01/06/2026, 10:26:16
मङ्गलबार, पुष २२, २०८२

निवासभित्रै छिरेर भेनेजुएलाका राष्ट्रपतिलाई कसरी कब्जामा लियो अमेरिकाले ?


काठमाडौँ, पुस २१ : अमेरिकाले भेनेजुएलामा अप्रत्याशित हमला गरी कब्जामा लिएका राष्ट्रपति निकोलस मदुरो  र उनकी पत्नी सिलिया फ्लोरेसलाई शनिबार न्युयोर्क पुर्‍याइएको छ ।

उनीहरूलाई सेनाको पानीजहाज ‘इवो जिमा’ मार्फत अमेरिका ल्याइएको थियो । त्यसपछि सैनिक हेलिकोप्टरमार्फत ‘स्टिवार्ट एयर नेसनल गार्ड बेस’ मा लगियो । अहिले ब्रुकलिनस्थित न्युयोर्क डिटेन्सन सेन्टरमा हिरासतमा राखिएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार यो कारबाही शीतयुद्धपछिको दक्षिण अमेरिकामा भएको सबैभन्दा ठूलो सैन्य हस्तक्षेप हो । अमेरिकी जासुसी निकायहरूले केही महिनादेखि मदुरोको हरेक गतिविधि नियालिरहेका थिए । मदुरो कहाँ सुत्छन्, के खान्छन्, के लगाउँछन् र उनले पालेका घरपालुवा जनावरसम्मको सूचना संकलन गर्न भेनेजुएला सरकारभित्रै एक जना अमेरिकी ‘स्रोत’ परिचालन गरिएको थियो ।

मिसनलाई पूर्णता दिन अमेरिकी एलिट फोर्सले मदुरो बस्ने काराकासस्थित ‘सेफ हाउस’ को दुरुस्तै (फूल–साइज) नमुना बनाएर महिनौंसम्म अभ्यास गरेका थिए । राष्ट्रपति ट्रम्पले चार दिनअघि नै हमलाको अनुमति दिए पनि मौसम खराब भएका कारण अन्तिम समयमा आएर शुक्रबार राति १०ः४६ (अमेरिकी समय) मा मात्र ‘गो अहेड’ को आदेश दिएका थिए ।

राष्ट्रपति ट्रम्पले हृवाइट हाउसको सिचुएसन रुमबाट नभई फ्लोरिडास्थित आफ्नो ‘मार–ए–लागो’ क्लबबाट यस अपरेशनको प्रत्यक्ष प्रसारण हेरेका थिए । उनले सीआईए निर्देशक जोन र्‍याटक्लिफ र विदेशमन्त्री मार्को रुबियोसँगै बसेर यो मिसन नियालिरहेका थिए । शनिबार बिहान ‘फक्स’ मिडियासँग कुरा गर्दै ट्रम्पले भने, ‘यो अचम्मको दृश्य थियो । म यसलाई कुनै टेलिभिजन सो हेरेझैं हेरिरहेको थिएँ । हाम्रा जवानहरूको गति र सामर्थ्य अद्भुत थियो ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रूथमा पनि अपरेशनको प्रत्यक्ष प्रसारण हेरेको तस्बिरहरू पोस्ट गरेका छन् । २०११ मा तत्कालिन अमेरिकी राष्ट्रपति बारक ओबामाले पनि ओसामा विन लादेनलाई पक्राउ गर्दा प्रत्यक्ष हेरेका थिए । पाकिस्तानको एपोटाबादस्थित एक घरमा भएको हमलालाई राष्ट्रपति ओबामाले हृवाइट हाउसबाट प्रत्यक्ष हेरेका थिए ।

अमेरिकाले मदुरोलाई पक्राउ गर्न लामो समयदेखि तयारी गरेको थियो । बमवर्षक, लडाकु विमान, गुप्तचर निकाय, अनुसन्धान, निगरानी र रोटरी विङ एयरक्राफ्टले ‘अपरेसन एब्सुलेट रिसल्भ’ लाई सफल बनाउन भूमिका खेलेको अमेरिकी एयरफोर्सका अवकाशप्राप्त जनरल तथा जोइन्ट चिफ अफ स्टाफ्सका प्रमुख ड्यान केनले बताए ।

