01/04/2026, 15:13:42
आइतबार, पुष २०, २०८२

एक्लो-१ : कथा भविष्यको, संवाद ९० को दशकको


काठमाडौँ, पुस १९ : अहिले नेपाली फिल्मकर्मीमा ‘सिरिज’मा कथा भन्ने हुटहुटी व्याप्त देखिन्छ । फिल्मको पहिलो श्रृंखला पूरा होस्/नहोस्, दोस्रो घोषणा गरिहाल्नैपर्छ । फिल्म घोषणा गर्दै शीर्षकको पुच्छरतिर ‘पार्ट वान’ कि ‘च्याप्टर यति’ भनेर उपशीर्षक झुन्ड्याइदिनैपर्छ । मानौं यो पालना गर्नैपर्ने विधि हो !

यसको अर्थ, श्रृंखलाहरुमा कथा भन्नु हुँदैन भन्ने होइन । तर, फिल्मको कथालाई भाग-भागमा भनिरहँदा पहिलो भागको कथाले दर्शक बाँधे पो अर्को श्रृंखलाको पर्खाइ हुन्थ्यो ! तर, यहाँ दोस्रो श्रृंखलासम्म कथालाई तन्काउन, पहिलो भागमा कथा अपूरै छाडिन्छ । मुख्य पात्रको पृष्ठभूमि थाहै नपाइ, कथाको ‘द इन्ड’ हुन्छ ।

यसैको निरन्तरता हो, अंग्रेजी नयाँ वर्षको सुरुवातमै प्रदर्शनमा आएको, ‘एक्लो–१‘ । निर्देशक प्रदीप शाहीले निकै ठूलो क्यानभासमा फिल्मको कथालाई कोर्ने प्रयास गरेका छन् । भविष्य कल्पँदै मानवतामाथि प्रश्न उठाउने यो फिल्मको कथा नौलो छ । एडभेन्चर विधामा यस किसिमको कथा भन्ने जोखिम मोल्नु स्वागतयोग्य छ । तर, निर्देशक शाही फिल्मभित्र त्यो संसार निर्माण गर्न चुकेका छन्, जुन संसारभित्र विचित्रका पात्र, घट्ना घटछन् । खासमा फिल्मको शक्ति नै त्यो संसारलाई स्थापित गर्नु हो जहाँका पात्र, भूगोल अनि समाजमाथि कथा भनिँदैछ । तर, त्यही संसार नै फिल्ममा स्थापना हुन सकेन भने के हुन्छ त ? निर्देशकले निर्माण गर्न खोजेको उक्त संसारमाथि दर्शकले विश्वास गर्नै सक्दैनन् । फलस्वरुप दर्शकको ध्यान उक्त संसारले तान्दैन ।

यो फिल्ममा २०९० तिरको कथा कल्पिएको छ । अन्तरिक्षबाट पृथ्वी आइपुगेका एरियल (कविता नेपाली) र ज्याक (जेमी ब्याकन)ले एक अजिब मानवलाई नेपालका सुख्खा भूमिमा भौंतारिरहेको भेटाउँछन् । पृथ्वीमा जीवित रहन सफल यो अन्तिम मानव भीष्म (विजय लामा) एक रोबोटसँगै मरुभूमिको जीवन बाँचिरहेका हुन्छन् । विशाल सुख्खा पहाड भीष्मको घर, बोल्नका लागि साथी, मित्र भन्नु त्यही एउटा रोबोट । यही भीष्मसँगको भेटमार्फत एरियल र ज्याकले अन्य त्यस्ता मानव साम्राज्य पत्ता लगाउँछन्, जो २०३० मा फैलिएको भाइरसबाट आफूलाई जोगाउन सफल हुन्छन् । उनीहरुको कब्जामा हुन्छ, एक हुल जोम्बी समूह । जोम्बी अर्थात् मान्छे खान सक्ने समूह, जसको टोकाइबाट अर्को जोम्बी जन्मिन्छ !

नेपाली फिल्ममा बिरलै अन्तरिक्ष, रोबोट, जोम्बी लगायतका विषय समेटिन्छन् । त्यसैले पनि भविष्यको कथा कल्पिएको ‘एक्लो– १’ खास अर्थमा नेपाली फिल्मका लागि नौलो स्वाद हो । तर, निर्देशक शाहीले यी सम्पूर्ण विषयलाई एकसाथ भन्न खोज्दा फिल्ममा कुनै विषय राम्रोसँग स्थापित भएको छैन । उदाहरणका लागि अन्तरिक्षबाट आएका एरियल र ज्याक । उनीहरु किन पृथ्वी आए ? अन्तरिक्षमा उनीहरुको ठाउँ कस्तो थियो ? अनि उनीहरुबीचको प्रेम ! फिल्मले यी पक्षलाई खासै बलियोसँग स्थापना गर्दैन । दुईबीचको प्रेमलाई पनि बलिउडको क्लिसे शैलीमा देखाइएको छ । अन्तिम श्वास जाँदै गर्दा फिल्ममा दुई प्रेमीले हात तन्काई-तन्काई एक अर्कालाई छुन खोजेको दृश्य ! यसअघिका फिल्महरुमा नदेखेको दृश्य पनि होइन । त्यसमाथि दुईबीच प्रेम सम्बन्ध स्थापित नहुँदै एक अर्काकालागि गरिएको यस किसिमको तड्पन कत्ति सुहाउँदो देखिएला त ?

