01/05/2026, 15:50:46
सोमबार, पुष २१, २०८२

नयाँ नेतृत्व चयन नभएसम्म अमेरिकाले नै भेनेजुएलाको शासन चलाउने ट्रम्पको घोषणा


काठमाडौँ, पुस २० : भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकी सेनाले रूपमा पक्राउ गरेपछि अब त्यहाँको सत्ता कसले सम्हाल्छ भन्नेबारे अन्योल र विवाद चुलिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको नेतृत्व गर्न विपक्षी नेतृ मारिया कोरिना माचादो असक्षम रहेको टिप्पणी गर्दै नयाँ नेतृत्व चयन नभएसम्म अमेरिकाले नै शासन चलाउने घोषणा गरेका छन् ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भेनेजुएलाको संक्रमणकालीन अवस्थामा अमेरिकाले प्रत्यक्ष हस्तक्षेप गर्ने संकेत दिएका हुन् ।

नोबेल शान्ति पुरस्कार विजेता तथा भेनेजुएलाकी मुख्य विपक्षी नेतृ मारिया कोरिना माचादोले मदुरोको गिरफ्तारीलाई ‘स्वतन्त्रताको घडी‘ भन्दै स्वागत गरेकी छन् । उनले सेनालाई निर्वाचनका वास्तविक विजेता एडमन्डो गोन्जालेज उरुटियालाई राष्ट्रपतिका रूपमा स्वीकार गर्न आह्वान गरेकी छन् ।

तर, राष्ट्रपति ट्रम्पले भने माचादोको नेतृत्व क्षमतामाथि प्रश्न उठाएका छन् । ‘उनी (माचादो) एक असल महिला हुन्, तर भेनेजुएलाको नेतृत्व सम्हाल्न उनीसँग देशको सम्मान र समर्थन छैन,’ ट्रम्पले भने, ‘हामीले सुरक्षित र न्यायोचित नभएसम्म भेनेजुएलाको शासन आफैँ चलाउनेछौँ ।

ट्रम्पको दाबीविपरीत ल्याटिन अमेरिकी मामिला विज्ञ लिज अलार्कोनले माचादोसँग जनसमर्थन नभएको कुरा अस्वीकार गरेकी छन् । उनले भनिन्, ‘भेनेजुएलाका जनता मदुरोको पतनमा खुसी छन्, तर हामी चाहन्छौँ कि हाम्रो देश हामीले नै छानेका नेताहरू माचादो वा गोन्जालेजले चलाऊन् ।

गत जुलाईको चुनावमा विपक्षी उम्मेदवार गोन्जालेजले दुई तिहाइ मत प्राप्त गरेको दाबी गरिए पनि मदुरोले सत्ता छोड्न अस्वीकार गरेका थिए । अहिले मदुरो हटेपछि कतै उस्तै प्रकृतिको अर्को तानाशाही वा विदेशी कठपुतली सरकार आउने त होइन भन्नेमा भेनेजुएलाका नागरिक चिन्तित देखिन्छन् ।

यद्यपि भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवार सम्हाल्न भनेको छ । सर्वोच्च अदालतको संवैधानिक च्याम्बरले राष्ट्रपति मदुरोको अनुपस्थितिमा कार्यभार सम्हाल्न भनेको हो ।

उपराष्ट्रपति रोड्रिगेजले अमेरिकी कारबाहीको कडा भर्त्सनासमेत गरेकी छन् । सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले मदुरो र उनकी पत्नीको तत्काल रिहाइ माग गरिन् । ‘यो कारबाही केवल भेनेजुएलाको ऊर्जा, खनिज र प्राकृतिक स्रोत कब्जा गर्ने बहाना मात्र हो,’ रोड्रिगेजले भनिन्, ‘मदुरो नै भेनेजुएलाका एकमात्र वैध राष्ट्रपति हुन् ।‘ उनले नागरिक र सशस्त्र बललाई देशको रक्षाका लागि एकजुट हुन आह्वानसमेत गरेकी छन् ।

रोड्रिगेजले सार्वजनिक रूपमा विरोध गरे पनि ट्रम्पले भने अर्कै दाबी गरेका छन् । ट्रम्पका अनुसार विदेशमन्त्री मार्को रुबियोसँगको लामो टेलिफोन संवादमा रोड्रिगेजले वासिङ्टनसँग मिलेर काम गर्न तयार रहेको बताएकी छन् । ट्रम्पले भने, ‘उनले भेनेजुएलालाई फेरि महान् बनाउन हामीले जे आवश्यक ठान्छौँ, त्यो गर्न तयार रहेको संकेत दिएकी छन् ।

अहिले काराकासको अवस्था शान्त देखिए पनि आगामी दिनहरू कता मोडिनेछन् भन्नेमा अनिश्चितता कायमै छ । अमेरिकी सेनाको यो कदमले भेनेजुएलामा लोकतन्त्र बहाली गर्छ वा नयाँ द्वन्द्व निम्त्याउँछ भन्नेमा विश्व समुदायको ध्यान केन्द्रित छ ।