01/03/2026, 18:38:59
शनिबार, पुष १९, २०८२

भेडेटारमा आएनन् अपेक्षित पर्यटक


पाख्रीबास, (धनकुटा) पुस १९ गते । विगतका वर्षको तुलनामा यस वर्ष अङ्ग्रेजी नयाँ वर्षका अवसरमा धनकुटाको भेडेटारमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या घटेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी भेडेटारमा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा १३ औँ भेडेटार फुड फेस्टिभलको आयोजना गरियो तर अपेक्षा गरे अनुसार पर्यटन नआएको होटेल एसोसिएसन भेडेटारका अध्यक्ष तुमरा लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “जति पर्यटक आउँलान् भन्ने अपेक्षा गरिएको थियो त्यसको ६० प्रतिशत मात्र आए । गत वर्ष भेडेटारमा आन्तरिक तथा भारतीय पर्यटकको घुइँचो लाग्ने गरेको थियो ।

होटेल एसोसिएसन अफ भेडेटारले २०६९ सालदेखि हरेक वर्ष पर्यटक भिœयाउने उद्देश्यले फुड फेस्टिभलको आयोजना गर्दै आएको छ । कोभिड–१९ पछि थला परेको व्यापार व्यवसायको असर भेडेटारमा अझै सुधार नभएको होटेल एसोसिएसन भेडेटारका अध्यक्ष लिम्बू बताउनुहुन्छ । कोभिड–१९ अगाडि भने भेडेटारमा अङ्ग्रेजी नयाँ वर्षमा भारतबाट घुम्न तथा रमाइलो गर्न हजारौँ पर्यटक आउने गर्थे । त्यसपछि थला परेको व्यापार व्यवसाय अझै ब्यँुतिन नसकेको होटेल व्यवसायी बताउँछन् । छिनछिनमै मौसम परिवर्तन हुने विशेषता रहेको भेडेटारमा भारतीय पर्यटक कम मात्रामा मात्रै देखिएका छन् ।

त्यसो त पर्यटकलाई आकर्षण गर्न भेडेटारको स्काई वाल्क समेत सञ्चालन गरिएको छ । यस्तै नमस्ते झरना, नाम्जे, डाँडाबजारको ध्वजेडाँडा, चौबिसे गाउँपालिकाको रानीताल लगायतका पर्यटकीय स्थल पर्यटकका लागि घुम्ने ठाउँ रहेका छन् । भेडेटार तथा आसपासका क्षेत्रमा होटेल व्यवसाय पर्यटक कम आउँदा सुनसान जस्तै रहेका छन् । त्यसो त तराईमा चिसो बढेसँगै आन्तरिक पर्यटक कम आएको होटेल व्यवसायीको भनाइ छ ।

सधैँ जसो चिसो रहने भेडेटारमा गर्मीको समयमा भने उल्लेखनीय रूपमा पर्यटक आउने गर्छन् । जाडो याममा भेडेटार आउने पर्यटकको सङ्ख्या घट्न नदिन र नयाँ वर्षमा रमाउन चाहने पर्यटकलाई आकर्षित गर्न भेडेटारमा फुड फेस्टिभलको आयोजना गर्ने गरिएको छ तर अपेक्षा गरे अनुरूप भारतबाट नयाँ वर्ष मनाउन भारतीय पर्यटक नआएका कारण होटेल व्यवसायी निराश बनेका छन् ।

भारत वा तराईबाट पडाडको टुप्पोमा रहेका भेडेटार आउन बाटोको सुविधा राम्रो र छोटो दुरी भएकाले पर्यटकको रोजाइँमा पर्ने गरेको छ । पूर्वी नेपाल आएपछि भेडेटारका बारेमा सुनेपछि प्रत्यक्ष रूपमा अवलोकन गर्न र यहाँको मनोरम दृश्यावलोकन गर्न आइपुग्ने गरेका छन् । महोत्सवमा आउने पर्यटकलाई साँगुरीगढी गाउँपालिकाभित्र रहेको साँगुरीगढी, पाथीभरा मन्दिर, शङ्खेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झरना, शैलुङ डाँडा, आत्म बस्ने घर थुम्की, बौद्ध विहार, गुम्बा, ध्वजेडाँडा अजङ्गको वरको रुख लगायतका पर्यटकीय स्थल रहेका छन् ।

फुड फेस्टिभलले ओझेलमा परेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक परम्परागत तथा पर्यटकीय स्थलको प्रचारप्रसार हुने छ । फेस्टिभलमा करिब दुई करोड ५० लाख बराबरको आर्थिक कारोबार तथा ५० देखि ६० हजार पर्यटक भिœयाउने लक्ष्य राखेको थियो ।

समुद्री सतहदेखि एक हजार ४२० देखि एक हजार ७०५ मिटर उचाइमा रहेको भेडेटार गर्मी छल्ने उपयुक्त गन्तव्य बन्ने गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्था सिएनएनले भेडेटारको नाम्जे बजारलाई १२ औँ गन्तव्यमध्ये पाँचौँ गन्तव्यमा राखेपछि यहाँको पर्यटकीय चर्चा चुलिएको थियो ।