01/10/2026, 01:43:53
शुक्रबार, पुष २५, २०८२

बारेकोटका स्थानीय चार महिनादेखि अन्धकारमा


जाजरकोट, पुस २५ गते । जाजरकोटको बारेकोट गाउँपालिका–५ खम्बुडाँडामा रहेको सौर्य मिनिग्रिड चार महिनादेखि मर्मत नहुँदा स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । चट्याङ परेर सौर्य मिनिग्रिडमा क्षति पुगेपछि विद्युत् सेवा चार महिनादेखि अवरुद्ध बनेको हो ।

स्थानीयका अनुसार करिब चार महिनादेखि मिनिग्रिड सञ्चालन हुन नसक्दा यहाँका करिब पाँच सय घरधुरी प्रभावित भएका छन् । विद्युत् अभावका कारण नागरिकलाई दैनिक सेवा प्रवाह तथा जीवनयापनमा कठिनाइ भएको छ ।

विद्यार्थीलाई पठापाठन, विभिन्न सेवा प्रवाहमा समेत प्रभाव परेको छ स्थानीयको गुनासो रहेको छ । विद्युत् अवरुद्ध हुँदा मोबाइल चार्ज गरेर आफन्तहरु सँग सम्पर्क गर्न समेत नपाइएको स्थानीयको गुनासो छ ।

दुई सय किलोवाट क्षमताको उक्त सौर्य मिनिग्रिड २०७९ जेठ २५ गतेबाट सञ्चालनमा आएको थियो । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सहयोगमा करिब १० करोड नौ लाख रुपियाँको लागतमा निर्माण गरिएको यो मिनिग्रिडबाट उत्पादित विद्युत् नेपाल टेलिकमको टावर सञ्चालनका लागि समेत प्रयोग हुँदै आएको थियो ।

blog

गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले क्षति भए पनि मर्मतका लागि आवश्यक प्रक्रिया पूरा गर्न समय लागेको बताउनुभयो । “मिनिग्रिड हस्तान्तरणपछि मर्मतको जिम्मेवारी कसको हुने भन्ने विषयमा स्पष्टता नहुँदा ढिलाइ भएको  अध्यक्ष गिरीले भन्नुभयो ।

जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत मन्त्रालयमा समेत मर्मतका लागि पत्राचार गरी सकिएको जनाइएको छ । तर लामो समयसम्म विद्युत् सेवा अवरुद्ध रहँदा स्थानीय बासिन्दा आक्रोशित बनेका छन् ।

स्थानीयवासीका अनुसार वैकल्पिक ऊर्जा परियोजनामा देखिएको लापरबाहीका कारण समस्या जटिल बन्दै गएको छ । सरोकारवाला निकायले चाँडो ध्यान नदिए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत स्थानीयले दिएका छन् ।

– सहदेव बस्नेत