सौराहा, चितवन, पुस १४ : अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकको उपस्थितिले सौराहाका व्यवसायी उत्साहित बनेका छन् । अहिले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ । विगतका वर्षमा यो समयमा कमै पर्यटक हुन्थे । जसले गर्दा होटल व्यवसाय जसो-तसो चलाउनुपर्ने बाध्यता आइलाग्थ्यो । केही वर्षअघिसम्म पनि यो बेला सौराहाका साना तथा ठूला होटलहरूमा पर्यटकको उपस्थिति निकै कम हुने गर्थ्यो ।
यस वर्ष पर्यटकको उपस्थिति राम्रो रहेको पर्यटन व्यवसायी एवं होटल मोनालिसाका सञ्चालक केशव खनाल बताउँछन् । ‘गत वर्ष यो समयमा पर्यटकको अकुपेन्सी ५० प्रतिशतसम्म मात्रै थियो,’ उनले भने, ‘केही दिनयता मेरो होटलको अकुपेन्सी शतप्रतिशत हाराहारी छ ।’
विदेशी पर्यटकका लागि यतिबेला अफ सिजन हो । यो बेला उनीहरूले आफ्नै देशमा क्रिसमस र नयाँ वर्ष मनाउँछन् । उनीहरूलाई आकर्षित गर्न २०५५ सालदेखि सौराहामा हात्ती दौड प्रतियोगिता सुरु गरिएको थियो । विभिन्न उतारचढावबीच यसलाई परिमार्जन गर्दै अहिले हात्ती तथा पर्यटन महोत्सवका नामबाट आयोजना गरिन थालिएको छ ।

यही महोत्सवका कारण यो बेला सौराहामा आन्तरिक तथा विदेशी पर्यटकको संख्या बाक्लिँदै गएको हो । ‘होटलमा ४४ वटा रुम छन्, केही दिनयता शतप्रतिशत रुम बुकिङ छन्, पोहोरको तुलनामा अहिले धेरै राम्रो भएको छ,’ पर्यटन व्यवसायी खनालले भने । अंग्रेजी नयाँ वर्षको अन्त्यतिर कुनै बेला सौराहामा कत्ति पनि पर्यटक आएनन् । हात्ती महोत्सवमा सुनिँदै आइरहेको विरोधको स्वरलाई ध्यानमा राखेर हात्तीलाई दुःख नदिने किसिमले महोत्सव आयोजना हुन थालेपछि अहिले पर्यटकको उपस्थिति थप बढेको क्षेत्रीय होटल संघ सौराहा (हान) का अध्यक्ष ओम पाण्डे सुनाउँछन् ।
‘सौराहाको पर्यटन नै हात्तीसँग जोडिएको छ, हामीले हात्तीलाई दुःख नदिई कार्यक्रम गर्दा पर्यटक आकर्षित भएका छन्,’ अध्यक्ष पाण्डेले भने, ‘अहिले सौराहामा ८० देखि ९० प्रतिशत होटलको अकुपेन्सी छ ।’ हात्ती तथा पर्यटन महोत्सवकै कारण सौराहामा यो समयमा पर्यटक बढेको उनको दाबी छ । ‘केही दिनयता होटल भरिभराउ छन्, स्वदेशी तथा विदेशी पर्यटकको संख्या उल्लेखनीय देखिएको छ, अंग्रेजी नयाँ वर्षपछि पनि पर्यटक यस्तै देखिनेमा आशावादी छौं,’ उनले भने ।
जेन–जी आन्दोलनपछि सौराहा लगायत पर्यटकीय क्षेत्रमा भारत लगायत मुलुकबाट आउने पर्यटक संख्या ह्वात्तै घटेको थियो । अहिले हात्ती महोत्सवसँगै पर्यटक बढेको अनुभूति गर्छन् पुराना पर्यटन व्यवसायी वासु ढुंगाना । ‘अहिले चिनियाँ र विदेशी पर्यटक उल्लेखीय बढ्न सकेका छैनन् तर भारतीय र स्वदेशी पर्यटक निकै बढेका छन्,’ उनले भने । पर्यटकमा सौराहाको राम्रो छाप छाड्न सके मात्र पर्यटक आवागमन बढ्ने उनको भनाइ छ । ‘यो महोत्सवले वर्षभर सौराहामा पर्यटक भित्र्याउन महत्त्वपूर्ण प्रचारप्रसारको काम भएको छ,’ उनले भने, ‘आगामी फेब्रुअरीदेखि अझै पर्यटक बढ्नेमा विश्वस्त छौं ।’

यही महोत्सवमा पर्यटकको उपस्थितिले नेपाल सुरक्षित र राम्रो रहेको सन्देशसमेत गएको व्यवसायी बताउँछन् । सौराहाका होटलको सञ्चालन खर्च धान्न कम्तीमा ३० देखि ३५ प्रतिशत होटलको अकुपेन्सी आवश्यक छ । अहिले यो धान्ने अवस्थामा पुगेको छ । यो हात्ती तथा पर्यटन महोत्सवका कारण सौराहा आउने ८० देखि ९० प्रतिशत पर्यटक बढेकाले व्यवसायी उत्साहित छन् ।
‘अहिले पर्यटकको आगमन राम्रो देखिँदा यो बेला सौराहाको पर्यटन व्यवसायमा करिब ५ करोड बढीको कारोबार हुने अनुमान छ,’ क्षेत्रीय होटल संघ सौराहाका महासचिव महेश खनालले भने, ‘अहिले साना तथा ठूला होटल र रेस्टुराँ चलायमान बनेका छन्, गुमेको रोजगारी फर्किएको छ, बैंकको ब्याज तिर्न सकिन्छ भन्ने आशा पलाएको छ ।’
स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न क्षेत्रीय होटल संघ, सौराहाले हात्ती दौड प्रतियोगिताबाट सुरु गरेको कार्यक्रमलाई अहिले पर्यटन महोत्सवका रूपमा अघि बढाएको हो । तीन दिन चलेको हात्ती तथा पर्यटन महोत्सव आइतबार सकिएको छ । महोत्सवमा हात्तीको रोमाञ्चक क्रियाकलाप हेर्न स्वदेशी तथा विदेशी पर्यटक सौराहा आउँछन् । उनीहरूको बसाइ लम्बिँदा पर्यटन क्षेत्र लाभान्वित बन्ने गरेको छ । महोत्सवमा स्थानीय खानाका परिकार र कृषि उपजसहितका १५ वटा स्टल राखिएका थिए । पर्यटकले महोत्सव अवधिभर विभिन्न खानाका परिवार चाख्ने अवसरसमेत पाए ।
सौराहा आउने पर्यटकले स्थानीय सामुदायिक वन र चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी गर्ने गरेका छन् । विदेशी पर्यटक जंगल वाकमा समेत रमाउने गरेका छन् । हात्ती चढेर सफारी गर्न चाहने पर्यटकलाई सामुदायिक वनमा घुमाउने गरिएको छ । पर्यटकहरूलाई आकर्षित गर्न डुंगा सफारीका नयाँ रुटसमेत सञ्चालन गरिएको छ । सौराहामा हाल साना–ठूला गरेर करिब १ सय ३० होटल सञ्चालनमा छन् ।
– राजु चौधरी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