अर्को त फिल्ममा निकै प्राथमिकता साथ देखाएको पात्र भीष्मको अलमलिएको चरित्र चित्रण नै हो । फिल्मले सुरुमा निकै महत्त्व दिँदै यो पात्रको कथा भन्छ । उनको पृष्ठभूमि र उक्त रोबोटसँगको सम्बन्ध देखाउन निकै समय खर्चिएको पनि छ । तर, जसै फिल्ममा आकाश मानवको आगमन हुन्छ, भीष्मको कथा साँघुरिँदै जान्छ । कथालाई अगाडि बढाउन प्रयोग केन्द्रीय पात्र नै बीचतिर हराउनु त कथाको लय बिग्रिएको संकेत हो ।

फिल्ममा महाराज (सुनिल थापा) र उनको साम्राज्य देखाउँदै जाँदा यो पात्रको उपयोगिता मुख्य कथाका लागि खासै आवश्यक नै लाग्दैन । थपिँदै जाने कल्की (प्रदीप खड्का) उनका गुरु (दिनेश डिसी)जस्ता पात्रहरुले भीष्मको कथालाई किनाराकृत गराइदिन्छ । फिल्ममा सबै चरित्रलाई उतिकै स्थान दिन खोज्दा पनि ‘एक्लो– १’ को केन्द्रीय कथा कसको हो ? स्पष्ट हुँदैन ।

मध्यान्तरपछि त फिल्मको कथा महाराजा, उनको राज्यभित्रको शासन, शक्तिमाथिको खिचातानी अनि ‘अछुत’ समूहको वरपर घुम्छ । छुँदैमा भाइरस सर्ने, खोरमा थुनेर राख्नुपर्ने अनि छुन नमिल्ने समूहका रुपमा ‘जोम्बी’का रुपमा चित्रिण गरिएको छ । निर्देशक शाहीले जातिय विभेदलाई प्रशय दिने ‘छुवाछुत’जस्तो अपराधलाई यो समूहबाट सामान्यीकरण गरेको देखिन्छ । मानवतामाथि प्रश्न गर्ने फिल्म बनाउने निर्देशक शाहीबाट यस किसिमको असंवेदनशील भाष्य निर्माण हुनु दु:खद हो ।

यो फिल्मको सबैभन्दा बिझाउने पाटो यसमा प्रयोग भएका संवाद हुन् । फिल्मले कथा समेट्छ, भविष्यको तर, संवाद अल्झिएको छ उही ९० को (अतिरञ्जित) दशकको । फिल्मले सिर्जना गरेको संसारभित्र यस किसिमको संवाद सुहाउँदो सुनिन्न । उदाहरणका लागि फिल्ममा एउटा दृश्य छ, जहाँ बाबु रक्ताम्मे शरीरमा अन्तिम श्वास फेरिरहेका हुन्छन् । आफ्ना बुबालाई काखमा हत्त न पत्त राखेर छोराले सोध्छ, ‘सब ठिक छ ? अनि बाबुले भन्छ– मर्न लागेको मान्छेलाई, ठिक छ भनेर सोध्छ । दुम्बा ! सामान्य बोलिचालीकै भाषामा पात्रहरुले संवाद बोलिदिएको भए पनि निर्देशक शाहीले निर्माण गर्न खोजेको संसारलाई केही हदसम्म विश्वास गर्न सकिन्थ्यो । यही अतिरञ्जित संवाद, कमजोर पटकथा र प्रस्तुतिकरणले ‘एक्लो–१’लाई सतही बनाइदिएको छ ।

केही दृश्यमा फिल्म बलियो देखिन्छ पनि । भीष्मको संसारलाई क्यामेराले सुन्दर फ्रेमहरुमा कैद गरेका छन् । भिजुअल इफेक्ट्समा गरिएको मेहनत पर्दामा झल्किन्छ ।

तर, श्रंखलाबद्ध कथा वाचनले त दर्शकलाई बाँध्नुपर्ने हो । ‘अब के होला’ भन्ने ‘कथार्सिस’ पैदा गर्नु कथा वाचनको सशक्त शैली नै हो । तर, श्रृंखलाहरुमा कथालाई बाँड्ने क्रममा निर्देशक शाहीबाट कथा वाचनको यही डोरो फुत्किएको छ ।

– रीना मोक्तान