विसं २०१५ तिरको कुरा हो दार्जिलिङमा आर्ट एकेडेमी खुलिसकेको थियो । त्यतिखेरको दार्जिलिङमा रौनकै अर्कै थियो– इन्द्रबहादुर राई, शिवकुमार राई, अगमसिंह गिरी तथा लख्खीदेवी सुन्दासहरू साहित्यमा नयाँ बाटो खोज्दै थिए भने मनबहादुर मुखिया तथा किरण ठकुरीहरू रङ्गमञ्चमा पाइला नाप्दै थिए ।
त्यति नै बेला आर्ट एकेडेमीमा गोपाल योन्जन बाँसुरी बजाउँथे, शरण प्रधान मेन्डोलिन भने रञ्जित गजमेर तवला । जितेन्द्र बर्र्देवा, अरुणा लामा र दिलमाया खाती गायकीमा निर्लिप्त हुँदा आफैँलाई बिर्सिन्थे । एउटा ख्याउटे ख्याउटे तामाङ केटोले त्यहाँ एक दिन मेन्डोलिनको मेलोडीयुक्त धुनमा यसरी गीत गायो कि त्यहाँ उपस्थित सबै गायक तथा वाद्यवादक छक्कै परे । त्यो ख्याउटे केटो थियो आजको नेपाली सुगम सङ्गीतको मेलोडी गायक तथा सङ्गीतकार कर्म योन्जन ।
२० को दशक पनि टेक्न नपाउँदै कर्मका गीत नेपाली बस्तीमा निकै लोकप्रिय भए । सन् १९३७ अक्टोबर २८ मा बाबु छेसाङ योन्जन र आमा रानीमाया मोक्तानको कोखबाट दार्जिलिङमा जन्मेका कर्म किशोरावस्थादेखि नै गीतमा रमाउन थालेका थिए । ब्रिटिस सरकारको कडा निगरानी रहने कार्यालयका जागिरे पिता भएकाले उनको परिवारमा सङ्गीतको वातावरण पटक्कै थिएन तर बाल्यकालदेखि नै जे काममा हात हाले पनि त्यसलाई फत्ते गर्नुपर्ने स्वभाव र गर्ने काम पनि मुख्य रूपमा सङ्गीत नै भएकाले उनको जीवन आजको अवस्थामा आइपुग्यो ।
वाद्यवादन, सुन्दर स्वरको गायकी र मेलोडियस साङ्गीतिक धुनको परिचय त्यतिबेलै नेपाली सङ्गीत क्षेत्रले पाएको थियो । वरिष्ठ उस्ताद आरबी लामाको गुरुकुलमा शास्त्रीय सङ्गीत अध्ययन गरेपछि उनमा सङ्गीतको सैद्धान्तिक ज्ञानको पनि बढ्यो । सानैदेखि हार्माेनियमको रिडसित खेल्दै गीत गाएर आफ्ना छिमेकीको ध्यान तान्ने उनी भ्वाइलिन र मेन्डोलिन बजाउन थालेपछि त सानो ठाउँ दार्जिलिङमा चर्चाको शिखरमा नै पुगे ।
जर्मनेली भ्वाइलिनवादक मि.इ. स्ट्रिनवर्गको सान्निध्य पाए उनले । जसबाट उनको सिप बढेर गयो । नेपाली सुगम सङ्गीत, लोकसङ्गीत र पाश्चात्य स्वरलिपिको अध्ययनपश्चात् उनी रवीन्द्र सङ्गीतमार्फत भारतीय स्वरलिपिको अध्ययन गर्न पुगेका थिए ।
