्रवेश अनुमति छ ।

चिनियाँ भन्सार कार्यालयबाट सामान लिएर करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयसम्म ल्याउने चालक बाहेक लोड, अनलोड गर्ने मजदुरले समेत दैनिक न्यूनतम ५ हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

समुद्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा रहेको कोरला नाकामा करिब ५० वटा पसलमा डेढसय जनाभन्दा बढीले व्यवसाय र चिनियाँ भन्सार कार्यालयमा पुगेर सामान खरिद गर्ने गरेको लोमान्थाङ गाउँपालिका –१ छोसेरकी व्यवसायी एवम् महिला वडा सदस्य छिरिङ युटिन गुरूङले बताउनुभयो ।

वडा सदस्य गुरूङले भन्नुभयो, ‘‘विदेशबाट फर्किएका यूवाहरू पनि व्यवसायमा तल्लिन छन्, अब कोरला नाकाले धेरैलाई गाउँमै रोक्छ ।’’ वैदेशिक रोजगारी तथा सवारीसाधन चलाउन जिल्लाबाहिर गएका चालकहरू समेत भन्सार कार्यालयमा आउने विद्युतीय सवारीसाधनसहित अन्य ढुवानीमा राम्रो आम्दानी हुने भएपछि नाकामा केन्द्रित भएका छन् ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले कोरला नाकाले स्थानीयलाई रोजगार र व्यवसायमा सहजता प्रदान गरेको बताउनुभयो । नाका सञ्चालनमा आएपछि स्थानीयको सीप अनुसारको रोजगारी मिलेको भन्सार कार्यालय प्रमुख खड्काको भनाइ छ । कोरला नाकाबाट सामान ढुवानी तथा विद्युतीय सवारीसाधन भन्सार कार्यालयमा ल्याएर जाँचपासपछि एकसय ८६ किलोमिटर दूरीको कोरला–जोमसोम–बेनी सडकखण्ड हुँदै पोखरासम्म लैजाने तथा नाका क्षेत्रमा नेपाली व्यवसायीले समेत स्थानीयलाई नै अवसर दिने गरेका छन् ।

नाकाबाट भन्सार कार्यालयसम्मको १४ किलोमिटर सडक क्षेत्रमा सुनसान भए पनि नेचुङ र कोरला नाका क्षेत्रमा पर्यटकबाहेक भन्सार प्रयोजनका लागि पुगेका र स्थानीयको भिड नै छ । कोरला नाकामा उपल्लो मुस्ताङसँगै तल्लो क्षेत्रबाट र मजदुरीका लागि बाहिरी जिल्लाबाट समेत जान थाले पनि व्यवसायमा भने स्थानीय मात्रै छन् । व्यापार व्यवसायले मुस्ताङीको दैनिकी फेरिएको छ ।

नाकामा चालु आर्थिक वर्ष २०८२–८३ सालको भदौ ३० गतेदेखि चीनको स्वायत्त प्रदेश तिब्बतको झोङवासेन जिल्लाबाट लिजी–नेचुङ (कोरला) बाट नियमित विद्युतीय सवारी साधनसहित अन्य सामान बोकेका कन्टेनरहरू भित्रिएसँगै पुस १० गतेसम्म ५ अर्ब ६ करोड ६२ लाख राजस्व उठाएको छ ।

यो अवधिमा १० अर्ब ८२ करोड ९८ लाख बराबरको सामान आयात तथा १८ करोड ९७ लाख ७८ हजार बराबरको निर्यात भएको छ । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको नाका विसं २०८० को कात्तिक २७ गतेदेखि खुलेको थियो ।

– हरिकृष्ण शर्मा