01/07/2026, 21:30:24
बुधबार, पुष २३, २०८२

वीरगन्जमा कर्फ्यू लम्बियो, सर्वपक्षीय बैठकको तयारी हुँदै


पर्सा, पुस २२ : वीरगन्जमा स्थिति नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासनले सोमबार साँझ ६ बजे बजेदेखि मंगलबार बिहान ८ बजे सम्मका लागि जारी गरेको कर्फ्यूलाई निरन्तरता दिएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले कर्फ्यूलाई मंगलबार दिउँसो १ बजेसम्मका लागि निरन्तरता दिइएको जानकारी दिए । यस अघि सोमबार दिउँसो १ बजेदेखि निषेधाज्ञा जारी गरिएकोमा स्थिति नियन्त्रणमा आउन सकेको थिएन ।

वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकराचार्य गेट क्षेत्र भित्र कर्फ्यू लगाइएको हो ।

धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा शनिबार राति भएको तोडफोडको विरोधमा वीरगन्जका मुस्लिम समुदायले आइतबार वीरगन्जमा प्रदर्शन गरेका थिए । मुस्लिम समुदायको प्रदर्शनको प्रतिक्रियामा हिन्दू समुदायले पनि आइतबार राति र सोमबार बिहानैदेखि प्रदर्शन गरेपछि वीरगन्जको स्थिति तनावग्रस्त भएको हो ।

प्रजिअ दाहालले मंगलबार बिहान साढे ८ बजे सुरु गर्ने भनिएको सर्वपक्षीय बैठकको तयारी भइरहेको बताए । बैठकका सहभागीहरु जिल्ला प्रशासन कार्यालयमा आउने क्रम जारी रहेको र केही बेरमै बैठक सुरु हुने उनले बताए ।

– शंकर आचार्य