01/08/2026, 04:06:46
बुधबार, पुष २३, २०८२

सिरहामा किशोरीको हत्या : एक महिनापछि आरोपित सार्वजनिक


सिरहा, पुस २२ : सिरहाको कर्जन्हा नगरपालिका-१ बल्टियाकी १७ वर्षीया अविना वैद्य  हत्या घटनाका आरोपितलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले एक महिना लामो अनुसन्धानपछि वैद्यको हत्याका आरोपितलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ का ४५ वर्षीय रामबालक चौधरीले अविनाको हत्या गरेको खुलेको छ । अविनाको शव गत मंसिर २ मा कर्जन्हा-२ स्थित स्कुल टोल नजिकको नहर छेउको छाडीमा विभत्स अवस्थामा भेटिएको थियो ।

अनुसन्धानका क्रममा मदिरा सेवन गरेको अवस्थामा रामबालकले मंसिर २१ गते साँझ ८ बजेको समयमा फोन गरी अविनालाई भेट्न बोलाएको, त्यसपछि उनीहरूले सहमतिमै शारीरिक सम्पर्क गरेको र त्यसपश्चात उनले अविनाको घाँटी थिची बेहोस बनाई ढुंगाले किचेर हत्या गरेको पाइएको छ ।

प्रहरीका अनुसार, उनीहरूबीच पहिल्यैदेखि सम्बन्ध थियो भने कुराकानी र भेटघाट पनि हुने गरेको थियो । रामबालकले अविनालाई विवाह गर्ने प्रस्ताव पनि गर्दै आएकोमा अविनाले अरूसँग पनि कुराकानी गर्ने गरेको, सम्बन्ध राखेको आशंकामा आवेगमा आएर रामबालकले उनको हत्या गरेको प्रहरीलाई बताएका छन् ।

आरोपित रामबालक चौधरीमाथि सिरहा जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताए । केन्द्रीय अनुसन्धान ब्युरो, मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, मिर्चैयाले संयुक्त रूपमा घटनाको अनुसन्धान गरेको थियो ।

– विनय आजाद