01/08/2026, 04:06:46
बुधबार, पुष २३, २०८२

मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ


काठमाडौँ, पुस २२ गते । प्रहरीले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार पुस १५ गते काठमाडौँ महानगरपालिका वडा नं ३२ तिनकुनेस्थित अन्नपूर्ण पोस्ट कर्पोरेट टावरको पार्किङमा पार्किङ गरी राखेको बा. प्र. ०२–०२३ प. ६२०७ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको थियो ।

सोही दिन काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलस्थित इमपावर हन्टर एच आर सोलुसन प्रालिको पार्किङमा पार्किङ गरी राखेको बा. प्र. ०३–००२ प. ०८५९ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको निवेदन प्राप्त भएको थियो ।

प्रहरीले खोजतलासका क्रममा स्थायी घर दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नं ८ भई हाल चाबहिल बस्ने २३ वर्षीय अब्राहक थामी र स्थायी घर दोलखाको विगु गाउँपालिका वडा नं ८ भई हाल भक्तपुर मध्यपुर थिमि बस्दै आएका २३ वर्षीया गोविन थामी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।