01/05/2026, 09:54:28
सोमबार, पुष २१, २०८२

एक वर्षमै साढे छ लाख पर्यटकले गरे बन्दीपुर भ्रमण

एक वर्षको अवधिमा ६ लाख ३५ हजार स्वदेशी तथा विदेशी पर्यटकले बन्दीपुरको भ्रमण गरेका छन् । यो सङ्ख्या बन्दीपुरको पर्यटन इतिहासमै अहिलेसम्मकै उच्च हो ।


तनहुँ, पुस २० गते । तनहुँको पर्यटकीय नगरी बन्दीपुरले पर्यटन क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ । बन्दीपुरको प्राकृतिक सौन्दर्य र मौलिक सम्पदालाई विश्वसामु चिनाउने उद्देश्यले सञ्चालित अभियानका कारण एक वर्षको अवधिमा ६ लाख ३५ हजार स्वदेशी तथा विदेशी पर्यटकले बन्दीपुरको भ्रमण गरेका छन् । यो सङ्ख्या बन्दीपुरको पर्यटन इतिहासमै अहिलेसम्मकै उच्च हो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुरको मौलिक नेवारी बस्ती, ऐतिहासिक बजार, हिमाल अवलोकन बिन्दु, सिद्ध गुफा र पदमार्गलाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउन स्थानीय समुदाय र पर्यटन व्यवसायीको एकता सफल भएको बताउनुभयो । अध्यक्ष थापाका अनुसार अब बन्दीपुरलाई वर्षभरि नै उत्सवमय बनाउँदै हरेक महिना पर्यटकका लागि विशेष आकर्षण प्रदान गर्ने दीर्घकालीन लक्ष्य लिइएको छ ।

पर्यटक आगमनको तथ्याङ्क अनुसार एक वर्षमा भित्रिएका कुल पर्यटकमध्ये चार लाख ५३ हजार जनाले बन्दीपुरमै बास बसेका छन् भने दुई लाखभन्दा बढी पर्यटक एकदिने भ्रमणका लागि आएका थिए । बन्दीपुर भ्रमण वर्ष–२०२५ का संयोजक बैसबहादुर गुरुङका अनुसार सुरुमा वार्षिक दुई लाख पर्यटक बास बस्ने लक्ष्य राखिएकोमा सोभन्दा दोब्बर बढी पर्यटक भित्रिनु बन्दीपुरका लागि ठुलो सफलता मानिएको छ । बास बस्ने पर्यटकमध्ये करिब एक लाख विदेशी र चार लाख आन्तरिक पर्यटक रहेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले पर्यटकको यो अभूतपूर्व आगमनले स्थानीय अर्थतन्त्र, होमस्टे र होटल व्यवसायमा ठुलो टेवा पुगेको उल्लेख गर्नुभयो । पर्यटनलाई स्थानीय महिला र समुदायको आयआर्जनसँग जोडेर अझ दिगो बनाउने योजनामा गाउँपालिका अघि बढेको उहाँले बताउनुभयो । त्यस्तै, बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले यहाँको ढुङ्गाले छापिएको बजार, गुरुङ–नेवारी संस्कृतिको मिश्रण र उत्कृष्ट आतिथ्यताले पर्यटकलाई बारम्बार फर्केर आउन प्रेरित गरेको बताउनुभयो ।

अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागतका लागि आयोजित सांस्कृतिक कार्यक्रमहरूले बन्दीपुरमा अहिले पनि पर्यटक र स्थानीयमा छुट्टै उत्साह थपेको छ । वडा नम्बर ३ का अध्यक्ष परमेश्वर भट्टराई लगायत पर्यटन विज्ञहरूले बन्दीपुरको पूर्वाधार विकास र दिगो पर्यटन प्रवर्धनमा सबैको सहकार्य गरिएको बताउनुभयो ।

– अमरराज नहर्की