रामेछाप, माघ १५ : रामेछापको शैलुङ क्षेत्रमा यस वर्ष मध्य माघमै हिउँ पर्न थालेको छ । लामो समयदेखि वर्षा नहुँदा सुख्खा बढिरहेको अवस्थामा बुधबार बिहानदेखि शैलुङका डाँडामा हिमपात सुरु भएको हो ।
हिउँ परेसँगै स्थानीय कृषकहरू खुसी भएका छन् । खेतबारीमा आवश्यक चिस्यान पुग्ने र उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवा निवासी स्थानीय कृषक दावासाङ्बु शेर्पाका अनुसार हिउँ बिस्तारै पग्लिँदा माटोभित्र पर्याप्त पानी सञ्चित हुने भएकाले सिँचाइको समस्या कम हुने विश्वास गरिएको छ ।
‘हिउँले माटोको उर्वराशक्ति बढाउँछ, बालीमा लाग्ने कीरा तथा रोगको जोखिम घट्छ,’ उनले भने, ‘यस पटकको हिमपातले कृषकहरूलाई नयाँ आशा र उत्साह दिएको छ।’ अहिले भारी मात्रा हिउँ नपरे पनि हिउँ झर्ने क्रम बढिरहेकाले राति झन् धेरै हिउँ पर्ने सम्भावना रहेको उनले बताए ।

शैलुङ क्षेत्रमा आलु, गहुँ, जौ, उवा तथा मौसमी तरकारीको राम्रो उत्पादन हुँदै आएको छ । हिउँ नपरेको वर्ष आलुको उत्पादन घट्ने भएकाले हिमपातसँगै यस वर्ष राम्रो उत्पादन हुने आशा गरिएको कृषकहरू बताउँछन् ।
हिमपातपछि शैलुङका डाँडा सेताम्मे र मनोरम देखिएका छन् । हिउँ खेल्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको स्थानीयको भनाइ छ ।
– नवराज श्रेष्ठ
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








