काठमाडौं, माघ १५ गते । निरन्तर बढ्दै गएको सुनको मूल्यले बुधबार फेरि नयाँ रेकर्ड कायम गरेको छ ।
मङ्गलबार तीन लाख नौ हजार तीन सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलामा नौ हजार पाँच सय रुपियाँले बढेर तीन लाख १८ हजार आठ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । माघ लागेसँगै सुनको मूल्य अस्वाभाविक रूपमा बढ्दै गएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य पाँच हजार २७२ अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति, भूराजनीति, आर्थिक तनाव, केन्द्रीय बैङ्कले डलरको सट्टा सुनको सञ्चिति बढाउँदै जानुलगायतका कारणले सुनको मूल्य निरन्तर बढ्दै गएको हो ।

निरन्तर मूल्य बढ्दै गएपछि उपभोक्ता र व्यवसायीलाई प्रत्यक्ष असर परेको छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले मूल्य बढ्दा बजारमा माग नभई सुनचाँदीको कारोबार ठप्प भएको जानकारी दिनुभयो । सुनको मूल्य बढेर केही दिनमै तीन लाख ५० हजार पुग्ने देखिएको उहाँको भनाइ छ । बजारमा सुनको बिक्री हुन छोडेपछि वाणिज्य बैङ्कले सुन आयात गर्न छाडेका छन् । विभिन्न वाणिज्य बैङ्कसँग हाल १३८ किलो सुन मौज्दात रहेको नेपाल बैङ्कर्स एसोसिएसनले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि तोलामा सात हजार रुपियाँ नाघेको छ । मङ्गलबार छ हजार ८७० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर सात हजार तीन सय रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस चाँदीको मूल्य ११२ अमेरिकी डलर पुगेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










