01/17/2026, 11:48:01
शनिबार, माघ ०३, २०८२

अनुप बराल पूर्व, अनुप बराल पश्चात्


पोखरा, माघ ३ : चाँदीको चम्किलो चम्चा र पित्तलको कचौरा साटेर पर्दाको सपना किन्ने एउटा बालक, आज नेपाली रंगमञ्चको एउटा यस्तो ‘शिल्पी’ बनेको छ, जसको काँधमा नेपाली थिएटरको गरिमा अडिएको छ । नेपाली रंगमञ्चको इतिहासमा अनुप बराल  एउटा यस्तो नाम हो, जसले नाटकलाई केवल अभिनयमा मात्रै सीमित नराखी यसलाई एउटा गम्भीर बौद्धिक र सामाजिक विमर्शको माध्यम बनाए । रङ, प्रकाश र ध्वनिका यी साधकसँग न पछुतोको कुनै शब्दकोश छ, न त थाकेर बस्ने कुनै स्टेसन ।

०५२ मा भारतको प्रतिष्ठित नेसनल स्कुल अफ ड्रामा (एनएसडी) बाट स्तानिस्लाभास्कियन पद्धतिमा स्नातक गरेर फर्किएपछि नेपाली नाटकले एउटा नयाँ र आधुनिक मोड लियो । झन्डै चार दशक लामो उनको यो यात्राले नेपाली थिएटरलाई ‘अनुप बराल पूर्व’  र ‘अनुप बराल पश्चात्’ को कालखण्डमा विभाजन गर्ने सामर्थ्य राख्छ ।

अनुपको निर्देशकीय कौशलको ज्वलन्त उदाहरण हुन्, ‘थाङ्ला’, ‘कोर्टमार्सल’, ‘तीन एकान्त’, ‘महाभोज’ लगायत नाटक । ५७ वर्षअघि पोखरामा जन्मिएका उनले १३ वर्षको उमेरदेखि नै नाटकमा अभिनय गर्न थालेका थिए । ०४७ मा घोषणापत्र नै बनाएर पोखरामा प्रतिबिम्ब थिएटर ल्याब्रोटरी सञ्चालनमा ल्याए, जसको उनी अध्यक्ष थिए । त्यतिबेला राजधानीमा आयोजना भएको नाटक महोत्सवमा पोखराबाट आएर राष्ट्रिय पुरस्कार पनि पाए ।

पोखराको नदीपुरमा हुर्केका उनको बाल्यकालमा सिनेमाप्रतिको लगाव असाधारण थियो । घर नजिकैको कल्पना सिनेमाहलमा नयाँ फिल्मको पहिलो ‘शो’ हेर्ने लोभ यति प्रबल हुन्थ्यो कि उनले घरको चाँदीको चम्चादेखि पित्तलको कचौरासम्म गेटकिपरलाई दिएर फिल्म हेर्थे । ‘पैसा नहुँदा घरको कचौरा लिएर गेटकिपरलाई दिन्थें र मलाई फिल्म देखाइदिनू भन्थें,’ उनी स्मरण गर्छन्, ‘यसरी मैले घरको चाँदीको चम्चादेखि पित्तलको कचौरासम्म निकै थान सिध्याएछु ।

जब यो कुरा आमालाई थाहा भयो, हजुरबाले अनुपलाई बचाउँदै भनेका थिए, ‘यो सब कृष्णको लीला हो, गाली नगर ।’ त्यो क्षणले बालक अनुपलाई अनौठो पाठ सिकायो । ‘अचानक हजुरबाले मलाई भगवान् बनाइदिनुभएको थियो । र, मलाई लाग्थ्यो गल्ती मान्छेले गर्छन् । भगवान्ले गल्ती गर्नु हुँदैन,’ उनी भन्छन् ।

बाल्यकालमा उनलाई अमिताभ बच्चन, विनोद खन्ना, शत्रुघन सिन्हाजस्ता एन्टी–हिरो बन्ने सपना थियो । ‘नराम्रा र खराब काम गर्नेहरूलाई तह लगाउने व्यक्ति हुन खुब मन थियो,’ उनी हाँस्दै भन्छन् । तायमचा, भैरव जात्रा, बाघ जात्रा हेर्ने, फ्यान्टम, मेन्डरेक, टारजन जस्ता कमिक्स पढ्ने र बुबा दुर्गा बरालवात्स्यायन’ को पेन्टिङसँग आत्मीय लगाव राख्ने उनमा अडियो–भिजुअलको अनौठो संयोजन छिरेको थियो । ‘त्यही कम्बिनेसनले होला स्कुल र कलेजमा नाटक खेल्न थालें,’ उनले सम्झिए ।

