12/28/2025, 22:23:04
आइतबार, पुष १३, २०८२

दाउरा बेचेर गुजारा गर्दै बिपन्न समुदाय

वैकल्पिक रोजगारीको अभाव, बढ्दो महँगीका कारण गरिब परिवारका सदस्यहरु चिसोको पर्वाह नगरी स्थानीय जंगलबाट दाउरा संकलन गरी विक्री गर्ने गरेका छन् । अधिकांश दाउरा विक्रेता भूमिहीन, सुकुम्बासी तथा दैनिक ज्यालादारीमा निर्भर परिवारका सदस्यहरु रहेका छन् ।


बारा, पुस १३ गते। जाडो मौसम बढेपछि बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीमा निर्भर हुन थालेका छन्।

अत्यधिक चिसो, कुहिरो र शीतलहरबिच बिहानैदेखि जंगल तथा सामुदायिक क्षेत्रबाट दाउरा संकलन गरी साइकलमा बोकेर बिक्री गर्न बजार लग्ने गरेका छन्। स्थानीय बजार, चोक र टोलमा दाउरा बोकेका साइकलको लाम देखिनु यहाँका लागि सामान्य हो । वैकल्पिक रोजगारीको अभाव, बढ्दो महँगीका कारण गरिब परिवारका सदस्यहरु चिसोको पर्वाह नगरी स्थानीय जंगलबाट दाउरा संकलन गरी विक्री गर्ने गरेका छन् । यसरी संकलन गरिएका दाउरा छसयदेखि हजार रुपियाँसम्म दाउराको भारी बिक्री गर्नेगरेको कोल्हवी नगरपालिका –१० बेल्वाका सुमन चौधरीको भनाइ छ ।

दाउरा बिक्रीबाट आएको थोरै आम्दानीले उनीहरुले खाद्यान्न, नुन, तेल र बालबालिकाको न्यूनतम खर्च टार्ने गरेका उहाँले बताउनुभयो । कोल्हवी र करैयामाइ क्षेत्रका अधिकांश दाउरा विक्रेता भूमिहीन, सुकुम्बासी तथा दैनिक ज्यालादारीमा निर्भर परिवारका सदस्यहरु रहेका छन् । जाडोमा दाउराको माग बढ्छ, यही बेला दाउरा बेचेर घरखर्च चलाउनु पर्छ, करैयामाइ गाउँपालिका –६ स्थानीय दाउरा विक्रेता बिगनप्रसाद तेलीले बताउनुभयो ।

एक साइकल दाउराको भारी ल्याउन कम्तीमा दुई दिन लाग्छ, चिसोमा लामो दूरी साइकल चलाउँदा स्वास्थ्य जोखिम बढ्ने र वन गस्ती टोलीबाट साइकल, बन्चरो खोसिने समस्या रहेको  उहाँले सुनाउनुभयो ।

सरोकारवालाले विपन्न समुदायका लागि जाडोमा राहत, वैकल्पिक रोजगारीका कार्यक्रम र सीपमूलक तालिम सञ्चालन गर्नुपर्ने आवश्यक देखिएको महागढीमाइ नगरपालिका –३ का रामबाबुप्रसाद जैसवालले बताउनुभयो । चिसो बढ्दै जाँदा दैनिकी झन् कठिन बन्दै गएको यस क्षेत्रका गरिब समुदायका लागि राज्यका सम्बन्धित निकाय तथा स्थानीय सरकारको सहकार्य र सहयोग अपरिहार्य देखिएको स्थानीयको भनाइ छ ।

– शिवशंकर मिश्रा