01/08/2026, 20:23:04
बिहिबार, पुष २४, २०८२

माघे सङ्क्रान्तिमा ‘स्थानीय खाना महोत्सव’


पाँचथर,  पुस २३ गते। माघे सङ्क्रान्तिको अवसरमा फिदिममा ‘स्थानीय (रैथाने)खाना महोत्सव’ आयोजना हुने भएको छ । नेपाल मगर सङ्घ पाँचथरले आगामी माघ १ र २ गते फिदिममा स्थानीय खानाको संरक्षण, प्रवर्द्धन, प्रचारप्रसार र पुस्तान्तरणमा जोड दिने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागेको हो ।

फिदिम नगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको महोत्सवमा मगरसहित पाँचथरमा बसोबास रहेका लिम्बू, राई, तामाङ, गुरुङ, नेपाल, सुनुवारलगायत जातजातिका रैथाने खानाका कक्ष राखिने छन् ।

सङ्घ पाँचथरका अध्यक्ष यौवनकुमार थापा मगरका अनुसार महोत्सवमा सबै समुदायले आ–आफ्नो मौलिक परिकारका कक्ष राखी बिक्री गर्नेछन् । रैथाने खानाको कक्षबाट एक समुदायले अर्को समुदायको परिकार, संस्कृति तथा परम्पराबारे बुझ्ने, नयाँ पुस्ताले मौलिक खानाबारे जान्ने, मौलिक परम्पराको संरक्षण, प्रवर्द्धनका साथै पुस्तान्तरण हुने उनले विश्वास व्यक्त गरे ।

मगर समुदायले माघे सङ्क्रान्तिलाई मुख्य पर्वका रूपमा ‘माघ्या सकराटी’ नामले बर्षेनि विभिन्न कार्यक्रमसहित मनाउने गरेका अध्यक्ष थापाले बताए । महोत्सवले समुदाय समुदायबीच एकता, सहकार्य र समन्वयको वातावरण सिर्जना गर्ने उनले विश्वास व्यक्त गरे ।

मौलिक रैथाने खानाका परिकार बनाउने क्रम घट्दै जाँदा नयाँ पुस्ता यसबारे अनविज्ञ हुने अवस्था आएकाले महोत्सव आयोजना गर्न लागिएको फिदिम–१ का वडा सदस्य दीपेन्द्र थापा मगरले उल्लेख गरे ।

महोत्सवका अवसरमा सांस्कृतिक झाँकीसहित विविध कार्यक्रम आयोजना गरिने मगर सङ्घ पाँचथरले आज फिदिममा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । ‘रैथाने खानाको प्रवर्द्धन, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन’ भन्ने नारासहित हुने महोत्सव निर्माणाधीन फाल्गुनन्द पदमार्गमा आधारित पर्यटन विकास कार्यक्रमसँग सहकार्यमा सञ्चालन गर्न लागिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..