सरुभक्तसँगको जोडाइले उनको रंगयात्रालाई दिशा दियो । सरुभक्तको नाटक ‘थाङ्ला’ निर्देशनपछि उनले पछाडि फर्किएर हेर्नुपरेन । ‘अनि नाटक नगरी बस्दा कुनै नजिकको कुरा हराएको झैं लाग्ने हुन थाल्यो । जस्तो कि शरीरमा अक्सिजन नपुगेजस्तो हुने,’ उनले भने, ‘रंगमञ्च नगरे त जड र निर्जीव भइँदो रहेछ भन्ने लाग्थ्यो । अनि थाहा भयो मलाई त नाटकको बानी परिसकेछ ।

जुन समयमा थिएटरलाई ‘काम नपाएका अल्लारे, जाँच फेल भएर बसेका लुजरहरू’ को काम ठानिन्थ्यो, त्यतिखेर अनुपले नाटकलाई गम्भीरतापूर्वक लिए । बुबाको लाइब्रेरीमा पढेका ‘दिनमान’ र ‘इलस्ट्रेड विक्ली’ म्यागेजिनका कलाकार र रंगकर्मीको अन्तर्वार्ताले उनलाई प्रभावित गर्‍यो ।

थिएटर एउटा अप्रितम कुरा हो, जसले मनुष्यलाई इनलाइटेन गर्छ भन्ने त्यतिबेला बुझ्न थालें,’ उनी भन्छन्, ‘र, त्यतिबेला हामी साथीभाइको मिसन थियो– नाटक अथवा रंगमञ्च गर्न एडुकेट हुनु जरुरी छ ।

विद्युतीय माध्यम र उपभोक्तावादी संस्कृतिको विस्तारले मञ्चीय नाटक र सिनेमाको भाषा एकै बनाउँदै गर्दा उनले फरक सोच राखे । रंगमञ्च र टेलिभिजनको रूप–भाषा फरक हुनुपर्छ । जरालाई मलजल गरे पो त्यसले दिने फल स्वादिलो र अर्ग्यानिक हुन्छ । यही सोचले उनलाई राष्ट्रिय नाट्य विद्यालय (एनएसडी), नयाँ दिल्ली पुर्‍यायो ।

अनुपका लागि थिएटर केवल कौशल देखाउने माध्यम होइन । थिएटर उनका लागि कौशल देखाउनेभन्दा पनि जीवनको तस्बिर उतार्ने माध्यम हो, जहाँ हामी आफ्नो अनुहार देख्छौं । र, हाम्रा सुख, दुःख अनि त्यसका अन्तर्विरोध र संवेदनाका ‘ग्रे–शेड’ भेट्छौं । उनका नाटकहरू दर्शकलाई प्रश्नको खोजीमा घर फर्काउँछन् । नाटक डिजाइन गर्दा उनी दृश्य र पात्रभित्र दर्शकलाई प्रवेश नदिने कुरामा सचेत छन् । पेन्टिङ र साहित्यमाथिको चेतले उनका नाटकलाई पूर्णताको उचाइमा पुर्‍याएको छ ।

थिएटरले हामी आफूलाई अभिव्यक्त गर्न मद्दत गर्छ, आफ्नो जीवन र अरूको जीवनका कथाहरू भन्न मद्दत गर्छ,’ उनी भन्छन्, ‘यो एउटा समाज रूपान्तरणको माध्यम हो । यसले भूगोलको हरेक कुनामा बस्ने मानिसको चेतनालाई फराकिलो र उज्यालो बनाउन प्रेरित गर्छ ।

उनले थिएटरलाई नाटक मात्रै बनाएर मलजल गरेका छैनन् । एक्टर्स स्टुडियोमार्फत उनले थुप्रै कलाकार नेपाली नाटक र सिनेमालाई दिएका छन् । थिएटरमा इन्द्रियहरू काम गर्ने, एकअर्कालाई सुन्ने र स्थान दिने बानीले कलाकारलाई विनम्र बनाउँछ भन्ने उनको विश्वास छ । ‘यसले एकअर्कालाई सुन्ने र स्पेस दिने बानी पार्दोरहेछ । यसो हुनु भनेको एकले अर्कोलाई सम्मान दिनु हो,’ उनी भन्छन्, ‘एक किसिमले आफ्नो पैतालालाई जमिनसँग जोडिराख्नु हो ।

उनका लागि कलाकार बन्नु जीवनको एउटा सुन्दर बहाना हो । कलाकार बनेर जीवन जिउने मीठो बहाना पाएको उनी बताउँछन् । भन्छन्, ‘त्यस्ता असल मानिससँग भेट्न पाएँ, जसलाई सायद भेट्छु भनेर पनि कहिल्यै पाउँदिनथें होला ।’ उनको जीवनदर्शन स्पष्ट छ– कसैलाई देखाउन या प्रमाणित गर्न काम गर्ने होइन । यसले आफूलाई नै आफूदेखि छुटाउँदो रहेछ ।

