01/07/2026, 21:29:53
बुधबार, पुष २३, २०८२

आईपीएल प्रदर्शन बंगलादेशमा प्रतिबन्ध


ढाका, पुस २२ : बंगलादेशको अन्तरिम सरकारले सोमबार यो वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रत्यक्ष प्रसारणमा रोक लगाउने निर्णय गरेको छ । बंगलादेश र भारतबीचको बढ्दो तनावबीच आईपीएलको प्रत्यक्ष प्रसारणमा प्रतिबन्ध लगाउने निर्णय गरिएको हो ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आदेशमा कोलकाता नाइटराइडर्सले बंगलादेशी खेलाडी मुस्तफिजुर रहमानलाई टिमबाट हटाएपछि प्रतिक्रियामा यो निर्णय गरिएको हो । यसै सिजनका लागि रहमानले कोलकातासँग अनुबन्ध गरेका थिए ।

आफ्नो निर्णयको बचाउ गर्दै बंगलादेशको सूचना तथा प्रसारण मन्त्रालयले भनेको छ, रहमानजस्ता खेलाडीलाई टिमबाट हटाउनु पछाडि कुनै पनि तर्क ठीक देखिन्न र यसले बंगलादेशी क्रिकेटप्रेमीको भावनामा चोट पुगेको छ । यसअघि बंगलादेशले आउँदो ट्वान्टी–२० विश्वकपका लागि भारत जान अस्वीकार गर्दै आफ्ना खेल श्रीलंकाका सार्न पनि अनुरोध गरेको थियो ।

बंगलादेश क्रिकेट बोर्डको यसअघि बसेको आपत्कालीन बैठकले आफ्नो टिम विश्वकप खेल्न भारत नजाने निर्णय गरेको हो ।

बोर्डले भनेको छ, ‘बंगलादेशी सरकारको सुझाव र खेलाडी तथा पदाधिकारीको सुरक्षामा ध्यान राखेर हाम्रो टिम विश्वकप खेल्न भारत जाने छैन ।’  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बंगलादेशको मागलाई लिएर अहिलेसम्म औपचारिक रूपमा केही पनि भनेको छैन । यसपल्ट आईपीएल भने मार्च २६ बाट सुरु हुनेछ ।