01/07/2026, 21:31:47
बुधबार, पुष २३, २०८२

देशभर बढ्यो चिसो : तापक्रम घट्ने क्रम जारी


काठमाडौँ, पुस २२ गते । नेपालका विभिन्न भेगमा सोमबार यस वर्ष जाडो सुरु भएयताकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । न्यूनतम तापक्रममा गिरावट आएसँगै देशभर चिसो महसुस गरिएको छ । योसँगै चिसोजन्य स्वास्थ्य समस्या पनि बढेकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

सोमबार जुम्लामा सबैभन्दा कम माइनस ६.३ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रेकर्ड भएको छ । आइतबार पनि त्यहाँको न्यूनतम तापक्रम सोही मात्रामा रहेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार जनवरी ५ मा हालसम्मको सरदर न्यूनतम तापक्रम ४.९ डिग्री सेन्टिग्रेड रहेको छ । त्यस्तै जोमसोममा माइनस ४.२, जिरीमा माइनस १.१ न्यूनतम तापक्रम रेकर्ड भएको छ ।

काठमाडौँ लगायत पहाडी भेगहरूको न्यूनतम तापक्रममा अत्यधिक गिरावट आएको छ । शनिबार ४.७ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रहेको काठमाडौँमा आइतबार ४ डिग्री हुँदै सोमबार ३.५ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रेकर्ड भएको छ । मौसमविद् डेबिड ढकालले भन्नुभयो, “यो यस दिनमा हुनुपर्ने सरदरभन्दा कम त हैन तर हालसम्मको कम तापक्रम भने हो ।” काठमाडौँमा यस दिनमा सरदर तापक्रम २.२ डिग्री मानिँदै आएको छ । त्यसै गरी डडेलधुरामा सोमबार २.१, दिपायलमा ४.४ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रेकर्ड भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तराईको तुलनामा पश्चिम तराईमा चिसो अत्यधिक बढेको छ । सबैभन्दा बढी भैरहवामा उच्च दरमा न्यूनतम तापक्रम घटेर ७.४ डिग्री सेन्टिग्रेड पुगेको छ । त्यहाँ आइतबार ११.४ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम थियो । त्यस्तै नेपालगन्ज र घोराहीमा ६.८, धनगढीमा ६.२ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम कायम भएको छ ।

पश्चिमको तुलनामा पूर्वी तराईको न्यूनतम तापक्रम भने आइतबारको तुलनामा बढेको महाशाखाले औँल्याएको छ । आइतबार १२ डिग्री रहेको विराटनगरमा सोमबार बढेर १३.१ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम पुगेको छ । त्यस्तै झापाको चन्द्रगढीमा आइतबार १३ डिग्री सेन्टिग्रेडबाट १३.३ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम पुगेको छ । जनकपुर र सिमरामा भने यथावत्कै हाराहारीमा तापक्रम रहेको छ । चिसो बढेसँगै तराईमा हुने हुस्सु र कुहिरोमा पनि चिसोको मात्र बढेर थप कष्टकर हुने भएकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।

यसैबिच चिसो बढ्दै जाँदा आमनागरिकमा स्वास्थ्य समस्या बढेकाले सतर्कता अपनाउन सरकारका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । विशेष गरी दीर्घरोगी, मुटु तथा दमरोगीका साथै गर्भवती, सुत्केरी महिला, वृद्धवृद्धा, साना बालबालिकालाई चिसोबाट जोगाउन भनिएको छ । घरभित्रै न्यानो राख्ने तथा विद्यालय पठाउँदा न्यानो कपडा र खानाको व्यवस्था गर्न भनिएको छ ।

कामकाजी व्यक्तिहरूले पनि चिसो हटाउने उपायहरू अपनाउँदै प्रशस्त तातो झोलिलो पदार्थको सेवन गरेर काम गर्न स्वास्थ्य मन्त्रालयले सुझाएको छ । वर्षा नहुँदा काठमाडौँ लगायतका स्थानमा चिसोसँगै वायु प्रदूषण उच्च रहेकाले मास्क लगाएर मात्र यात्रा गर्न पनि मन्त्रालयले भनेको छ । चिसो र वायु प्रदूषणका कारण श्वासप्रश्वास तथा घाँटीको रोगमा असर गर्ने भएकाले सावधानी अपनाउन भनिएको छ ।

– चाँदनी हमाल