केनका अनुसार अमेरिकाले यस हमलामा झन्डै १ सय ५० वटा विमान प्रयोग गरेको थियो । जसमा बी वान बी लान्सर बम्बर्स, एफ २२, इए–१८ ग्रोलर इलेक्ट्रेनिक प्लेन, ई–२ हर्किई अर्ली वार्निङ एयरक्राफ्ट लगायत अत्याधुनिक विमान तथा ड्रोन समावेश छन् । त्यस्तै, आर्मीको एलिट १६० औं स्पेसल अपरेसन्स एभिएसन रेजिमेन्टलाई मदुरो बसेको ठाउँमा उतारिएको थियो ।

जब सेना काराकासतर्फ अघि बढ्यो, संयुक्त एयर कम्पोनेन्टले भेनेजुएलाको एयर डिफेन्स प्रणालीलाई बिगार्न थाल्यो,’ केनले भने, ‘हेलिकोप्टरहरूलाई लक्षित क्षेत्रमा सुरक्षित प्रवेश गराउन हतियारहरू प्रयोग गरियो । हाम्रो लक्ष्य हेलिकोप्टर र स्थल सेनाको रक्षा गर्ने तथा उनीहरूलाई लक्ष्यसम्म पुर्‍याउन र घरसम्म पुर्‍याउने थियो ।’ यसमा यूएस स्पेस कमान्ड, यूएस साइबर कमान्ड तथा सीआईए, एनएसए र एनजीआईए जस्ता गुप्तचर एजेन्सी प्रयोग गरिएको उनले बताए ।

केनका अनुसार अमेरिकी सेना मदुरोको कम्पाउन्डमा स्थानीय समयअनुसार मध्यरात २ बजेर १ मिनेटमा पुगेको थियो । सेना प्रवेश गरिसकेपछि मदुरोले राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै हमलाको निन्दा गरेका थिए । अमेरिकी सेना निवासमा पुग्दा मदुरो स्टिलले बनेको एउटा सुरक्षित कोठा (सेफ रुम) भित्र छिर्ने प्रयासमा थिए । उनी कोठाभित्र त छिरे, तर ढोका लगाउन नपाउँदै अमेरिकी सेनाको टोलीले नियन्त्रणमा लियो । छोटो समयमै उनी गिरफ्तार भएको देखिए पनि यसका लागि अमेरिकी गुप्तचर संस्था सीआईएले लामो समयदेखि तयारी गरिरहेको थियो । अपरेसनका लागि भेनेजुएला सरकारभित्रै रहेका सीआईएको एक स्रोतले मदुरोको लोकेसन पत्ता लगाउन मद्दत गरेको ट्रम्पले पत्रकार सम्मेलनमा खुलासा गरेका गरे ।

सोही स्रोतको सूचनाका आधारमा अमेरिकी सेनाको विशेष ‘डेल्टा फोर्स’ ले कारबाही चलायो । मदुरोलाई बाहिर निकाल्न (एक्सट्र्याक्सन) अमेरिकी सेनाले १ सय ५० भन्दा बढी विमानहरू प्रयोग गरेको थियो । ट्रम्पका अनुसार यस अपरेसनमा कुनै पनि अमेरिकी सैनिकको मृत्यु भएको छैन, यद्यपि केही घाइते भएका छन् ।

हमलाका क्रममा कम्तीमा ४० जनाको मृत्यु भएको भेनेजुएलाका एक शीर्ष अधिकारीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जनाएको छ । मदुरोलाई नियन्त्रणमा लिने मुख्य अपरेसनलाई सफल बनाउन काराकासका विभिन्न स्थानमा ‘कभर’ का रूपमा हवाई हमलाहरू गरिएका थिए । बीबीसी भेरिफाईका अनुसार काराकासका ला कार्लोटा, फुर्टे टिउना, पोर्ट ला गुएरा, हिगुएरोट विमानस्थल र एन्टेनास एल भोल्कान गरी पाँच क्षेत्रमा हमला गरिएको थियो ।

