12/20/2025, 20:37:16
शनिबार, पुष ०५, २०८२

भारतमा रेल दुर्घटनामा परी सात हात्तीको मृत्यु


नयाँदिल्ली, पुस ७ गते । उत्तरपूर्वी भारतमा एउटा यात्रु बहाक रेल हात्तीको झुण्डमा ठोक्किएर दुर्घटना हुँदा सात वटा हात्तीको घटना स्थलमै मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् । भारतमा लगभग २२ हजार जङ्गली हात्ती मध्ये चार हजारभन्दा बढी रहेको आसम राज्यमा भएको उक्त दुर्घटनामा कुनै यात्रु घाइते नभएको बताइएको छ ।

वरिष्ठ असम पुलिस अधिकारी राकेश रेड्डीलाई उदृत गर्दै एएफपीले सात वटा हात्तीको घटना स्थलमै मृत्यु भएको र एउटा हात्ती घाइते भएको जनाएको छ । मिजोराम राज्यबाट नयाँ दिल्लीतर्फ गइ रहेको उक्त रेलको पाँच वटा डिब्बा दुर्घटना हुँदा लिगबाट खसेको बताइएको छ ।

अधिकारीहरूले तोकिएको हात्ती कोरिडोरमा गति नियन्त्रण प्रणली लागु गरेको भए पनि पछिल्लो दुर्घटना यी क्षेत्र बाहिर भएको भारतीय रेलवेका प्रवक्ता कपिन्जाल किशोर शर्माले बताउनुभयो । रेल चालकले हात्तीको झुण्ड देखेर आपतकालीन ब्रेक लगाएता पनि हात्ती रेलमा आएर ठोक्कीदा दुर्घटना भएको उहाँले बताउनु भएको छ ।

वन विनाश र तिनीहरूको बास स्थान नजिकको निर्माण गतिविधिले हात्तीलाई खानाका लागि टाढा-टाढा जान बाध्य पारी मानिससँगको द्वन्द्वमा आएको जनाइएको छ । संसदीय तथ्याङ्क अनुसार सन् २०२३-२०२४ मा भारतमा हात्तीको आक्रमणबाट ६२९ जनाको मृत्यु भएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..