काठमाडौँ, पुस २२ गते । काठमाडौँ उपत्यकामा ५३ प्रतिशत सार्वजनिक सवारी वायु प्रदूषणको मापदण्डविपरीत गुडिरहेका छन् । पुराना सवारीले तोकिएको मापदण्डभन्दा दोब्बर प्रदूषणयुक्त कालो धुवाँ फाल्दै सडकमा गुडिरहँदा पनि नियमनकारी निकायको प्रभावकारिता भने देखिँदैन । यसले गर्दा चिसो मौसमसँगै उपत्यकाको वायु प्रदूषणलाई तीव्रता मिलेको छ ।
वर्षको दुई चार पटक सडकमा सवारी प्रदूषण जाँच गर्ने वातावारण विभागले यस वर्ष पनि परम्परालाई मात्र निरन्तरता दिएको छ । नमुनाका रूपमा मात्र जाँच गर्ने विभागले पुस १६ गते १५ वटा सवारी जाँच गर्दा आठ वटा सवारी प्रदूषण मापदण्डविपरीत चलेको भेटिए, जुन ५३ प्रतिशत हो ।
विभागले यसै हप्ता कीर्तिपुर र बबहरमहल क्षेत्रमा गरेको जाँचमा क्रमशः ४८ र ३४ प्रतिशत सवारी वायु प्रदूषणको मापदण्डविपरीत चलिरहेका भेटेको थियो । तिनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । विभागले गत वर्ष ९२७ वटा सवारीको प्रदूषण जाँच गर्दा ३१ प्रतिशत सवारी मापदण्डविपरीत पाइएको विभागकी मेकानिकल इन्जिनियर लक्ष्मी श्रेष्ठले बताउनुभयो । यस वर्ष उक्त प्रतिशत बढ्ने विभागको दाबी छ ।

विभागमा बजेट लगायतको स्रोत अभावले गर्दा सडकमा निरन्तर जाँच गर्न सक्ने अवस्था नरहेको पनि विभागले जनाएको छ । काठमाडौँ महानगरपालिकाले पनि सवारी प्रदूषण मापदण्डको जाँचलाई प्रभावकारी बनाएको छैन । महानगरपालिकाको वातावरण विभागकी प्रमुख सरिता राईले भन्नुभयो, “सवारी प्रदूषणको जाँच अब सुरु गर्ने हो । अब निरन्तर गर्ने तयारीमा छौँ ।” काठमाडौँ उपत्यकामा नियमित रूपमा सवारीको प्रदूषण जाँच गर्ने व्यवस्था छैन ।
वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त जाँचमा ५६ सवारीमध्ये ३२ सवारीले मापदण्डभन्दा बढी धुवाँ फालेको पाइएको थियो । ती सवारीलाई प्रहरीले कारबाही गरेको छ । मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी चलाउँदा वायु प्रदूषण बढ्ने र मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौँ उपत्यकामा उद्योगधन्दा, कल-कारखाना, सवारी साधनबाट निस्कने हानिकारक धुवाँले वायु प्रदूषण गरिरहेको छ । त्यसका अतिरिक्त सहरी क्षेत्रमा बढ्दो विकास–निर्माणका क्रियाकलापले पनि प्रदूषणलाई बढाएको छ । विभागका अनुसार काठमाडौँ उपत्यकामा हुने वायु प्रदूषणमा ३४ प्रतिशत सवारी साधनको हिस्सा छ ।
श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीका अनुसार बागमतीमा झन्डै २२ लाख सवारी छन् । दैनिक १८ हजार सवारी साधन काठमाडौँ भित्रने र बाहिरिने गर्छन् । उपत्यकाभित्र मात्रै १३ लाख सवारी साधन दैनिक गुडिरहेका हुन्छन् । सवारी साधनको प्रदूषण जाँच (भेहिकल फिट्नेस टेस्ट) प्रभावकारी हुन नसकिरहेको यातायात व्यवस्था कार्यालय सानाठुला सवारी एकान्तकुनाले जनाएको छ । काठमाडौँ उपत्यकामा यातायात सेवा कार्यालय सल्लाघारी र सानो भ¥याङले सवारीको प्रदूषण जाँच गर्दछन् । डिजेलबाट चल्ने र सार्वजनिक सवारीहरूमा बढी समस्या देखिने गरेको एकान्तकुना कार्यालयका प्रमुख पवित्र कुँवरले जानकारी दिनुभयो ।

एकान्तकुना कार्यालयले दैनिक एक सयदेखि १५० वटा सवारीको वातावरणीय प्रदूषण जाँच गर्दै आएको दाबी उहाँको छ । प्रमुख कुँवरले भन्नुभयो, “सय वटा गाडी जाँच गर्दा करिब आठ वटा जति प्रदूषणको मापदण्ड नाघेको भेटिन्छ । मर्मत गरेर आउनु भनेर फर्काइदिन्छौँ ।”
२० वर्ष सञ्चालनमा आएका सार्वजनिक सवारी पत्रु बनाउने नीति कार्यान्वयन हुन सकेको छैन । सरकारले लगत कट्टामा छुट दिँदा पनि गाडी पत्रु बनाउने काम प्रभावकारी हुन सकेको छैन । आर्थिक वर्ष २०८२/८३ मा २० वर्ष पुराना वा सञ्चालनमा आउन नसक्ने सवारी साधनको लगत कट्टा गर्न अन्तिम दुई वर्षको मात्रै कर बुझाए बाँकी छुट हुने व्यवस्था गरेको थियो ।
बागमती प्रदेश सरकारले पनि छुटको व्यवस्था गरेको थियो तर कार्यान्वयन हुन सकिरहेको छैन । सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी २०७४ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गरेर देशभरबाट २०७४ फागुन मसान्तभित्र २० वर्ष पुराना सवारी साधनमा प्रतिबन्ध लगाउने सरकारले दोस्रो पटक निर्णय गरेको थियो तर उक्त निर्णय पनि कार्यान्वयन भएको छैन ।
यातायात व्यवसायीले उमेर तोकेर गाडी पत्रु बनाउन नहुने भन्दै विरोध गरेकाले उक्त व्यवस्था र निर्णयहरू कार्यान्वयन हुन नसकेको हो । प्रदेश सरकारले गत वर्ष मन्त्रालयले २० वर्ष पुराना सवारी पत्रु (स्क्राप) गर्न आउनेलाई ५० प्रतिशत राजस्व जरिवानामा छुटको व्यवस्था गरेको थियो ।
– लक्ष्मण दर्नाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