कोकिन तस्करी, अपहरण र हत्याको अभियोग

नियन्त्रणमा लिइएका मदुरोविरुद्ध अमेरिकी न्याय विभागले न्युयोर्कस्थित संघीय अदालतमा ५ वर्षअघि नै अभियोगपत्र दर्ता गरिसकेको छ । मार्च २०२० मा अभियोगपत्र दर्ता गरेसँगै अमेरिकी सरकारले मदुरोका बारेमा सूचना दिनेलाई २ करोड ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा नै गरेको थियो । त्यसको पाँच वर्षपछि गत अगस्टमा उक्त रकम बढाएर ५ करोड डलर पुर्‍याइएको थियो । लागूऔषध आतंकवाद, कोकिन निर्यात र मेसिन गन कब्जा गरेको अभियोगमा अब मदुरोको बयान लिइनेछ । मदुरो प्रशासनका शीर्ष अधिकारी, उनकी पत्नी फ्लोरेस र उनका छोराविरुद्ध पनि अदालतमा मुद्दा दर्ता छ । पत्नी फ्लोरेसविरुद्ध गत क्रिसमसमा मात्रै अभियोग दर्ता गरिएको थियो ।

मदुरो र उनकी पत्नीलाई न्युयोर्कको म्यानहट्टनस्थित संघीय अदालतमा कहिले हाजिर गराइनेछ भन्ने विषय स्पष्ट छैन । सामाजिक सञ्जालमा शनिबार राति सार्वजनिक भिडियोमा मदुरो मुस्कुराइरहेका देखिन्छन् । उनलाई न्युयोर्कस्थित अमेरिकी औषधि प्रवर्तन प्रशासन कार्यालयबाट दुई संघीय एजेन्टहरूले हात समातेर लगिरहेका थिए ।

मदुरोले ‘विश्वका हिंस्रक र प्रचलित लागू पदार्थ तस्कर र लागू पदार्थ आतंकवादीहरूसँग’ साझेदारी गरेर हजारौं टन कोकिन अमेरिकामा ढुवानी गरेको अभियोगपत्रमा उल्लेख छ । ‘सनालोआ कार्टेल’ र ‘ट्रेन डे अरागुआ’ जस्ता शक्तिशाली र लागू पदार्थ तस्करी गर्ने हिंस्रक गिरोहलाई भेनेजुएला सरकारले संरक्षण दिएको र ती गिरोहले सरकारी अधिकारीलाई मोटो रकम दिने गरेको पनि अभियोगपत्रमा उल्लेख छ । आफू, आफ्नो परिवार र सहयोगीको फाइदाका लागि कोकिनयुक्त भ्रष्टाचारलाई फस्टाउन दिएको आरोप मदुरोमाथि लगाइएको छ । लागूऔषध तस्करीमा अवरोध गर्न खोज्नेमाथि अपहरण, कुटपिट र हत्याको आदेश दिएको आरोप पनि मदुरो र उनकी पत्नीमाथि लगाइएको छ । यसमा काराकासका स्थानीय लागूऔषध प्रमुखको हत्या आरोप पनि समावेश छ । मदुरोले यी सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

हामी चलाउँछौं भेनेजुएला : ट्रम्प

मदुरो अमेरिकी हिरासतमा पुगेसँगै अब त्यहाँको सत्ता कसले सम्हाल्छ भन्नेबारे अन्योल र विवाद चुलिएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाको संक्रमणकालीन अवस्थामा अमेरिकाले प्रत्यक्ष हस्तक्षेप गर्ने संकेत दिएका छन् ।