कर्मका प्रतिनिधि सिर्जनाहरू नोर्देन रुम्बाको शब्द तथा अरुणा लामाको स्वर रहेको ‘फूललाई सोध कता गयो कता गयो भमरा…’, मनबहादुर मुखियाको शब्द र कुमार सुब्बाको स्वर रहेको ‘ए फूल चुँडेर लाने हो यहाँ माली रोएको देख्यौ कि…’, ईश्वरवल्लभको शब्द तथा दिलमाया खाती र कुमार सुब्बाको युगल स्वर रहेको ‘समाल पछ्यौरी यो झरिसक्यो भुइँमा …’, गोपाल योन्जनको शब्द र उनी आफैँसहित दिलमायाको स्वर रहेको युगल गीत ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन आँखा लोभी मन पापी बुझ्दैन तिम्रो मन...’ तथा नारायणगोपालको स्वर, नगेन्द्र थापाको शब्द र कर्मकै सङ्गीत रहेको ‘चिनारी हाम्रो धेरै पुरानो भएझैँ लाग्दछ…’ जस्ता अजम्बरी गीत नेपाली सङ्गीतको जीवन्त युगका स्वर्णिम रचना हुन् ।
आज युट्युबको जमानामा कम्प्युटरले सङ्गीत बनाउँछ र सुनेर आह्लादित हुने गीत/सङ्गीत आँखाले हेरिन्छ । कर्मको जमाना यस्तो थिएन । आजको कम्प्युटर र फेसबुकको पुस्ताले यी गीत बिर्से पनि नेपाली सङ्गीतको इतिहासका यी स्वर्र्णिम नमुना हुन् ।
निकटका नातेदार अर्थात् काकाका छोरा गोपाल योन्जनको गीत लेखन र कर्मको सङ्गीतलाई दार्जिलिङको गोर्खा दुःख निवारक सम्मेलनद्वारा आयोजित प्रतियोगितात्मक नेपाली सङ्गीत सम्मेलनले सन् १९६० मा नै कर्मलाई सर्वप्रथम घोषणा गरेको थियो । गोपाल छ महिनाको छँदा नै उनका बुवाको मृत्यु भएकाले आफ्नी आमासहित स्वयम्को घरमा बस्ने वातावरण नभएपछि उनै कर्मका घरमा बस्ने गर्थे । स्थानीय टर्नबुल स्कुलमा कक्षा ५ मा पढ्दै गर्दाको कुरा हो आइतबार स्कुल छुट्टी हुँदा अन्य साथी गृहकार्य सकेर खेल्न लाग्थे तर कर्म–गोपाल दाजुभाइ भने गाउँका एक जना धनी मान्छेकहाँ रहेको ग्रामोफोनको गीत सुन्न दौडिहाल्थे ।
त्यहाँ जस्ता गीत बज्थे उनीहरू पूरै सुन्थे । अझ मास्टर मित्रसेन थापा र मास्टर रत्नदास प्रकाशको गीत सुनेपछि उनीहरू आह्लादित नै बन्थे । आज पनि कर्म सम्झिन्छन्, उनीहरूको गीतले नै नेपाली सङ्गीतमा आफू यो अवस्थामा आउन सम्भव भएको हो । दाजुभाइ एउटै कोठामा बसेपछि एकै बसाइमा नै गीतमा सुन्दर कम्पोजिसन बन्थ्यो । आफ्नै बारीको निगालो काटेर बाँसुरी बनाई बजाउने भाइ गोपाल योन्जनको खुबीबाट मनमनै अति सन्तुष्ट थिए कर्म ।
कुनै गीतकारले गीत लेखेर सङ्गीतकारलाई दिएपछि उसले सङ्गीतको कम्पोज गर्ने कुरा त साधारण नै भयो तर कर्म र गोपालको जोडी कस्तो थियो भने कर्म कुनै धुनको परिकल्पना गरी हार्माेनियममा ट्युनिङ गर्थे र त्यो धुनमा आधारित रहेर गोपाल गीत लेख्थे । यो चाहिँ कर्म र गोपालको जोडीमा बडो अचम्मको गुण थियो । एक पटक दार्जिलिङमा ठूलो झरी परेको दिन कर्म र गोपालले एकै बसाइमा यस्तो गीत जन्माए जो आज पनि अजम्बरी छ ।

‘सम्झेर बुझेर दिइहाल त्यो जोवन
आँखा लोभी मन पापी बुझ्दैन तिम्रो मन ।’
