12/28/2025, 22:46:38
आइतबार, पुष १३, २०८२

पार्टीको वरीयता रास्वपा केन्द्रीय समितिमा छलफल गरेर तय हुन्छ : उपसभापति अर्याल


काठमाडौँ, पुस १३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच आइतबार बिहान ७ बुँदे सहमति भयो । बालेन आसन्न निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनेर रास्वपामा भित्रिएका छन् भने पार्टीको सभापति रवि लामिछाने हुने उल्लेख छ ।

प्रधानमन्त्रीको उम्मेदवार र फागुन २१ पछि हुने प्रतिनिधिसभा निर्वाचनबाट आएको संसदीय दलको नेता बालेन हुने सहमति पत्रमा उल्लेख छ । बालेन रास्वपाबाट प्रधानमन्त्री उम्मेदवार बन्ने र आगामी संसद्‌मा पार्टी संसदीय दलको नेता बन्ने सहमतिपछि उनको वरीयता रास्वपामा के हुने भन्ने जिज्ञासा उठेको छ ।

रास्वपामा अहिले सभापति लामिछानेपछिको वरीयतामा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले छन् । आगामी दिनमा रास्वपाको वरीयता पार्टी केन्द्रीय समितिको बैठक बसेर तय हुने उपसभापति अर्यालले बताए ।

बालेन शाहलाई दोस्रो वरीयता दिनेबारे छलफल भएको छ कि छैन ? भन्ने प्रश्नको जवाफमा उपसभापति अर्यालले भने, ‘राष्ट्र, राष्ट्रियता र जनजीविकाको विषयमा जस्तोसुकै पनि त्याग गर्न भनेर राजनीतिमा आएका हौं । त्यसकारणले हामीलाई यस्ता मर्यादा, रोलक्रमले हामीलाई फरक पार्दैन । यसको कुनै मूल्य हुँदैन । मूल्य त्यसको हुन्छ हामीले के डेलिभरी गर्छौं, जनतालाई मूल्य त्यसको हुन्छ । तपाईंले भनेको विषयचाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति छ त्यहाँ छलफल हुन्छ । त्यहाँ बसेर त्यसो हुने कुरा हो । यो मैले चाहेर अथवा कोहि एक जनाले चाहेर हुने कुरा होइन ।

यसअघि स्वर्णिम वाग्ले रास्वपामा प्रवेश गरेपछि पार्टी स्थापनाकालका उपसभापति अर्यालपछिको वरीयतामा राखिएको थियो ।

त्यस्तै, उपसभापति अर्यालले उज्यालो नेपालसँग पार्टी एकताबारे छलफल चलिरहेको बताए । मन्त्री तथा उज्यालो नेपालका संरक्षक घिसिङसहित नयाँ शक्तिका सबै नेतासँग एकताका लागि संवाद भइरहेको उनको भनाइ थियो । पार्टीमा क्षमतावान् व्यक्तिहरूलाई समेट्ने र आगामी निर्वाचनमा उम्मेदवार बनाउने पनि उनले बताए ।