12/26/2025, 18:01:37
शुक्रबार, पुष ११, २०८२

रवि-बालेन सहमति नजिक : मस्यौदा दुवैद्वारा स्वीकृत, अर्को चरणको छलफल सुरु


काठमाडौँ, पुस ११ : राष्ट्रिय स्वतन्त्र पार्टी  र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह आगामी निर्वाचनमा मिलेर जान सहमति नजिक पुगेका छन् ।

रास्वपा नेता शिशिर खनाल र असिम शाह तथा बालेनका तर्फबाट कुमार बेन र भुपदेव शाह सहमतिपत्रको ड्राफ्ट तयार पार्न जुटेका थिए । उनीहरूले तयार पारेको सहमतिपत्रको पहिलो मस्यौदा रास्वपा सभापति रवि लामिछाने  र मेयर बालेनले स्वीकृत गरिसकेका छन् । छलफलमा सहभागी नेताहरूले दिएको जानकारी अनुसार रवि-बालेन दुवैले पहिलो मस्यौदामा आधारित रहेर अगाडि बढ्न भनेका छन् ।

छलफलमा सहभागी एक नेताले भने, ‘सभापति लामिछाने र मेयर शाहलाई पहिलो ड्राफ्ट देखाएका छौं । उहाँहरूले सहमतिको ड्राफ्टमा स्वीकृत जनाएर अगाडि बढ्न भन्नुभएको छ । सम्भव भएसम्म आज साँझसम्म हामी टुंगो लगाउँछौं ।‘ सहमतिपत्र रास्वपाका उपसभापति स्वर्णिम वाग्लेलाई पनि देखाइएको थियो ।

सहमति पत्र मुख्यतः रास्वपाको सभापति रवि लामिछाने नै रहने र आगामी चुनावपछिको संसद्मा बहुमत प्राप्त भएमा बालेन शाह प्रधानमन्त्री बन्ने भन्ने विषय रहेको ती नेताले जानकारी दिए । ‘यस कुरामा पनि सभापति लामिछानेले ओके भन्नुभएको छ । यो स्वीकृतिपछि थप छलफल गरी आजै टुंगो लगाउन भनी लागेका छौं,’ उनले भने ।