उनले नयाँ नेतृत्व चयन नभएसम्म अमेरिकाले नै शासन चलाउने पनि घोषणा गरेका छन् । नोबेल शान्ति पुरस्कार विजेता तथा भेनेजुएलाकी मुख्य विपक्षी नेतृ मारिया कोरिना माचादोले मदुरोको गिरफ्तारीलाई ‘स्वतन्त्रताको घडी’ भन्दै स्वागत गरेकी छन् । उनले सेनालाई निर्वाचनका वास्तविक विजेता एडमन्डो गोन्जालेज उरुटियालाई राष्ट्रपतिका रूपमा स्वीकार गर्न आह्वान गरेकी छन् ।

ट्रम्पले भने माचादोको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै भनेका छन्, ‘उनी एक असल महिला हुन् तर भेनेजुएलाको नेतृत्व सम्हाल्न उनीसँग देशको सम्मान र समर्थन छैन, हामीले सुरक्षित र न्यायोचित नभएसम्म भेनेजुएलाको शासन आफैं चलाउनेछौं ।’ गत जुलाईको चुनावमा विपक्षी उम्मेदवार गोन्जालेजले दुई तिहाइ मत प्राप्त गरेको दाबी गरिए पनि मदुरोले सत्ता छोड्न अस्वीकार गरेका थिए । अहिले मदुरो हटेपछि कतै उस्तै प्रकृतिको अर्को तानाशाही वा विदेशी कठपुतली सरकार आउने त होइन भन्नेमा भेनेजुएलाका नागरिक चिन्तित देखिन्छन् ।

कार्यवाहक राष्ट्रपतिमा डेल्सी

भेनेजुएलाको सर्वोच्च अदालतको संवैधानिक च्याम्बरले राष्ट्रपति मदुरोको अनुपस्थितिमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवार सम्हाल्न भनेको छ । भेनेजुएलामा अवस्था सामान्य नभएसम्म डेल्सी राष्ट्रपति रहनेछिन् । मदुरोकी निकट राजनीतिक सहयोगी मानिने उनी २०१८ देखि उपराष्ट्रपति थिइन् । उनी भेनेजुएलाको सोसलिस्ट लिगका संस्थापक नेता जर्ज एन्टोनियो रोड्रिग्वेजकी छोरी हुन् ।

उनले यसअघि २०१३–२०१४ मा ऊर्जा, सञ्चार र सूचना मन्त्रालय, २०१४–२०१७ मा विदेश मन्त्रालय र २०२४–२०२५ यता उपराष्ट्रपतिको जिम्मेवारीसँगै अर्थ तथा पेट्रोलियम मन्त्रालय सम्हालेकी थिइन् । डेल्सीले १९९३ मा भेनेजुएलाको केन्द्रीय विश्वविद्यालयबाट कानुनमा डिग्री लिएकी थिइन् । उनले केही समय उक्त कलेजमा अध्यापन पनि गरिन् । विद्यार्थी कालदेखि नै उनी आन्दोलनको अग्रमोर्चामा थिइन् । उनले पेरिसमा केही समय श्रम कानुन पनि पढिन् । भेनेजुएलामा श्रम अभिवक्ता संघमा उनी अध्यक्ष पनि थिइन् ।

उपराष्ट्रपति रोड्रिग्वेजले अमेरिकी कारबाहीको कडा भर्त्सनासमेत गरेकी छन् । सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले मदुरो र उनकी पत्नीको तत्काल रिहाइ माग गरेकी छन् । ‘यो कारबाही केवल भेनेजुएलाको ऊर्जा, खनिज र प्राकृतिक स्रोत कब्जा गर्ने बहाना मात्र हो,’ रोड्रिग्वेजले भनेकी छन्, ‘मदुरो नै भेनेजुएलाका एक मात्र वैध राष्ट्रपति हुन् ।’ उनले नागरिक र सशस्त्र बललाई देशको रक्षाका लागि एकजुट हुन आह्वानसमेत गरेकी छन् ।