थिएटरबाट विश्राम पाउँदा उनी कविता लेख्छन्, रङ र कुचीसँग बगेर चित्र बनाउँछन् वा यात्रामा निस्कन्छन् । उनका लागि कविता अक्षरले बुनिएका सुन्दर चित्रहरू हुन् । प्रेमको परिभाषामा उनी भन्छन्, ‘मेरा लागि प्रेम साधना हो, जसमा जीवन उत्सर्ग गर्न सक्नुपर्छ, जसमा कुनै किसिमको कन्डिसन हुँदैन ।’ राधा र कृष्णको उदाहरण उनका निम्ति प्रेमको अनुपम रूप हो ।

नाटक: एक निरन्तर संघर्ष

उनका लागि नाटक एउटा पवित्र संघर्ष हो । यो संघर्ष लेखकको शब्ददेखि निर्देशकको कल्पनाशीलता हुँदै कलाकारको जीवन्त प्रस्तुतिसम्म फैलिएको हुन्छ । यो कुनै रणमैदानको जित–हार जस्तो नभई कलाको एउटा यस्तो लय हो, जहाँ सबै पक्षको मेलबाट एउटा उत्कृष्ट सिर्जनाको जन्म हुन्छ ।

नाटकको छनोटले उनको परिपक्व समय–चेतना र निर्देशकीय स्वतन्त्रतालाई पुष्टि गर्छ । नाटक हेरेर निस्कने प्रत्येक दर्शकको मनमा एउटा प्रश्न गडेको हुन्छ– ‘के नेपाली रंगमञ्चमा निर्देशनको योभन्दा उच्च सम्भावना अरू केही हुन सक्छ ?’ यही गम्भीर प्रश्न उब्जाउन सक्नु नै उनको सफलताको मानक हो ।

उनको आजको उचाइ एक्लो प्रयासको प्रतिफल मात्र होइन । नेपाली आधुनिक रंगमञ्चका अगुवा सुनील पोखरेल जस्ता अग्रजहरूको भूमिका र उनीसँगको सहकार्यले नै अनुपको व्यक्तित्वलाई पूर्णता दिएको हो । अग्रजको मार्गदर्शन र आफ्नो कठोर साधनाको संगम नै आजको ‘अनुपको नाट्ययुग’ हो ।

अहिले उनी पोखरामा आफ्नो ड्रिम प्रोजेक्ट ‘हंसध्वनि’ मार्फत नयाँ पुस्तालाई रंगमञ्चको दर्शन र शिल्प हस्तान्तरण गर्न तल्लीन छन् । रंगमञ्चप्रतिको उनको यो निष्ठाले नेपाली कला क्षेत्रलाई दशकौंसम्म उज्यालो दिइरहने निश्चित छ ।

पोखराको नदीपुरमा करिब ६ रोपनी जग्गामा ठडिएको ‘हंसध्वनि’ नाटकघर इँटा र सिमेन्टको संरचना मात्र होइन, यो अनुप बरालले दशकौंदेखि हुर्काएको एउटा अर्गानिक सपनाको ज्युँदो स्वरूप हो ।

नाफारहित वात्स्यायन फाउन्डेसन मार्फत बनिरहेको नाटकघरको संरचना लगभग तयारी अवस्थामा छन् । ‘यो मेरो एउटा सपना नै थियो । एउटा यस्तो स्थान बनाउन पाए हुन्थ्यो जहाँ कलाकर्मीहरू, विशेषगरी ‘लिबरल आर्ट्स’ सँग सम्बन्धित व्यक्तिहरू आएर साझा रूपमा बस्ने र गफ गर्ने एउटा थलो बनोस्,’ उनी भन्छन् ।

काठमाडौंमा धेरैपल्ट कोसिस गरे पनि राजधानीबाहिर कलाकर्मका गतिविधि न्यून रहेको उनले महसुस गरे । ‘काठमाडौं त सबै कुराको केन्द्र भइहाल्यो, राज्यले पनि धेरै कुरा त्यहीं बनाएको छ,’ उनी भन्छन्, ‘तर काठमाडौंबाहिर कलाकर्मका गतिविधिहरू एकदमै न्यून छन् ।’ हंसध्वनिमा दुई सयदेखि चार सयसम्म दर्शक अट्ने लचिलो रंगमञ्च, सभा हल, कक्षा कोठा, किताब पसल, पुस्तकालय, चमेनागृह, होस्टेल र आर्ट ग्यालरी रहनेछन् ।