गोपालको शब्द र कर्मको सङ्गीत रहेको यही गीतले गोर्खा दुःख निवारक सम्मेलनद्वारा आयोजित पहिलो प्रतियोगितात्मक सङ्गीत सम्मेलनमा गीत, सङ्गीत र गायन तिनै विधामा सर्वाेत्कृष्ट स्थान पाएको थियो । शरण प्रधान तथा रञ्जित गजमेरको सङ्गम, जितेन्द्र बर्देवाहरूको सावन जस्ता हस्ती साङ्गीतिक संस्थालाई पछि पार्दै कर्म–गोपालले यो पुरस्कार पाएका थिए ।
कर्मको प्रतिभा यति मात्र होइन त्यो भेगमा जति पनि प्रतियोगितात्मक गीत सम्मेलन भए र कर्मले जतिमा भाग लिए ती सबैमा उनै सर्वोत्कृष्ट भए । यसबाट पनि उनको अद्वितीय गायन क्षमता आकलन गर्न सकिन्छ ।
परिवारमा एक्लो हुँदा पूर्ण रूपमा गीत/सङ्गीतमा होमिएका कर्म सुश्री चम्पा पाख्रिनसित लगनगाँठोमा बाँधिएपछि दुई छोरीका पिता पनि बने । चम्पासितको प्रेमकथा पनि निकै रोचक रहेको कर्म–चम्पा बताउँछन् । म्हेन्दो नामक तामाङ संस्कृतिसम्बद्ध नाटकमा कर्मको सङ्गीत छँदा चम्पाको स्वर गायकी थियो । यही घटनाबाट उनीहरूबीच परिचय भयो । कर्मप्रति ठूलो श्रद्धा र सम्मान भए पनि विवाहको सोचाइ भने कर्मकै जोडले भएको हो भन्छिन् चम्पा ।
सन् १९७० मा उनीहरूबीच मागी विवाह भयो । छ सन्तानमध्येका जेठा उनको सङ्गीतले मात्र चार वटा पेट भरिएन नसक्ने भयो र उनले केही अर्थाेपार्जनको बाटो समाउनु प¥यो । शिक्षाशास्त्रमा स्नातक गर्न उनी कालिम्पोङ पुगे तर त्यहाँबाट बिटी गरी फर्किंदा दार्जिलिङमा कर्मले नसोचेको कुरा भएको रहेछ । त्यो जमानाका चर्चित गीतकार तथा नातामा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका भाइ नगेन्द्र थापा पनि त्यतिबेला दार्जिलिङमा नै पढ्थे सरकारी कलेजमा ।
यस्तो जमाना थियो त्यहाँ साहित्यमा वैरागी काइँला, ईश्वरवल्लभ तथा इन्द्रबहादुर राईले तेस्रो आयामको नाममा बौद्धिक वर्गको ध्यान खिचिरहेका थिए । त्यतिबेला काठमाडौँ र दार्जिलिङबीच सुगम सङ्गीतमा मैत्रीपूर्ण प्रतिस्पर्धा चल्थ्यो । यताका नारायणगोपाल, नातिकाजी, प्रेमध्वज प्रधान, तारादेवी, बच्चुकैलाश, फत्तेमान, पुष्प नेपाली तथा उताका अम्बर गुरुङ गोपाल योन्जन, दिलमाया खाती, अरुणा लामा, शरण प्रधान, रञ्जित गजमेर, कर्म योन्जन, शान्ति ठटाल, डेजी बराइली तथा चन्दन लमजेलबीचको यो मैत्रीपूर्ण साङ्गीतिक प्रतिस्पर्धा वास्तवमा नेपाली सुगम सङ्गीतको अविस्मरणीय कालखण्ड नै थियो ।
नगेन्द्र थापाले यताबाट नारायणगोपाल दार्जिलिङ गएको मौका छोपेर दुई गोपाल नारायणगोपाल र गोपाल योन्जनलाई मितेरी सम्बन्धमा बाँधिदिए । मित लाउनुका साथै नगेन्द्र र नारायणले गोपाल योन्जनलाई काठमाडौँमा नै बस्न जोड गरे । कवि ईश्वरवल्लभलाई साक्षी राखेर तिनको मित लगाइएको थियो र तिनै साक्षी वल्लभले पनि गोपाललाई नेपाल बस्न कर गरेपछि गोपाल काठमाडाँैका आगन्तुक बने ।