ट्रम्पले भेनेजुएलामा स्थिरता ल्याउनका लागि त्यहाँका अधिकारीसँग मिलेर अमेरिकाले शासन चलाउने बताएका छन् । उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग भेनेजुएलाकी उपराष्ट्रपति रोड्रिग्वेजको टेलिफोन वार्ता भएको खुलासा समेत गरेका थिए । टेलिफोन संवादमा रोड्रिग्वेजले वासिङ्टनसँग मिलेर काम गर्ने संकेत गरेको दाबी ट्रम्पले गरे । ‘उनले भेनेजुएलालाई फेरि महान् बनाउन हामीले जे आवश्यक ठान्छौं, त्यो गर्न तयार रहेको संकेत दिएकी छन्,’ ट्रम्पले भने ।

अमेरिकाविरुद्ध चौतर्फी आलोचना

भेनेजुएलामा गरिएको हमलासँगै यसका राष्ट्रपति मदुरो र उनकी पत्नीको पक्राउलाई लिएर यतिबेला अमेरिकाका विभिन्न सहरमा विरोध प्रदर्शन पनि भइरहेका छन् । लस एन्जलस, न्युयोर्क, वासिङ्टन डीसी र लास भेगास लगायतका क्षेत्रमा सयौंको संख्यामा मानिसहरू सडकमा उत्रिएका छन् । लस एन्जलसमा वर्षाको प्रवाह नगरी भेला भएका प्रदर्शनकारीले ‘भेनेजुएलामा बम विस्फोट बन्द गर’, ‘तेलका लागि रगत नबगाऊ’ र ‘युद्ध होइन, ट्रम्प चाहिँदैन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । ह्वाइट हाउस बाहिर युद्धविरोधी समूह ‘एन्सर’ र ‘पार्टी फर सोसलिज्म एन्ड लिबरेसन’ का कार्यकर्ताले विरोध प्रदर्शन गरे । उनीहरूले मदुरोको पक्राउलाई ‘अपहरण’ को संज्ञा दिँदै तत्काल रिहाइको माग गरेका छन् ।

त्यस्तै टर्किए, भारत लगायतका विभिन्न देशमा अमेरिकी साम्राज्यवादविरुद्ध विरोध भएका छन् । त्यस्तै विभिन्न देशका विदेशमन्त्रीहरूले यसको विरोध गरेका छन् । चीनले पनि विरोध जनाएको छ । आइतबार चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी कदमको भर्त्सना गरेको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले मदुरोको पक्राउलाई ‘अपहरण’ को संज्ञा दिँदै स–सम्मान तत्काल रिहा गर्न अमेरिकासँग माग गरेका छन् । राष्ट्रपति मदुरो र उनकी पत्नीलाई जबर्जस्ती देशबाहिर लैजानु गम्भीर चिन्ताको विषय भएको चीनको ठहर छ ।

चीनले अमेरिकी सैन्य कारबाहीलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको स्पष्ट उल्लंघन भएको बताएको छ । ‘यो कदम अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताविपरीत छ,’ प्रवक्ताले भनेका छन् । यो परिस्थितिबारे छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्ने भएको छ । सुरक्षा परिषद्को वर्तमान अध्यक्ष राष्ट्र सोमालियाले सोमबारका लागि बैठक आह्वान गरेको छ । सोमाली स्थायी मिसनकी प्रवक्ता खादिजा अहमदका अनुसार सोमबार बिहान १० बजे (न्युयोर्क समय) सुरक्षा परिषद्को बैठक बस्ने तयारी छ । जनवरी महिनाका लागि सुरक्षा परिषद्को अध्यक्षता सोमालियाले सम्हालिरहेको छ ।

सञ्चारमाध्यमको प्रतिरोध

भेनेजुएला घटनाप्रति विश्वका प्रमुख सञ्चारमाध्यमहरूले फरक–फरक दृष्टिकोण पस्किएका छन् । नेपाली राष्ट्रिय दैनिक पत्रिकाहरूले पनि मदुरो गिरफ्तारको खबर पहिलो पृष्ठमै प्रकाशन गरेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय समुदायमा पनि चासोको विषय भएका कारण विश्वव्यापी ‘कभरेज’ को विषय बनेको छ । अमेरिकाले यसलाई ‘न्यायिक कारबाही’ भनेको छ भने इरान, चीन, रुस र टर्किएका मिडियाहरूले यसलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन र ‘जंगल राज’ को संज्ञा दिएका छन् ।