सरकारसँग कुनै सहयोग नलिई स्वतन्त्र रूपमा सञ्चालन हुने यो नाटकघर वैशाखतिर खुल्ने योजना छ । ‘सरकारसँग जोडिएपछि धेरै औपचारिक नियम र बन्देजहरू हुन्छन् कि भन्ने लाग्छ । स्वतन्त्र रूपमा काम गर्दा मात्र रचनात्मक कुराहरू आउँछन् जस्तो मलाई लाग्छ,’ उनी भन्छन् ।

आर्थिक पाटोका लागि सदस्यता कार्डको अवधारणा ल्याइएको छ । पाँच वर्षमा यसलाई एउटा ठूलो आर्ट स्कुल बनाउने योजना उनको छ । ‘हाम्रो अवधारणा भनेकै कंक्रिटको भवन मात्रै नभएर मानवीय भावनाहरू जोडिएको एउटा कलात्मक थलो बनाउनु हो,’ उनी भन्छन् ।

थिएटरले क्रान्ति गर्न सक्छ कि भन्ने प्रश्नमा उनी यथार्थवादी छन् । ‘थिएटरले कुनै पनि कुरालाई रातारात चेन्ज गर्दैन, यसको असर दीर्घकालीन रूपमा मात्रै देखिन्छ,’ उनी भन्छन्, ‘थिएटर एउटा सांस्कृतिक गतिविधि मात्रै होइन, एउटा घटना हो, जसले मानिसको चेतनालाई फराकिलो बनाउँछ ।

उनको रंगयात्रामा पछुतो छैन । ‘पछुतोबारे सोच्ने समय नै भएन जीवनमा,’ उनी भन्छन्, ‘मानिस भएपछि कमजोरी हुन्छन् । त्यही कमजोरीलाई मात्रै सोचेर जीवन अगाडि बढ्दैन ।’ उनको शब्दकोशमा खिन्नता भन्ने शब्द नै छैन । जीवनले जे उपलब्ध गराएको छ, त्यसलाई आत्मसात् गरेर अघि बढेका छन् । मञ्चमा पात्रहरू रङका छिटाझैं आऊन्, दर्शकलाई स्पर्श गरेर जाऊन् र एकछिनको जादु वर्षौंसम्म रहिरहोस् भन्ने उनको चाहना हो ।

यही सपना र साधनाका साथ उनी पोखरामा आफ्नो आर्ट हब निर्माणमा व्यस्त छन् । हंसध्वनिले पोखराको सुस्ताएको कला माहोललाई पुनर्जीवित गर्ने र अन्तर्राष्ट्रिय पहिचान बनाउने कलाकार उत्पादन गर्ने उनको विश्वास छ ।

तर, यो तुरुन्तै नभइहाल्नेमा उनी स्पष्ट छन् । अहिलेको मुख्य चुनौती भनेको जनशक्ति तयार पार्नु हो । पोखराको जनसंख्या १० लाख पुग्न लागिसक्यो तर धेरै मान्छे काम वा शिक्षाको सिलसिलामा बाहिर छन् । युवा पुस्ता १२ कक्षा पास हुनासाथ विदेश जाने दबाबमा हुन्छन् । यसलाई एउटा ठूलो चुनौतीका रूपमा उनले लिएका छन् । ‘हामीले परिपक्व पुस्तालाई मात्र टार्गेट गरेर हुँदैन, किनकि उमेर बढेपछि जिम्मेवारी र घरायसी समस्याले उनीहरूको उत्साह कम हुन सक्छ,’ उनी भन्छन्, ‘त्यसैले १८ वर्षभन्दा माथिका युवाहरूलाई कलातर्फ कसरी आकर्षित गर्ने भन्ने नै मुख्य कुरा हो ।

मोबाइल र ‘इन्स्ट्यान्ट’ नतिजा खोज्ने जमानामा धैर्यता कायम राख्नु चुनौतीपूर्ण छ । काठमाडौंमा अहिले नाटकको लहर आएको छ । उनको समयमा दर्शक नभएर निर्देशक आफैंले टिकट काट्नुपर्ने स्थिति बिर्सिएका छैनन् । तर, अहिले राम्रो नाटक भयो भने थिएटर भरिभराउ हुन्छ ।

पोखरामा पनि पहिला–पहिला ‘मालती मंगले’ जस्ता नाटक हुँदा बागलुङ, पर्वतबाट मान्छेहरू बस चढेर आउने गरेका दिन उनले भुलेका छैनन् । ‘मैले एकदमै सम्भावना देखेको छु,’ उनी आशावादी सुनिए, ‘यदि हामीले समुदायमा छिरेर वैचारिक रूपमा यो एउटा साझा थलो हो भन्ने भावना विकास गर्न सक्यौं भने यो अवश्य सफल हुन्छ ।

– दीपक परियार