जनकपुर, पुस २३ : २०४८ सालदेखि नै संसदीय चुनावमा प्रतिस्पर्धा गर्दै जित्दै–हार्दै आएका जनता समाजवादी पार्टी नेपालका नेता महन्थ ठाकुरको अबको यात्रा राष्ट्रिय सभातिर सोझिएको छ । ठाकुर कांग्रेस, एमाले र जसपाको तालमेलमा मधेश प्रदेशबाट राष्ट्रिय सभाको उम्मेदवार बनेका हुन् ।
विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका ठाकुर ८२ वर्षको उमेरमा राष्ट्रिय सभाको सदस्यका लागि उम्मेदवार बनेका हुन् । ०७९ सालको आमनिर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ३ का मतदातालाई ‘अन्तिम पटक’ भन्दै चुनाव जितेका ठाकुर संसदीय क्षेत्रको चुनावलाई बिट मार्दै राष्ट्रिय सभाको यात्राको थालनी गर्दैछन् ।
गत साता उपेन्द्र यादवको दल जसपा नेपालसँग ठाकुर अध्यक्ष रहेको लोसपाको एकीकरण गर्दै मधेश प्रदेशमा ठूलो दल बनेको छ । मधेश प्रदेशमा कांग्रेस र एमालेको साथ पाउँदा ठाकुरको राष्ट्रिय सभाको यात्रा लगभग निश्चित देखिन्छ ।
मधेश प्रदेशमा ४ सिटका लागि राष्ट्रिय सभाको उम्मेदवारी दर्ता भएको छ । जसपा नेपालबाट ठाकुर, कांग्रेसबाट रन्जित कर्ण र धर्मेन्द्र पासवान तथा एमालेबाट रेखा झाले उम्मेदवारी दिएकी छन् । यी तीनवटै दलबीच चुनावी तालमेल छ । यता, नेकपाले पनि मधेश प्रदेशका ४ सिटका लागि उम्मेदवार टुंगो लगाएको छ । रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाललाई नेकपाले उम्मेदवार बनाएको छ ।

०४८ को आम चुनावमा ठाकुर कांग्रेसबाट सर्लाही क्षेत्र नम्बर ५ बाट चुनाव जितेका थिए । उनी उपसभामुख पनि बने । ०५१ को मध्यावधि निर्वाचनमा ठाकुर फेरि सर्लाहीबाटै चुनाव जिते र मन्त्री पनि भए । कृषि, कानुन, विज्ञान तथा प्रविधि मन्त्रीसमेत भइसकेका ठाकुर ०६४ सालमा कोषाध्यक्ष रहेकै बेला अचानक कांग्रेस परित्याग गरे । ठाकुरकै अगुवाइमा २०६४ माघ ५ मा तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठन भयो, जसले दोस्रो मधेश आन्दोलन सुरु गरेको थियो ।
ठाकुरले २०६४ चैतमा भएको संविधानसभा निर्वाचनमा कांग्रेसको गढ मानिने सर्लाही निर्वाचन क्षेत्र नं. ४ रोजेका थिए । तर उनी तत्कालीन मधेशी जनअधिकार फोरमका उम्मेदवार शिवपुजन यादवसँग पराजित भए । २०७० सालमा दोस्रो संविधानसभा चुनावमा कांग्रेसका अमरेश सिंहसित हारे । त्यसपछि उनी सर्लाहीबाट महोत्तरी सरे ।
२०७९ को निर्वाचनमा उनले महोत्तरीबाट जिते । ठाकुरको राजनीतिक जीवन उतारचढावले भरिपूर्ण छ । उनी राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा पटक-पटक तानिने पात्र पनि हुन् । ‘कांग्रेस नछाडेको भए पहिलो राष्ट्रपति हुने थिए महन्थ,’ संविधानसभाको चुनावयतादेखि कांग्रेसभित्र धेरैले यसो भन्छन् ।
झन्डै दुई तिहाइ बहुमतको सरकार बनाएको तत्कालीन नेकपा तीनतिर बाँडिएपछि नेपालको राजनीति फेरि तरंगित बन्यो । त्यति बेला ठाकुरको दुवै हातमा ‘लड्डु’ थियो । एकातिर ओली सरकारमा सहभागी हुने अवसर थियो । अर्कातिर कांग्रेसले उनलाई ‘प्रधानमन्त्री’ को अफर गर्यो । उनले चाहेको भए प्रधानमन्त्री पद टाढा थिएन ।
– अजित तिवारी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