यतिबेला विश्वका शक्ति राष्ट्रहरूबीच सञ्चार युद्ध सुरु भएको छ । विशेषगरी इरान, रुस, चीन र टर्किएका सञ्चारमाध्यमले अमेरिकाको यो कदमलाई आधुनिक विश्वको ‘खराब अध्याय’ भन्दै आलोचना गरेका छन् ।

इरानी सरकारी सञ्चारमाध्यमहरूले यसलाई सार्वभौमसत्तामाथिको नांगो हस्तक्षेप भनेका छन् । ‘तेहरान टाइम्स’ ले ‘जंगली कानुन’ शीर्षकमा समाचार प्रकाशित गर्दै अमेरिकाले अन्तर्राष्ट्रिय मर्यादालाई पूर्णतः बेवास्ता गरेको उल्लेख गरेको छ । त्यस्तै, ‘इरान इन्टरनेसनल’ र ‘मेहर न्युज’ ले इरानी विदेश मन्त्रालयलाई उद्धृत गर्दै यसलाई ‘आतंकवादी शैलीको अपहरण’ भन्दै मदुरोको समर्थनमा इरान दृढ रहेको सन्देश प्रवाह गरेका छन् ।

रुसको ‘आरटी’ र ‘तास’ ले यसलाई शासन परिवर्तनका लागि गरिएको सुनियोजित सैन्य हमला भनेका छन् । रुसी सञ्चारमाध्यमहरूले यस घटनालाई ‘सशस्त्र सैन्य आक्रामकता’ भन्दै मदुरोको तत्काल रिहाइको माग गरेका छन् । ‘द मस्को टाइम्स’ ले रुसी विदेश मन्त्रालयको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘अमेरिकाले दिएका तर्कहरू आधारहीन छन् र यो विश्व शान्तिका लागि गम्भीर खतरा हो ।

चिनियाँ सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’ र ‘साउथ चाइना मर्निङ पोस्ट’ ले यसलाई अमेरिकी आधिपत्यको पराकाष्ठा भनेका छन् । चीनले औपचारिक रूपमै मदुरो र उनकी पत्नीको तत्काल रिहाइको माग गरेको छ । चिनियाँ मिडियाहरूको विश्लेषणमा यो कारबाहीले ‘कुनै पनि सार्वभौम देशको राष्ट्राध्यक्ष अब सुरक्षित छैनन्’ भन्ने सन्देश दिएको छ । उनीहरूले यसलाई संयुक्त राष्ट्रसंघको बडापत्रविरुद्धको कार्य भन्दै भर्त्सना गरेका छन् ।

टर्किएको ‘हुर्रियत डेली न्युज’ ले अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइलाई उद्धृत गर्दै अब अमेरिकाले नै भेनेजुएला चलाउने संकेत दिएको उल्लेख गरेको छ । ‘टर्किस मिनेट’ ले टर्किएका राष्ट्रपति रेचेप तैय्यप एर्दोआनको मौनतालाई ‘ट्रम्पसँगको डर’ का रूपमा व्याख्या गर्दै विपक्षी नेताहरूको आलोचनालाई प्रमुखताका साथ प्रकाशन गरेको छ ।

रोचक त के छ भने, अमेरिकी संस्थापन पक्षकै प्रभावशाली अखबार ‘न्युयोर्क टाइम्स’ ले यस सैन्य कदमको खुलेर विरोध गरेको छ । सम्पादकीय नै लेखेर अखबारले यसलाई ‘अवैध र अविवेकी’ कदम भनेको छ । उक्त मिडियाले मदुरो दमनकारी नेता भए तापनि उनलाई पक्राउ गर्न अपनाइएको सैन्य बाटोले अमेरिकाको अन्तर्राष्ट्रिय साख गिराएको र यसले ल्याटिन अमेरिकामा नयाँ द्वन्द्व निम्त्याउने चेतावनी दिएको छ ।

