12/19/2025, 15:28:50
शुक्रबार, पुष ०४, २०८२

अमेरिकामा निजी विमान दुर्घटना, ७ जनाको मृत्यु


काठमाडौँ,  पुस ४ गते । अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा एउटा सानो निजी विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

नर्थ क्यारोलाइना स्टेट हाइवे प्याट्रोलका अनुसार स्टेट्सभिल सहरबाट उडान भरेको केही समयमै विमान दुर्घटनामा परेको हो। विमान मौसमका कारण पुन फर्किएर अवतरणको प्रयासमा रहँदा दुर्घटनामा परेको जनाइएको छ।

दुर्घटनामा पूर्व नास्कार रेसिङ चालक ग्रेग बिफल, उनकी पत्नी क्रिस्टिना तथा दुई सन्तान राइडर र एम्माको मृत्यु भएको परिवारका सदस्यहरूले पुष्टि गरेका छन्।

परिवारले जारी गरेको संयुक्त विज्ञप्तिमा यो दुर्घटनाले परिवारमा अकल्पनिय र गहिरो पिडा दिएको उल्लेख गरिएको छ। ग्रेग बिफल र उनको परिवारसँगै विमानमा थप तीन जना यात्रु पनि सवार थिए।

उनीहरू डेनिस डटन, उनका छोरा ज्याक डटन तथा ‘नास्कार’ समुदायका लामो समयदेखि सक्रिय सदस्य क्रेग वाड्सवर्थ रहेको परिवारको विज्ञप्तिमा उल्लेख छ।

यी सबै यात्रुहरू सेस्ना सि ५५० मोडेलको निजी जेटमा सवार थिए। इरेडेल काउन्टीका प्रमुख सहायक शेरिफ बिल ह्याम्बीले दिएको जानकारी अनुसार बिमान दुर्घटना स्थानिय समय अनुसार बिहान करिब १०:१५ बजे भएको हो।

विमानले उडान भरेको केही समयमै समस्या आएपछि दुर्घटना भएको प्रारम्भिक जानकारी दिइएको छ। नर्थ क्यारोलाइना राज्यका गभर्नर जोस स्टाइनले यो घटनालाई ‘हृदयविदारक’ भन्दै छानविन गर्ने बताएका छन्।

अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार नर्थ क्यारोलाइनाको स्टेट्सभिल क्षेत्रीय विमानस्थलमा अवतरण गर्ने क्रममा बिहीबार बिहान दुर्घटनाग्रस्त भएको हो। संघीय उड्यन प्रशासन र राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाको अनुसन्धान सुरु गरेका छन्।

५५ वर्षीय बिफलले करिब २० वर्षको करियरमा १९ वटा कप सिरिज जितेका थिए। उनले २०२२ मा टलाडेगामा भएको गेइको ५०० पछि अन्तिमपटक प्रतिस्पर्धा गरेका थिए।

सन् २०२३ मा बिफल नास्कारका ७५ महान चालकको सूचीमा परेका थिए। दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ र रनवेमा रहेको भग्नावशेष हटाएपछि मात्रै पुनः सञ्चालन खुल्ने अधिकारीहरूले जनाएका छन्।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..