12/26/2025, 19:11:55
शुक्रबार, पुष ११, २०८२

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनविरुद्ध १० वर्ष कैदको माग


सियोल, पुस ११ गते । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योलविरुद्ध सन् २०२४ मा मार्सल ल लागु गर्ने असफल प्रयास तथा पदमा रहँदा उत्पन्न भएका अन्य गम्भीर आरोप सम्बन्धी सात आपराधिक मुद्दा मध्ये पहिलोमा स्वतन्त्र अभियोजन कर्ताले शुक्रबार १० वर्षको जेल सजाय माग गरेका छन् ।

यो पहिलो मुद्दामा युनमाथि अनुसन्धान र हिरासतमा लिन खोज्ने अधिकारीको आदेशको अवज्ञा गरेको लगायतका आरोप लगाइएका छन् । युनले सबै आरोप अस्वीकार गर्नु भएको छ भने उहाँका कानूनी प्रतिनिधिले हिरासत सम्बन्धी वारेन्ट नै अवैध र गैरकानूनी भएको दाबी गर्दै आएका छन् ।

अदालतले आगामी महिनाको सुरुआतमा यस मुद्दामा फैसला सुनाउने अपेक्षा गरिएको छ । युनले यसबाहेक भ्रष्टाचार, व्यापारिक स्वार्थलाई संरक्षण गरेको र विद्रोह जस्ता गम्भीर अभियोगमासमेत छुट्टाछुट्टै मुद्दा भोगिरहनु भएको छ । विद्रोह सम्बन्धी अभियोगमा आजीवन कारावास वा मृत्युदण्डसम्मको सजाय हुन सक्ने कानूनी व्यवस्था रहेको छ र उक्त मुद्दा पनि अन्तिम चरणतर्फ अघि बढिरहेको बताइएको छ ।

युनद्वारा गरिएको मार्सल ल घोषणाले सशस्त्र सेनालाई सियोलका सडकमा उतारेको थियो, जसले दक्षिण कोरियामा दशकौँयताकै सबैभन्दा गम्भीर राजनीतिक सङ्कट सिर्जना गरेको मानिन्छ । यद्यपि, सांसद राष्ट्रिय सभामा प्रवेश गर्न सफल भई उहाँको आदेश खारेज गर्ने पक्षमा मतदान गरेकाले मार्सल ल केही घण्टामै समाप्त भयो ।

त्यसपछि विपक्षी दलको नियन्त्रणमा रहेको संसदले डिसेम्बर २०२४ मा युनलाई महाभियोग लगाएको थियो र अप्रिल २०२५ मा संवैधानिक अदालतको फैसलासँगै उहाँ औपचारिकरूपमा राष्ट्रपतिको पदबाट बर्खास्त हुनुभएको थियो । शुक्रबार स्वतन्त्र विशेष सल्लाहकार चो युन–सुकको टोलीले सियोल केन्द्रीय जिल्ला अदालतसमक्ष युनलाई आधिकारिक कर्तव्यमा बाधा पुर्याएको, शक्तिको दुरुपयोग गरेको, सरकारी कागजात झूटो बनाएको र प्रमाण नष्ट गरेको आरोपमा १० वर्षको जेल सजाय दिन माग प्रस्तुत गरेको हो ।

महाभियोगपछि युन आफ्नो निजी निवासमै लुकेर बसेको र हप्तौँसम्म उहाँलाई हिरासतमा लिन जारी गरिएको वारेन्ट कार्यान्वयन गर्न खोज्ने अधिकारीको प्रयासमा अवरोध पुर्याएको अभियोजन पक्षको भनाइ छ । यस अवस्थाले राष्ट्रपति सुरक्षा सेवा र हिरासतमा लिन खटिएका अधिकारीबिच शारीरिक झडप हुन सक्ने चिन्ता पैदा गरेको थियो र यसले देशभित्रको राजनीतिक विभाजनलाई थप गहिरो बनाएको बताइएको छ ।

चो सल्लाहकारको टोलीका वरिष्ठ अन्वेषक पार्क इको–सूले शुक्रबारको सुनुवाइमा युनको व्यवहारलाई ‘आधिकारिक कर्तव्यको अभूतपूर्व अवरोध’ भनेर वर्णन गर्नु भएको छ । अभियोग अनुसार युनले मार्सल ल घोषणा गर्नुअघि कानूनले अनिवार्य गरेको पूर्ण मन्त्रिपरिषद बैठक नगरेको, मार्सल ल सम्बन्धी कागजात तयार पारेको र उक्त प्रक्रिया कार्यान्वयनमा संलग्न व्यक्तिले प्रयोग गरेका मोबाइल फोनबाट डाटा मेटाउन आदेश दिएको आरोप पनि खेपिरहनु भएको छ ।

युनले यी सबै आरोप अस्वीकार गर्दै मार्सल ल घोषणा मुख्य विपक्षी डेमोक्रेटिक पार्टीविरुद्धको आफ्नो राजनीतिक सङ्घर्षमा जनसमर्थन जुटाउने उद्देश्यले गरिएको दाबी गर्नु भएको छ । उहाँका अनुसार उक्त पार्टीले उहाँका नजिकका अधिकारीलाई महाभियोग लगाएर सरकारको एजेन्डामा निरन्तर अवरोध सिर्जना गरिरहेको थियो ।

गत हप्ता छ महिनाको गहन अनुसन्धानपछि चो सल्लाहकारको टोलीले युनले एक वर्षभन्दा बढी समयदेखि आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई हटाउने र सत्तामा एकाधिकार कायम गर्ने उद्देश्यले मार्सल ल लागु गर्ने षड्यन्त्र रचेको निष्कर्ष सार्वजनिक गरेको थियो । युनमाथि उत्तर कोरियातर्फ ड्रोन उडानको आदेश दिई जानाजानी तनाव बढाएको, आफ्ना प्रधानमन्त्री सम्बन्धी मुद्दालाई ढाकछोप गर्न मार्सल ल घोषणा गर्ने योजना बनाएको र अदालतमा झुटो गवाही दिएको आरोप पनि लगाइएको छ ।

यसका साथै, सन् २०२३ मा भएको एक समुद्री डुबान सम्बन्धी अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गरेको र राजनीतिक समर्थनको बदलामा निर्वाचन दलालमार्फत स्वतन्त्र जनमत सर्वेक्षण प्राप्त गरेको अभियोग पनि उहाँमाथि लागेको छ । युनले ड्रोन उडानबारे आफूलाई जानकारी नभएको र प्रभाव-तस्करी सम्बन्धी काण्डमा कुनै गलत काम नगरेको स्पष्ट पार्दै आउनु भएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..