चौतर्फी आलोचनाबीच ट्रम्पले भेनेजुएलामा अर्को हमलाका लागि पनि अमेरिका तयार रहेको बताएका छन् । ‘आवश्यक परे हामी फेरि अर्को हमलाका लागि तयार छौं । तर त्यस्तो आवश्यक पर्दैन होला,’ उनले भने । अहिले काराकासको अवस्था शान्त देखिए पनि आगामी दिनहरू कता मोडिनेछन् भन्नेमा अनिश्चितता कायमै छ ।

अमेरिकी सेनाको यो कदमले भेनेजुएलामा लोकतन्त्र बहाली गर्छ वा नयाँ द्वन्द्व निम्त्याउँछ भन्नेमा विश्व समुदायको ध्यान केन्द्रित छ ।

मिल्दोजुल्दो नोरिएगा–मदुरो घटना भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको पछिल्लो गिरफ्तारी तीन दशकअघि पानामाका सैन्य शासक मानुएल नोरिएगाको पतनसँग अनौठो समानता देखिएको छ । अमेरिकाले ल्याटिन अमेरिकामा अपनाउने प्रत्यक्ष हस्तक्षेपको शैली नोरिएगा र मदुरो प्रकरणमा मिल्दोजुल्दो देखिन्छ ।

१९८९ मा अमेरिकाले ‘अपरेसन जस्ट कज’ अन्तर्गत पानामामा सैन्य हमला गरी नोरिएगालाई सत्ताबाट हटाएको थियो । वासिङ्टनले त्यतिबेला आफ्ना नागरिकको सुरक्षा, अलोकतान्त्रिक अभ्यास, भ्रष्टाचार र लागूऔषध व्यापारलाई हस्तक्षेपको प्रमुख कारणका रूपमा अघि सारेको थियो । कुनै समय अमेरिकी गुप्तचर एजेन्सीसँग निकट सम्बन्ध राखेका जनरल नोरिएगा वासिङ्टनको क्षेत्रीय रणनीतिमा असहयोगी बन्दै गएपछि अमेरिकाका लागि ‘अवाञ्छित पात्र’ बनेका थिए । उनले १९८५ मा राष्ट्रपति निकोलस अर्दितो बारलेटालाई राजीनामा दिन बाध्य पारेका थिए । १९८९ को आमनिर्वाचनसमेत रद्द गरिदिएका थिए ।

पानामामा अमेरिका विरोधी भावना बढ्दै जाँदा र नोरिएगाको शासन थप निरंकुश बन्दै गएपछि अमेरिकाले उनीविरुद्ध कानुनी दबाब तीव्र बनायो । १९८८ मा मियामीको संघीय अदालतले नोरिएगाविरुद्ध लागूऔषध तस्करीको अभियोग दर्ता गर्‍यो । त्यही शैली, जसरी अहिले मदुरोविरुद्ध ‘नार्को टेररिज्म’ को मुद्दा लगाइएको छ । पानामा हस्तक्षेपलाई भियतनाम युद्धपछिको अमेरिकाको सबैभन्दा ठूलो सैन्य परिचालनमध्ये एक मानिन्छ । अमेरिकाले पानामाका जनताको अवस्था सुधार्ने र नोरिएगालाई कानुनी कठघरामा उभ्याउने तर्कका साथ सैन्य कारबाही गरेको थियो । अन्ततः नोरिएगा पक्राउ परे र अमेरिकामा लगिए ।

मियामीमा चलेको मुद्दापछि नोरिएगा २०१० सम्म अमेरिकी जेलमा रहे । त्यसपछि उनलाई फ्रान्स सुपुर्दगी गरियो । २०११ मा पुनः पानामा फर्काइएपछि उनले आफ्नै शासनकालमा भएका अपराधको सजाय पानामाकै जेलमा काटे । २०१७ मा पानामाकै कारागारमा उनको मृत्यु भयो ।

