12/29/2025, 18:23:58
सोमबार, पुष १४, २०८२

समानुपातिक सूची बुझाउने तयारीमा कुलमान घिसिङ


काठमाडौँ, पुस १४ : मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने तयारी गरेको छ । रास्वपाका सभापति रवि लामिछाने  र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसँगको वार्तामा सहमति नजुटेपछि एक्लै बन्दसूची बुझाउने तयारीमा कुलमान घिसिङ  लागेका हुन् ।

आगामी दिनमा रास्वपासँग एकता संवादको बाटो खुला राखेर समानुपातिक बन्दसूची बुझाउने तयारी भइरहेको उज्यालो नेपालका प्रवक्ता राजु थापाले जानकारी दिए । रास्वपा र शाहसँगको छलफल गरेर समानुपातिक सूची तयार पार्ने समय अभाव भएकाले अहिले एक्लै समानुपातिक सूची बुझाउन लागिएको थापाले बताए ।

रास्वपासँग छलफल चलिरहेको छ । तर समानुपातिक बन्दसूची उहाँहरूसँगै बसेर तयार पार्नका लागि समय भएन । संवादलाई निरन्तरता रहने गरी समानुपातिक बन्दसूची एक्लै बुझाउने तयारी गरेका छौं,’  थापाले भने, ‘बन्दसूचीका लागि आफ्नो तयारी गरिरहेका छौं । समानुपातिक सूची आयोगले तोकेको समयभित्र बुझाउने तयारीमा छौं ।

आइतबार साँझ पनि रवि लामिछाने, बालेन्द्र शाह  र मन्त्री घिसिङबीच छलफल भएको थियो । तर सहमति नभएपछि रास्वपासँगै बन्दसूची बुझाउने सम्भावना सकिएको हो । निर्वाचन आयोगले समानुपातिक बन्दसूची बुझाउनका लागि पुस १३ र १४ गतेको समय तोकेको छ ।