हुम्ला, पुस १४ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले हिमाली जिल्ला हुम्लाका २५ वटा मतदान केन्द्रमा अझै हिँडेर पुग्नुपर्ने बाध्यता कायमै छ ।
हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको भए पनि दुर्गमका मतदान स्थल सडकसँग नजोडिएका कारण निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी हिँडेर पुग्नुपर्ने बाध्यता रहेको छ । जिल्लाका सातै गाउँपालिका गरी २५ मतदान स्थल निर्वाचनका बेला खटिने कर्मचारी र सुरक्षाकर्मीले हिँडेर पुग्नुपर्ने अवस्था रहेको जिल्ला निर्वाचन अधिकृत भीमबहादुर रोकायाले बताउनुभयो । सो निर्वाचनका लागि यस पटक हुम्ला जिल्लामा ६० मतदान स्थल निर्वाचन आयोगले कायम गरेको छ । पैदल हिँड्नुपर्ने मतदान स्थलमा आधादेखि छ घण्टासम्म हिँडेर पुग्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको विवरण अनुसार यसरी कर्णाली कोरिडोर र ग्रामीण सडकबाट हिँडेर पुग्नुपर्ने मतदान स्थलमा अदानचुली गाउँपालिकाको कुकुरफाल्ना जलविद्युत् आयोजनाको पावर हाउस र गोठीपाटा सामुदायिक भवन रहेका छन् भने ताँजाकोट गाउँपालिकाको बानादेव मासपुर रहेको छ । यस्तै चङ्खेली गाउँपालिकाको रारा आवि मेखाला र डाँफे आवि नेप्का मतदान स्थल पनि हिँडेर पुग्नुपर्ने अवस्था छ ।

सर्केगाड गाउँपालिकाको सरस्वती मावि जैर, लालीगुराँस मावि लिप्ने, धुम्चुली आवि कल्लास, स्वयम्भु निमावि बराई, ईश्वर आवि छ्यागी, अंशुवर्मा आवि राहदेव, नीलकण्ठ प्रावि फुचा मतदान स्थल पनि हिँडेर जानुपर्ने छ । त्यस्तै सिमकोट गाउँपालिकाको सैपाल हिमाल मावि स्याँडा, खार्पुनाथ गाउँपालिकाको मालिका मावि लालि, शङ्कर आवि थाली, हुम्ला मावि राया, सीता मावि छिप्रा र मान्धारा मावि भकुन्डा, नाम्खा गाउँपालिकाको नमोडोछुम आवि ताङ्गिन, मोतीराम प्रावि खगालगाउँ र हिमालय प्रावि चाला मतदान स्थलमा पनि हिँडेर जानुपर्ने अवस्था रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
नाम्खा गाउँपालिकाकै लिमीका तीन मतदान स्थल सुनखानी प्रावि हल्जी, भृकुटी प्रावि जाङ र हिमशिखर प्रावि तिल मतदान स्थल पनि हिँडेर जानु पर्छ । अहिले न्यालु लेकमा हिमपातले गर्दा सडक अवरुद्ध भएपछि लिमी आउजाउ बन्द भइसकेको छ । लिमीका मतदान स्थलमा कर्मचारी र सुरक्षाकर्मी पुग्न हेलिकोप्टरको आवश्यकता पर्ने भएको छ । अन्य ३५ वटा मतदान केन्द्रमा दुर्गमको जस्तो हिँड्नुपर्ने अवस्था छैन ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