यसअघि नै अम्बर गुरुङ राजा महेन्द्रको निम्तामा काठमाडौँ आइसकेका थिए । आफ्नो दिनरातको साथी र नातामा भाइ सदाका लागि नेपालवासी हुन गएपछि निकै दुःखी बने कर्म । यो तोडले केही समय सङ्गीतबाट हराए पनि उनी सङ्गीतकै लागि जन्मेका थिए, क्रमशः सङ्गीतमा नै फिरे । उनलाई पनि नेपाल आउन मन नलागेको होइन । यताका हितैषीले आमन्त्रण नगरेका पनि होइनन् तर आफ्नी एक्ली आमालाई उनी त्यसै छाड्न सक्दैनथे । फेरि सरकारी नोकरी पनि थियो उनको भर्खरै पाएको ।
एक पटक आएर केही महिना बसे पनि । रेडियो नेपालले प्लेटफर्म दिएर केही गीत रेकर्ड गर्ने मौका पनि दिएको हो तर यहाँका रैथानेको भाग यसअघि नै अम्बर गुरुङ, गोपाल योन्जन, लैनसिंह बाङ्देल, हरिभक्त कटुवाल तथा पिटर जे. कार्थक आदिले खोसेको रिस उनलाई फेर्न खोजिएपछि उनी आजन्म दार्जिलिङ नछाड्ने निर्णयमा पुगेका हुन् भनिन्छ । अतः एवं उनी उतै बसे तर अर्थपूर्ण किसिमले नै बसे । जसका कारण सङ्गीत क्षेत्रले त्यो भूभागमा निर्विवाद रूपमा उनको योगदान पाई नै रह्यो ।
रैथानेको यस्तो रवैया भए पनि कर्मले नेपाल र नेपालीलाई सदा श्रद्धाको आँखाले नै हेरे । अवस्था यस्तोसम्म आयो आकाशवाणी खर्साङ नखुल्दै कोलकाता र काठमाडौँको रेडियो नेपालमा उनका गीत रेकर्ड भई रेडियोमा बज्न थालेपछि दार्जिलिङमा रेडियो सेटको बिक्री नपत्याउँदो किसिमले ह्वात्तै बढेको कर्म आज जीवनको नवौँ दशक टेक्न खोज्दा पनि पनि प्रस्ट सम्झिन्छन् ।
सन् १९६१ मा कोलकाताको एचएमभी स्टुडियोमा पहिलो गीत रेकर्ड गर्ने कर्मलाई त्यस कार्यका लागि रचनामा गोपाल योन्जन र स्वरमा दिलमाया खातीले साथ दिएका थिए । अनि देउराली रुन्छ नाटकका सबै गीतमा कुमार सुब्बाको स्वरमा कर्मकै सङ्गीत भिजेको छ । यसको अपार सफलतामा कर्मको मेलोडियस सङ्गीतको आफ्नै महìव रहेको छ ।
राजा वीरेन्द्रको इच्छा र तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्यविक्रम ज्ञवाली र सदस्य लैनसिंह बाङ्देलको प्रयासमा मनबहादुर मुखियाकृत यो नाटक नेपालमा प्रवेश गरेपछि नेपालका सारा सङ्गीतप्रेमी उनीप्रति नतमस्तक हुन पुगे । स्वयम् राजा वीरेन्द्र सपरिवार सो नाटक हेरेपछि निकै प्रसन्न भएर सो नाटकको साङ्गीतिक पक्षमाथि चासो दिँदै आफूसित प्रभावित भएको कर्म बताउँछन् ।
