01/17/2026, 12:58:11
शनिबार, माघ ०३, २०८२

मनास्लु क्षेत्रमा विदेशी पर्यटकको चहलपहल


सुलीकोट, माघ ३ गते । चिसो मौसम सुरु भएसँगै देशका धेरै पर्यटकीय गन्तव्य सुनसान बन्दै गएका बेला विश्वप्रख्यात उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु संरक्षण क्षेत्रमा भने विदेशी पर्यटकको चहलपहल बढेको छ । हिमाली भेगमा कठ्याङ्ग्रिने जाडो, हिमपात र चिसो हावाका बाबजुद पनि आन्तरिक तथा बाह्य पर्यटकको निरन्तर आवागमनले मनास्लु क्षेत्रको पर्यटन गतिविधि चलायमान बनेको छ ।

उत्तरी गोरखाको मनास्लु हिमाल, लार्के पास, बुढीगण्डकी उपत्यका, तिब्बती संस्कृतिले भरिएका बस्ती तथा अनुपम प्राकृतिक दृश्यावलोकनका कारण जाडो याममा समेत पर्यटक आकर्षित भएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) गोरखाका सूचना अधिकारी भुवन ओझाले बताउनुभयो ।

blog

विशेषगरी साहसिक पदयात्रा मन पराउने विदेशी पर्यटकका लागि जाडो मौसम चुनौतीपूर्ण भए पनि रोमाञ्चक हुने भएकाले मनास्लु संरक्षण क्षेत्रमा उनीहरूको आकर्षण बढ्दै गएको एमक्याप गोरखाले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष जाडोयाममा आउने पर्यटकको संख्या वृद्धि भएको सूचना अधिकारी ओझाले बताउनुभयो । उहाँका अनुसार मनास्लु सर्किट ट्रेकिङ  विश्वकै उत्कृष्ट ट्रेकिङ गन्तव्यहरूमध्ये एकका रूपमा चिनिँदै गएकाले वर्षभरि नै पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

हिमालपारिको चुमनुब्री गाउँपालिका क्षेत्रका होटल, होमस्टे तथा लजहरूमा जाडोयाममा पनि पर्यटकको चहलपहल बढिरहेको साम्दोका होटल व्यवसायी निमा दोर्जेले बताउनुभयो । जाडोमा पनि पर्यटक आउँदा आम्दानीको स्रोत निरन्तर रहनुका साथै स्थानीय रोजगारीमा समेत सकारात्मक प्रभाव परेको उहाँको भनाइ छ ।

गत वर्षको पुस महिनामा विदेशी पर्यटक लगभग शून्यजस्तै रहेको स्मरण गर्दै साम्दोका अर्का होटल सञ्चालक फुर्जा दोर्जे लामाले यस वर्ष भने पुस महिनामै विदेशी पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेकाले होटल तथा होमस्टे बन्द गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

पर्यटन व्यवसायीहरूले सुरक्षित यात्रा, अनुभवी गाइड तथा आवश्यक तयारीका साथ मनास्लु क्षेत्र भ्रमण गर्न पर्यटकलाई आग्रह गरेका छन् । पर्यटन व्यवसायी सानेबहादुर गुरुङका अनुसार यसले पर्यटकको सुरक्षासँगै क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ ।

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय गोरखाका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि पुस मसान्तसम्म ६ हजार पर्यटकले क्षेत्र भ्रमण गरेका थिए । चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा भने विदेशी पर्यटकको संख्या बढेर ९ हजार ३६० पुगेको छ । तीमध्ये ५ हजार २९७ पुरुष र ४ हजार ६१ महिला रहेका छन् ।

त्यस्तै, सो अवधिमा २५० नेपाली पर्यटकमध्ये २१९ पुरुष र ३१ महिला मनास्लु संरक्षण क्षेत्रमा पुगेका सूचना अधिकारी ओझाले जानकारी दिनुभयो ।

प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक यात्राको संगमका रूपमा परिचित उत्तरी गोरखाको मनास्लु क्षेत्र जाडोयाममा पनि पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय गोरखाका प्रमुख सन्तोष सेरचनले बताउनुभयो ।

– गुणबहादुर रोका