01/09/2026, 09:57:24
शुक्रबार, पुष २५, २०८२

अमेरिकाले खोस्यो भेनेजुएली तेल बोक्ने दुई वटा जहाज


वासिङ्टन डीसी, पुस २४ गते । अमेरिकाले भेनेजुएली तेल बोक्ने गरेका दुई वटा जहाजलाई जफत गरेको छ । उत्तर एट्लान्टिक र क्यारबियन सागरमा एक पछि अर्को कारबाहीमा ती जहाज अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा लिएका हुन् ।

दुई हप्तासम्मको प्रयासपछि सेना अन्ततः रुसको झन्डा राखिएको मरिनेरा नाम गरेको जहाजभित्र पस्न सफल भएका हुन् । त्यतिबेला जहाज आइसल्यान्ड र स्कटल्यान्डको बिचमा थियो । यस काममा बेलायतको शाही जलसेनाले अमेरिकी सेनालाई लजिष्टिक सहयोग गरेको बताइएको छ ।

अमेरिकाले जफत गरेको दोस्रो जहाज भने एमरटी सोफिया हो । यो जहाज गैरकानूनी गतिविधिहरूमा संलग्न रहेको आरोप अमेरिकाको छ । भेनेजुएलाको कच्चा तेल निर्यात पूरै रोक्ने अमेरिकी प्रयासबिच यो कदम चालिएको हो । अमेरिकी सेनाले कारकासमा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई समातेर अमेरिका लगेको केही दिनमा जहाज समातिएका हुन् । अवैध भेनेजुएली तेलमाथिको प्रतिबन्ध विश्वको जुनसुकै ठाउँमा पूरै लागू रहेको अमेरिकी रक्षामन्त्री पिट हेगेस्थले एक्समा एउटा पोष्टमा लेखेका छन् ।

आफ्नो देशको झन्डा भएको जहाज जफत गर्ने यस कदमको रुसले निन्दा गरेको छ । सीमापार अमेरिकाले रुससँग उचित तरिकाले व्यवहार गर्नु पर्ने माग राख्दै जहाजलाई छिटै रुस फर्किन अनुमति दिन पनि रुसले भनेको छ । अमेरिकी सेनाले आफ्नो झन्डा राखिएको जहाजको पिछा गरेपछि रुसले हालै सो जहाजको सुरक्षाका लागि आफ्नो जलसेनाको जहाजलाई खटाएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..