सर्लाही, फागुन ७ गते । सर्लाहीको बाँके–सङ्ग्रामपुर सडकखण्डअन्तर्गत खीला गाउँ नजिक बुधबार राति तीनवटा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।
ईश्वरपुर नगरपालिका–१३ स्थित ईश्वरपुर नगरपालिका र हरिपुर्वा नगरपालिकाको सीमामा भएको दुर्घटनामा हरिपुर्वा नगरपालिका–९, मिर्चैयाका ३० वर्षका मुकेश राय र ३० वर्षकै रामज्ञान रायको मृत्यु भएको हो । बुधबार राति करिब ८ बजे खिला गाउँ नजिकै भारतीय नम्बर प्लेटका तीनवटा मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा रहेको जानकारी पाएपछि प्रहरी चौकी गौरीशङ्करबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरी पुग्दा बीआर ३० एआर ३४५८, बीआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिनुभयो । दुर्घटनास्थलबाट प्रहरीले गम्भीर घाइते अवस्थामा रहेका मुकेश राय र रामज्ञान रायलाई उद्धार गरी उपचारका लागि मोडेल अस्पताल लालबन्दी ल्याएको थियो ।
यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका डिएसपी राईले बताउनुभयो । दुर्घटनास्थलबाट उद्धार गरिएकामध्ये सामान्य घाइते हरिपूर्वा नगरपालिका–९, कै २२ वर्षीय बिक्रम राय र ४२ वर्षीय रामविश्वास रायलाई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचारपश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतक दुवै युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ । दुर्घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको डिएसपी राईले बताउनुभयो ।
– जनार्जन खत्री
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