दुवै घटनाक्रमको तुलना गर्दा अमेरिकाले ‘लागूऔषध मुद्दा’ लाई मुख्य रणनीतिक औजार बनाएको प्रस्ट देखिन्छ । पानामामा नोरिएगाको अन्त्य जेलमै भएझैं, अहिले अमेरिकाको नियन्त्रणमा रहेका मदुरोको भविष्य पनि कानुनी चक्रव्यूहमा फस्ने विश्लेषणहरू सतहमा आएका छन् । ल्याटिन अमेरिकी राजनीतिमा अमेरिकी प्रभाव र हस्तक्षेपको विरासतबारे मदुरो र नोरिएगाबीचको तुलना बहसको केन्द्रमा आएको छ ।

बस चालकदेखि राष्ट्रपतिसम्म

मदुरोको जीवनयात्रा कुनै फिल्मी कथाभन्दा कम रोचक छैन । राजधानी काराकासको सामान्य परिवारमा जन्मिएका मदुरो बस चालकबाट राष्ट्रपतिसम्मको उकालो चढ्ने दुर्लभ पात्रमध्ये पर्छन् ।

२३ नोभेम्बर १९६२ मा काराकासमा जन्मिएका मदुरोको सुरुवाती जीवन सामान्य थियो । राजनीतिमा प्रवेश गर्नुअघि उनी काराकासमै बस चालक थिए । पछि उनी मेट्रो युनियनको नेता चुनिए, जसले उनको राजनीतिक यात्राको जग बसाल्यो । मजदुरका हकहितका लागि प्रदर्शनको नेतृत्व गरे र वामपन्थी वृत्तमा परिचित बने ।

उनको जीवनमा निर्णायक मोड १९९२ को असफल सैन्य विद्रोहपछि आयो । विद्रोहको नेतृत्व गरेका ह्युगो चाभेज पक्राउ परेपछि मदुरोले तत्कालीन सरकारविरुद्ध चाभेजको रिहाइका लागि ठूलो अभियान चलाए । यही भूमिकाले उनलाई चाभेजको विश्वासपात्र बनायो । चाभेज प्रशासनभित्र उनी ‘प्रिय पात्र’ का रूपमा चिनिन्थे ।

१९९९ मा चाभेज राष्ट्रपति बनेपछि मदुरोले विदेशमन्त्री र उपराष्ट्रपतिको महत्त्वपूर्ण जिम्मेवारी सम्हाले । यही अवधिमा उनले आफूलाई ‘जनताको मान्छे’ का रूपमा प्रस्तुत गरे । राजनीतिक यात्राको सुरुवातमा भने धेरैले उनको ‘बस चालक’ पृष्ठभूमिलाई लिएर व्यंग्य र खिल्ली उडाएका थिए । २०१२ मा क्यान्सरसँग संघर्ष गरिरहेका चाभेजले मदुरोलाई सार्वजनिक रूपमै आफ्नो उत्तराधिकारी घोषणा गरे । २०१३ मा चाभेजको निधनपछि भएको निर्वाचनमा विजय हासिल गर्दै उनी राष्ट्रपति बने ।

त्यसयता उनी २०१८ र २०२४ को निर्वाचनमा पनि राष्ट्रपति चुनिए । तर यी दुवै निर्वाचनमा धाँधलीको आरोप निरन्तर लाग्दै आएको छ । मदुरोको शासनलाई लिएर भेनेजुएलाभित्रै तीव्र ध्रुवीकरण देखिन्छ । एकातर्फ उनलाई देशलाई संकटतर्फ धकेल्ने ‘तानाशाह’ भन्ने जमात छ भने अर्कोतर्फ ‘गरिबको मसिहा’ मान्ने समूह पनि उत्तिकै सक्रिय छ ।

– दया दुदराज