हुन पनि हो स्वयम् मनबहादुर स्विकार्छन् कर्मको सङ्गीत नभएको भए अनि देउराली रुन्छ नाटकले यस्तो विराट् सफलता पाउने कल्पना पनि गर्न सकिँदैनथ्यो । चार सयजति मेलोडीयुक्त गीतमा सङ्गीत संयोजन गरेका कर्मबाट २२ नाटकमा धुन भर्ने काम भएको छ । त्यो बेलाको दार्जिलिङ भेगमा नेपाली भाषाको प्रचारप्रसार कार्यमा उनका गीतिरचनाले सार्थक भूमिका खेलेका छन् ।
नेपालबाट वीरेन्द्र शुभराज्याभिषेक पदक तथा छिन्नलता पुरस्कारबाहेक खासै सम्मान र पुरस्कार नपाए पनि हिमालयन कला मन्दिर दार्जिलिङ, पश्चिम बङ्गाल सरकार तथा सिक्किम सरकारबाट उनले धेरै सम्मान र पुरस्कार पाएका छन् । पहिलो पटक नै सिक्किम सरकारले उनलाई मित्रसेन पुरस्कार दियो । यसबाट पनि उनको सङ्गीतप्रतिको अनवरत् सेवाको सार्थक परिचय प्राप्त हुन्छ । उनको सङ्गीतमा जजसले गीत गाए ती सदाबहार गीत भएका छन् । गायकहरू सदाबहार भएका छन् ।
बोलाउँ भने तिमीलाई बात लाग्ने डर
नबोलाउँ त तिम्रो प्रीतको पाप लाग्ने डर
यस्तो अजम्बरी र सदाबहार गीतका सर्जक बद्री–दुर्गा खरेलमध्येका एक दुर्गा खरेल कर्मलाई दार्जिलिङका मेलोडी किङ मान्दछन् । उनी भन्छन्, “कर्मको सङ्गीत कानले सुन्ने त छँदै छ श्रवणपछि उनको गीतले मुटु छुन्छ ।”
त्यो भेगका प्रसिद्ध सङ्गीतकार मणिकमल क्षेत्री कर्मले नेपालको प्लेटफर्र्म सधैँ प्रयोग गर्न पाएको र नेपालले उनको प्रतिभालाई राम्ररी चिन्न सकेको भए कर्म अम्बर गुरुङकै हाराहारीका प्रतिभामा दरिने ठोकुवा गर्दछन् ।
नेपाली चलचित्रका क्षेत्रमा मात्र एउटा सिनेमा कहीँ अँध्यारो कहीँ उज्यालोमा उनको गायन प्रयोग भएको थियो तर दुर्भाग्य त्यो सिनेमा त्यति चलेन र नेपालका सिनेमाहलमा पनि आइपुगेन । स्वरसम्राट नारायण गोपाल सांस्कृतिक संस्थानको महाप्रबन्धक छँदा दार्जिलिङको साङ्गीतिक टोलीसँगै नेपालमा ‘स्मृतिका कोसेली हाम्रा गीतहरू’ नामक कार्यक्रम प्रस्तुत गरेका कर्मलाई त्यसपछि यस्तो अवसर जुरेको पाइन्न ।
दुई छोरी घरजम गरी आफ्नै संसारमा भुलिरहेका बेला कर्म–चम्पा दम्पती हाल अवकाशप्राप्त बुढ्यौली जीवन सिलिगुडीमा व्यतीत गरिरहेका छन् । केही वर्षअघि भएको गोर्खाल्यान्ड आन्दोलनताका पश्चिम बङ्गाल तथा केन्द्र सरकारले नेपाली भाषाप्रति गरेको गलत रवैयाका कारण साहित्यकार कृष्णसिंह मोक्तानसहित कर्मले बङ्गाल सरकारले दिएको सम्मान तथा नगद पुरस्कार सार्वजनिक रूपमै सरकारलाई फिर्ता गरेका थिए ।
उनका समकालीन सहकर्मीहरू चन्दन लमजेल, डेजी बराइली तथा शान्ति ठटाललगायत थोरै मात्र बाँकी छन् । यद्यपि कर्म आज पनि नयाँ पुस्ताको सङ्गीतका जिज्ञासुलाई साङ्गीतिक ज्ञान दिन लालायित छन् ।
– कमल सुवेदी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












