02/20/2026, 00:15:02
बिहिबार, फागुन ०७, २०८२

क्रान्तिको आधारभूमिलाई अब विकासको नमुना बनाउँछौँ : प्रचण्ड


काठमाडौँ, फागुन ७ : नेकपा संयोजक पुष्पकमल दाहालले रुकुम पूर्वको सिस्ने गाउँपालिकाका विभिन्न स्थानमा जन-भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्दै यस क्षेत्रलाई क्रान्तिको आधारभूमिबाट विकासको नमुना जिल्लामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिस्ने गाउँपालिकाको खुपिचार, खारा, भीङ, पोखरा, सिस्नेरी र धपेमा आयोजित कार्यक्रममा उनले जनयुद्धकालीन स्मृतिहरू सम्झँदै रुकुम–रोल्पा आफ्नो राजनीतिक कर्मथलो रहेको बताए । ‘रुकुमपूर्व मेरो लागि नयाँ ठाउँ होइन। म ४१ वर्ष पहिले नै यहाँ आएको थिएँ। रुकुम–रोल्पा मेरै नेतृत्वमा भएको जनयुद्धको आधार इलाका हो। यहीँबाट मैले क्रान्तिको नेतृत्व गरेँ,’  प्रचण्डले भने ।

संयोजक प्रचण्डले रुकुमपूर्वलाई आफ्नो अर्को कर्मथलोको रूपमा उल्लेख गर्दै यहाँ आउँदा नयाँ ऊर्जा प्राप्त भएको बताए। जनतासँगको भेटघाटलाई उनले विजय उत्सवसँग तुलना गरे । ‘कतै भव्य जुलुस छ, कतै पञ्चेबाजा बजेका छन्। मत माग्न होइन, विजय उत्सव मनाइरहेको जस्तो लाग्छ,’ प्रचण्डले भने ।

प्रचण्डले भदौ २३ को घटनामा युवाको हत्या गर्ने शक्ति, भदौ २४ मा आगजनी र विध्वंस मच्चाउने शक्ति र सुशासन, गणतन्त्र तथा शान्तिको पक्षमा उभिएको शक्ति बीच जनमत संग्रह हुने उल्लेख गरे । ‘मान्छे मार्नुहुन्न, आगो लगाउनु हुन्न, भ्रष्टाचारको अन्त्य गर्नुपर्छ भन्ने प्रवृत्तिलाई जिताउने कि हिंसा र विध्वंसलाई जिताउने भन्ने फैसला जनताले गर्नेछन्,’ उनले भने ।

भौतिक कठिनाइका बाबजुद जनताबीच पुग्दा आफूले नयाँ ऊर्जा प्राप्त गरेको बताउँदै दाहालले रुकुम पूर्वलाई विकासको नमुना जिल्ला बनाउने प्रतिबद्धता जनाए ।